अत्यधिक चिसो बढेसंगै कोरलानाका बन्द हुँने अवस्थामा

कार्तिक १० गतेपछिको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ र नेपाल—चीन सिमाना कोरलानाकामा अत्यधिक चिसो बढेको छ । चिसो बढेसंगै यहाको कोरलानाका बन्द हुने अवस्थामा पुगेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

मुस्ताङ भन्सार कार्यालयलाई आधिकारिक रुपमा नाका बन्द हुने जानकारी प्राप्त नभएपनि नाकामा सहजीकरण गर्ने केही दोभासेहरुलाई चिनियाँ पक्षले चिसोका कारण चाँडै कोरला नाका बन्द गर्ने जनाउ दिएको सूचना प्राप्त भएको लोमान्थाङ—२ छोसेर न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।‘ चिनिया भन्सार प्रमुख पनि दुई हप्ता भईसक्यो बिदामा छन्, दोस्रो व्यक्ति चिनियाँ भन्सारमा रहेको जानकारी पाएका छौं,’मुस्ताङ भन्सार प्रमुख खड्काले भन्नुभयो ,‘ यसका कारण सामान ढुवानी गर्न गएका मालवाहकहरुको भन्सार हुन विलम्व भईरहेको छ, ४ दिनपछि सोमबार मात्रै २० वटा जति गाडी चिनियाँ भन्सारमा छिरेका छन्।’

हिउँदयामसंगै कोरलानाकामा माईनस २० डिग्री भन्दा बढी चिसो बढेको छ भने मुस्ताङ भन्सार रहेको न्हेचुङमा बिहान र बेलुकीपख माईनस १० डिग्री बढी चिसो बढेको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो । अत्यधिक चिसोका कारण चिनले अनौपचारिक रुपमा नाका बन्द गरिसकेको अवस्था छ । चिसोका कारण  अब बढीमा ४÷५ दिन भन्दा बेसी यहाँको नाका नचल्ने लक्षण देखिएको भन्सार प्रमुख खड्काले सुनाउँनुभयो ।

नेपाल—चीन सिमानामा रहेको कोरलानाका स्थित चिनियाँ भन्सारले नेपाली मालवस्तु ढुवानीका लागि भन्सार गर्ने कार्यमा विलम्व गरिदिने लगायतका कारण कोरलानाका पुगेका मालबाहक कन्टेनर हप्तौं सम्म चिनियाँ भन्सार भएर कोरलाबाट कहिले बाहिरिएला भनेर पर्खाइमा बस्नु पर्ने अवस्था रहेको छ । कोरलानाकाबाट चिनिया भन्सारमा पुगेका मालबाहक गाडीहरु चिसोले स्टार्ड नहुने समस्याका कारण हप्तौंसम्म स्टार्डमा राख्नुपर्ने समस्याका कारण ईन्जिन बिग्रिएर अलपत्र पर्नुपर्ने अवस्था रहेको भन्सार प्रमुख खड्काले बताउँनुभयो ।‘अब त यहाँ मालवस्तु ढुवानी गर्न आउने मालबहाक चिसोले ध्वंस्त भईसकेका छन्, कतिको ईन्धन सकिएर अलपत्र परी बसेका छन्, व्यापारीहरुले पनि अब त यहाँको नाकामा सामान ढुवानी गर्न पठाउँदैनन् ।’ कोरलानाकामा चिसोको सास्ती भईसकेकाले ब्यापारीहरुले पनि सामान हाल्ने पक्षमा नरहेको बुझिएको छ ।

मुस्ताङ भन्सार कार्यालयले कोरलानाकामा मालवस्तु ढुवानी गर्न गएका ५०÷६० कन्टेर रहेको र भन्सार कार्यालयमा जाँचपासको प्रक्रियामा रहेका ५०÷६० कन्टेनर गरी करिव एक सय २० भन्दा बढी कन्टेनर रहेको जनाईएको छ । भन्सार प्रमुख खड्काका अनुसार कोरलानाका चिन पक्षले बन्द नगरेपनि यहाँ आईपुगेका मालबाहक कन्टेनर र भन्सार एजेन्टहरु आफै यहाँबाट फर्किने हतारमा रहेका छन् ।

 त्यसो त हिउँदयामसंगै उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण खानेपानीका धारा, शौचालयका सेफ्टी ट्याङकी र सिचाई कुलोहरु बरफ बनेर जमिसकेकाले जनजिवन प्रभावित भईसकेको भन्सार प्रमुख रमेश खड्काले बताउँनुभयो । चिसोका कारण कोरलानाका बन्द रहेपनि भन्सार कार्यालय खुल्लै रहने उहाँको भनाई छ ।

कोरलानाकामा मालवस्तु ढुवानी गरी फर्किएका कन्टेनर चालक राजकुमार पराजुलीले चिसोका कारण कोरलानाका कन्टेनरहरु बिग्रिने समस्या रहेको बताउँनुभयो । चिसोले कन्टेनर स्टार्ड नहुने भएकाले ४÷५ दिनसम्मै स्टार्ड राख्नुपर्ने कारण ईन्धन सकिने र चालकहरुलाई समेत सास्ती हुने गरेको दुखेसो सुनाउँनुभयो । कोरलानाकामा हामीहरुले कन्टेनर चिनियाँ भन्सार लानु पाउँदैनौ, उनीहरुकै चालकहरु आएर लाने ल्याउने गर्छन,’ चालक पराजुलीले भने,‘ आफैले चिनियाँ भन्सारसम्म कन्टेनर लान पाएको भए जतन हुन्थ्यो, आफु जान नपाउँदा कन्टेनरको जतन हुँदैन र समस्या आउँछ ।’

कोरला पुगेका अर्का कन्टेनर चालक पदमराज जोशीले कोरला स्थित चिनिया भन्सारमा १०÷१५ दिनसम्म भन्सार नहुँदा कोरलानाकामै कुरेर बस्नु पर्ने बाध्यता रहेको औल्याउनुभयो । कोरलानाका चिसोका कारण कन्टेनर बिगिएर कतिपय कन्टेनर कोरलानाकामै बिग्रिएर थन्किएको कन्टेनर चालक जोशीको भनाई छ । समयमै भन्सार नहुँदा हप्तौहप्तासम्म कोरलानाकाबाट १६ किमी यता छोसेरमा आएर खाने र बस्नका लागि पटक पटक धाउनुपर्ने समस्या रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया