मुस्ताङमा बाईस हजार केजी फोहोर संकलन तथा निकासी

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङलाई स्वच्छ,सफा र वातावरणमैत्र तुल्याउँदै जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहोरमैला व्यवस्थापनकार्यलाई उच्चप्राथमिकतामा राखेको छ । मुस्ताङको घरपझोङ,वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फोहोरलाई एक्याप जोमसोमले गतवर्षदेखि व्यवस्थापन गर्न थालेको हो ।

 एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२÷०८३ को साउनदेखि असार अन्तिमसम्म  मुस्ताङको तीन पालिकामा संकलन गरिएको  बाईस हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहोरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी  दिनुभयो ।  एक्याप प्रमुख गुप्तका अनुसार चालु वर्षको बाह्र महिनाको अवधिमा मुस्ताङमा संकलन भएको फोहोरलाई दुई हजार ५८१ बोरामा राखेर  पोखरातर्फ निकासी गरिएको हो ।

एक्याप जोमसोम कार्यालयका अनुसार चालुवर्षको भदौमा ६४४ केजी,कार्तिकमा ८६० केजी,मंसिरमा एक हजार ५५६ केजी,पुसमा एक हजार ३५१ केजी,फागुनमा एक हजार ८८८ केजी,चैत्रमा दुई हजार ४६२ केजी,बैशाखमा दुई हजार २३० केजी र असार महिनामा ६ पटक गरी दश हजार ६५९ केजी फोहोर पोखरा स्थित ग्रीन रोड वेस्ट मेनेजमेन्ट प्रा.लि. प्रशोधन केन्द्रमा पठाईएको हो ।

 एक्यापले गतवर्ष मुस्ताङका तीन गाउँपालिकामा संकलित दश हजार १९० केजी फोहोर जिल्ला बाहिर निकासी गरेको थियो । गतवर्षको तुलनामा चालुवर्ष  (११७.७५) प्रतिशत बढी फोहोर मुस्ताङबाट निकासी भएको एक्याप प्रमुख गुप्तको भनाई छ ।

 एक्यापले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङका तीन पालिकामा चालु वर्ष चार वटा फोहोर संकलन केन्द्र पूर्वाधार निर्माण गरेको छ । जसमध्ये एक फोहोर संकलन केन्द्रलाई अर्को स्थानमा स्थान्तरण गरिएको छ । गतवर्ष एक्यापले मुस्ताङका पर्यटकीय चहलपहल हुने क्षेत्रमा ८ वटा फोहोर संकलन केन्द्र निर्माण गरेको थियो ।

 कार्यालय प्रमुख राजेश गुप्तले मुस्ताङमा पर्यटकको आगमन संख्या बर्सेनि वृद्धि भईरहेकाले सोही अनुसार फोहोर संकलनको मात्रा बढ्दै गईरहेको उल्लेख गर्नुभयो ।  मुस्ताङ भित्रिने पर्यटक तथा स्थानीयबाट उत्पादन हुने नकुहिने फोहोरलाई पोखरा स्थित प्रशोधन केन्द्रमा पठाउने गरिएको छ । यहाँका विभिन्न संकलन केन्द्रमा जम्मा हुने नकुहिने फोहोरको बर्गीकरण गरी संकलन हुन नसक्दा आशिंक समस्या परेको एक्याप प्रमुख गुप्तको भनाई छ । मुस्ताङमा समुदाय स्तरका आमाा समुह,गाउँसमाज र संरक्षण क्षेत्र व्यवस्थापन समिति लगायतले मासिक रुपमा सरसफाई गरी फोहोर संकलन गर्ने गरेको भएपनि टिन÷क्यान,सिसाजन्य र प्लाष्टिकका फोहोरहरु छुट्टा छुट्दै संकलन नहुँदा समस्या परेको बताउँनुभयो ।

 मुस्ताङमा दुई वर्षअघि यहाँका पर्यटन व्यवसायी र समुदायले यहाँ उत्पादन हुने नकुहिने फोहोर खाल्डो खनी बिर्सजन गरेकामा गतवर्षदेखि एक्याप कार्यालयको खर्चमा संकलित जिल्ला बाहिर निकासी गर्न थालिएको हो । मुस्ताङ जिल्लालाई स्वच्छ, सफा र वातावरणीयमैत्री तुल्याउन आगामी वर्षहरुमा थप संकलन केन्द्र निर्माण गर्दै जाने बताएको छ ।

 जलवायु संकट न्यूनिकरण गर्न एक्यापले मुस्ताङमा लक्षित बर्गहरुलाई एन्डक्सन चुलो र विभिन्न उपकरणहरु वितरण गर्दैआईरहेको छ भने फोहोरबाट हुने प्रदुषणले मानव स्वाथ्यमा पु¥याउन सक्ने असरका बिषयमा समेत विभिन्न स्थानमा साईन पोष्टिङ गर्ने लगायतका कार्यहरु गर्दैआईरहेको जनाएको छ ।



प्रतिक्रिया