पत्रकार हत्या र सञ्चार जगत माथि आक्रमण गर्नेलाई कारबाहीको माग राख्दै पत्रकार महासंघ मुस्ताङले पठायो सरकारलाई ध्यानाकर्षण पत्र


जोमसोम—

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले पत्रकारहरुको योजना हत्या र मिडिया जगतमाथिको सुनियोजित आक्रमणको विरोध गर्दै मुस्ताङका सिडियो बिष्णुप्रसाद भुसाल मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघ मुस्ताङ शाखाले कार्यस्थलमा खटिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने र  उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउनु पर्ने उल्लेख गर्दै ध्यानाकर्षण पत्र  पठाएको हो ।  शाखाले  पत्रकार महासंघ केन्द्रिय कार्यालयको आह्वान अनुसार जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत आज सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

शाखाले बुझाएको ध्यानाकर्षण पत्रमा  पत्रकार सुरेश रजकको हत्या बिषयमा  सरकारले गहिरो र सुक्ष्म ढंगले अनुसन्धान गरी दोषी उपरक कडा कारबाही गरी पीििडत पत्रकारको परिवारलाई न्याय दिलाउन  अनुरोध गरिएको छ । साथै पत्रकार माथिको  सुनियोजित आक्रमण र मिडिया हाउस माथिको हमला रोक्दै स्वतन्त्रतापूर्वक पत्रकारिता गर्नका लागि पत्रकार र मिडिया हाउसको सुरक्षा प्रवन्ध मिलाउन सरकारले तत्कालै पहल गर्न आवश्यक रहेको उल्लेख गरेको छ । 

पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुनदेवी रसाईलीसहित पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा मुस्ताङका सिडियो बिष्णुप्रसाद भुसाल समक्ष सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको शाखाका सचिव आदित्य रसाईली जानकारी दिनुभयो । यसअघि शाखा अध्यक्ष सुनदेवी रसाईलीले सिडियो भुसाल समक्ष ध्यानाकर्षण पत्र पढेर सुनाउँनु भएको थियो ।

 ध्यानाकर्षण पत्र बुझ्दै मुस्ताङका सिडियो भुसालले पत्रकारको माथि भएको यसप्रकारको घटनाप्रति दुःख व्यक्त गरे । उहाँले पत्रकारहरुले आफ्नो पेशाप्रतिको जिम्मेवारी निभाउँदै गर्दा हुने यसप्रकारका घटनाले पत्रकारहरुको हकहित र पत्रकारिता कुण्ठित हुने भएकाले यहाँबाट प्राप्त पत्रलाई सरकार समक्ष आजै पठाईने जानकारी दिनुभयो ।


प्रतिक्रिया