कोरलानाकाबाट चिनियाँ स्याउ भित्रिदै , मुस्ताङी स्याउ किसान भन्छन् ‘दुई महिना रोकिदेउ,गरिखान देउ’

मुस्ताङ,१७, भदौ ।

 नेपाल—चीन उत्तरी कोरलानाकाबाट चिनियाँ स्याउ नेपाल भित्र्याउने तयारी गरिएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी—केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि चीनमा उत्पादनमा स्याउ नेपाल भित्र्याउन तयारी भएको हो ।

 भोटेकोशीमा आएको बाढी कारण केरुङमा रोकिएका चिनियाँ स्याउहरु डाईभर्ट गरी मुस्ताङको कोरलानाकाबाट भित्र्याउने तयारी चलेको छ । लोमान्थाङ —४ नेचुङ स्थित प्लान क्वारेन्टाईनको मौखिक जानकारी अनुसार रसुवागढी नाकाबाट नेपाल भित्र्याउने तयारीमा रहेको चिनिया स्याउ कोरलानाका हुँदै नेपाल ल्याउन प्रारम्भिक तयारी भएको जनाईएको छ । क्वारेन्टाईन कार्यालय अनुसार हालसम्म रसुवागढी नाका बन्द हुँदा रोकिएको नौ जना व्यापारीहरुको चिनियाँ स्याउ कोरलानाकाबाट ल्याउने तयारी गरिएको छ ।

यता, कोरलानाकाबाट चिनिया स्याउ नेपाल भित्रिने तयारी चलिरहँदा मुस्ताङका स्याउ किसानहरु सशकित र चिन्तित बनेका छन् । चीनबाट पैठारी गरिने स्याउ आयातले नेपालका स्याउ किसानहरु बजार भाउ खस्किने र चिनियाँ स्याउसंग बजार प्रतिस्पर्धा गर्न नसक्ने उल्लेख गर्दै कोरलानाकाबाट भित्रिने चिनिया स्याउ पैठारी गर्न रोक लगाउनुपर्ने भन्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सम्वोधन गरी ज्ञापन पत्र पठाएका छन् । 

मुस्ताङ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्मका प्रोपाईटर कर्म गुरुङको नेतृत्वमा गएको मुस्ताङका अगुवा स्याउ किसानहरुको टोली बुधबार जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएको  हो ।

 मुस्ताङका स्याउ किसान कर्म गुरुङले मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा समक्ष नेपालमा स्याउको सिजन चलेको बेला चिनिया स्याउ नेपाल भित्र्याउन नहुँने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

 नेपाल सरकार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय,कृषि वन तथा पर्यावरण मन्त्रालय र आपूर्ती मन्त्रालयलाई बोधार्थ जानकारी दिदै मुस्ताङका स्याउ किसानले प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयलाई ज्ञापनपत्र पठाएको  चिम्ले अचार्ड कृषि फार्मको प्रोपाईटर कर्म गुरुङले जानकारी दिनुभयो ।

 स्याउ किसानहरुको ज्ञापनपत्रमा नेपालमा भदौ,असोज र कार्तिक महिनामा स्याउ टिपाई तथा बिक्री वितरण हुने समय भएकाले उक्त समयमा चिनिया स्याउ नेपाल भित्रिएमा नेपालका स्याउ किसानहरु समस्यामा पर्ने उल्लेख गरिएको छ । स्याउको सिजन  सुरु भईसकेकाले कम्तिमा तीन महिना चिनियाँ स्याउलाई नेपाल भित्र्याउन नहुने किसानहरुको माग छ । नेपालमा चिनियाँ स्याउलाई मुस्ताङको स्याउ भनी बिक्री वितरण गर्ने भएकाले चिनिया स्याउ आयातले नेपालका स्याउ किसानलाई थपिएको उहाँको भनाई छ ।

 कोरलानाकामा प्लान क्वारेन्टाईनको कार्यालय मात्रै भएको र जनशक्ति र उपकरणको समेत व्यवस्था भईनसकेको अवस्थामा कोरलानाकाबाट चिनियाँ स्याउ नेपाल भित्र्याउँदा घातक हुनसक्ने किसानहरुको भनाई छ ।

 मुस्ताङका किसानले स्याउको सिजन चलेको बेला बाहेक अन्य समयमा चिनियाँ स्याउ नेपाल भित्र्याउँदा कुनै आपत्ती नहुने ज्ञापनपत्रमा उल्लेख गरेका छ ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले मुस्ताङका किसानले चिनियाँ स्याउ पैठारी सम्वन्धमा ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो । किसानहरुले उठाएको मागहरु सान्दर्भिक भएपनि विधि ,पद्यती र कानुन सम्वत निकासी तथा पैठारी हुने मालवस्तुहरुको रोक लगाउन नमिल्ने बताउँनुभयो । स्थानीय किसानहरुको पत्र प्राप्त भएको र उक्त पत्र सम्वन्धित निकायमा पठाईएको बताउँनुभयो ।

प्रतिक्रिया