मुस्ताङ, १८, भदौ ।
यहाँको घरपझोङ गाउँपालिका—३ स्थित पुथाङ एअरपोर्ट नजिकै पाखोमा ‘मुस्ताङ ईको म्युजियम सञ्चालनमा छ । यहाँ जापानिज सहयोग संस्था (जाईका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त लागत साझेदारीमा सन् १९९७ मा स्थापना गरिएको हो ।
सुरुआती चरणमा यहाँको ईको म्युजियम जापानिज सहयोग नियोग (जाईका)ले एक्याप जोमसोमलाई स्वामित्वमा हस्तान्तरण गरेको थियो । एक्यापले यहाँको ईको म्युजियम संञ्चालनको जिम्मा त्यहाँको पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो ।
यहाँको दुई तलाको मुस्ताङ ईको म्युजियम २०७२ सालको महाभुकम्पले क्षति तुल्याएको थियो । त्यसपछि यहाँ ईको म्युजियम सञ्चालन ७ वर्षसम्म बन्द भएको थियो । यहाको भुकम्प क्षतिग्रष्त ईको म्युजियम पूननिर्माण हुन नसकेपछि एक्यापले २०७६ सालमा घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । गाउँपालिकाले ईको म्युजियम हस्तान्तरण भएपछि क्षतिग्रष्त भएको ईको म्युजियमको भौतिक संरचनालाई पुननिर्माण गरेको थियो ।
गाउँपालिकाले पूननिर्माण गरेको ईको म्युजियम टेन्टर मार्फत त्यहाँको पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई वार्षिक ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको थियो । अहिले संस्थाले दुई जना कर्मचारी राखेर ईको म्युजियम सञ्चालन गरिरहेको त्यहाँ कार्यरत कर्मचारी नारायणी गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाद्वारा ठेक्का लगाईएको मुस्ताङ ईको म्युजियम स्थापनाको २८ वर्ष पुग्दै जाँदा आवश्यक प्रचार÷प्रसार नहुँदा ओझेलमा परेको छ । म्यूजियममा अपेक्षा गरिएअनुरुपको पर्यटक नआएको कर्मचारी नारायणी गुरुङले उल्लेख गर्नुभयो ।
बर्सेनि बैशाख र जेठ अनि असोज र कार्तिक महिनामा भने आशिंक पर्यटकले ईको म्युजियमको अवलोकन गर्ने गरेको उहाँको भनाई छ । ईको म्युजियम अवलोकनका लागि पर्यटक संख्या वृद्धि गराउने गरी यहाँको ईको म्युजियमको विशेषता झल्काउने ब्रोसर निर्माण गरी पर्यटन व्यवसायीहरुलाई वितरण गरिएको उहाँले बताउँनुभयो ।
समग्र मुस्ताङ जिल्लाको पहिचान झल्काउने यहाँको ईको म्युजियम पर्यटकलाई अवलोकन केन्द्रका लागि मात्रै नभई विभिन्न खोजअनुन्धानकर्ताका लागि उपयोग हुने खालका सामाग्रीहरु व्यवस्थित गरिएको कर्मचारी गुरुङले जनाउँनुभयो । म्युजियम भित्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक ,धार्मिक,सांस्कृतिक र भौगोलिक विशेषता झल्काउने सामाग्रीहरु राखिएका छन् । यहाँको कृषि,पर्यटन,जैविक विविधतासंगै प्राकृतिक जटिबुटी,खनिज तथा वनस्पती,शालग्राम शीला,लाईब्रेरी,वेशभूषा र फोटो ग्यालरी राखिएका छन् । मुस्ताङको प्राचिन धर्मसंस्कृति झल्काउनेदेखि एकाई कावागुचीका तस्विर तथा अभिलेखहरु संग्रहित गरिएका छन् । एउँटै छातामा समग्र मुस्ताङ जिल्लाको विषयवस्तु थाहा पाउँन सकिने भएकाले यहाँको ईको म्युजियम मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि आभदायी हुने निश्चित छ ।
यद्यपी यहाँको मुस्ताङ ईको म्युजियमका बारेमा थप प्रचार प्रसार गर्न आवश्यक रहेको औल्याईएको छ । यहाँ मुक्तिनाथ दर्शन गर्न आउने र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरु यहाँका ईको म्युजियमका बारेमा बेखबर रहँदा म्युजियम अवलोकनमा पर्यटकको उपस्थिती बढ्न नसकेको हो ।
यहाँको पुथाङ एअरपोर्टन नजिक दक्षिण÷पश्चिमको १६ रोपनी भिरालो स्थामा रहेको ईको म्युजियमसम्म जान गाउँपालिकाले रेलिसहितको सिंढी बाटो र स्वागत गेट निर्माण गरेको थियो । ईको म्युजियमको बाहिरी कम्पाउण्डमा स्याउ लगायत सल्ला धुपीका विरुवा रोपण गरिएको छ । पुथाङ एअरपोर्टबाट पैदलै १० मिनेटमा पुग्न सकिने यहाँका ईको म्युजियम अवलोकनले पर्यटकलाई निकै फाईदा पुग्ने देखिन्छ ।
यहाँ कार्यरत म्युजियमकी कर्मचारी नारायणी गुरुङले यहाँ विदेशी पर्यटकलाई एक सय, भारतीयलाई ७५ र नेपाली पर्यटकलाई ५० रुपैया प्रवेश शुल्क ताकिएको बताउँनुभयो । यसैगरी ईको म्युजियम अवलोकन गर्ने विद्यार्थी पर्यटकलाई २० रुपैया शुल्क कायम गरिएको उहाँको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली