खन्ती —सौरु पुलको अनुगमन

जोमसोम ।

यहाँको थासाङ गाउँपालिका—२ स्थित निर्माण सम्पन्न हुने चरणमा रहेको (खन्ती—सौरु) जोड्ने संस्पेन्सन पुलमा नहिड्न मुस्ताङका सिडियो विष्णुप्रसाद भुसालले निर्देशन दिनुभएको छ । मंगलबार त्यहाँको पुल अनुगमन तथा निरीक्षणमा पुगेका सिडियो भुसालले तत्काल पुलबाट आवतजावत नगर्न स्थानीयबासीलाई निर्देशन दिनु भएको हो ।

 मुस्ताङ जिल्लाकै लामो दुरीको यहाँको निर्माणधिन संस्पेन्सन पुलबाट आवतजावत गर्ने क्रममा थासाङ—१ टुकुचेका २० वर्षीय पेम्बा शेर्पा कालिगण्डकी नदीमा खसेर घाईते भएका थिए । पुलको केही स्थानमा स्टिल पार्ट र पुलको दायाँबाँया ग्याविन बार लगाउन बाँकी रहेकाले पुल सम्पन्न नहुँदा सम्म पुलबाट आवतजावत नगर्न सिडियो भुसालले निर्देशन दिनुभएको हो ।

 निर्माणधिन पुलको भौतिक प्रगती र दुर्घटना बुझ्न पुलको अनुगमन तथा निरीक्षण गर्न सिडियो भुसालसहित पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचन, नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना , राष्ट्रिय अनुसन्धान प्रमुख , घरपझोङका पूर्व अध्यक्ष आशबहादुर थकाली र एमाले सचिव तिलक विक लगायतको टोली त्यहाँ पुग्नुभएको थियो ।

 सिडियो भुसालसहितको टोलीले निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिसंग पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न हुने चरणमा रहेको (खन्ती—सौरु) जोड्ने पुलमा स्टिल पार्ट र बार लगाउँन बाँकी रहेको र यहाँबाट आवत—जावत गर्दा मानवीय जोखिम हुने भएकाले पुलबाट नहिड्न सर्वसाधारणलाई सूचित गराईएको सिडियो भुसालले बताउँनुभयो । कालिगण्डकी नदीको बाहव उच्च भएको र पुलबाट हिड्दा जोखिम हुने देखिएको सिडियो भुसालको भनाई छ ।

 पूर्व संघीय सांसद प्रेमप्र्रसाद तुलाचनले यहाँका कालिगण्डकी नदीको पुल कालिगण्डकी पारीका बस्तीलाई निकै ठुलो राहत पुग्ने बताउँनुभयो । ‘ आफु संघीय सांसद हुँदा यहाँको समस्या बुझेर यहाँ पुल निर्माणको योजना पारेको थिए, आज पुल सम्पन्न हुँने चरणमा रहँदा निकै खुसी तुल्याएको छ ।’ पूर्व सांसद तुलाचनले विकास र समृद्धि गफ गरेर होईन काम गरेर देखाउँनुपर्ने बताउँनुभयो ।

यता, निर्माण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले (खन्ती— सौरु)जोड्ने पुल अबको दुई साता भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । पुलको केही फिनिसिङको काम बाँकी रहेको श्रेष्ठले उल्लेख गर्नुभयो ।

 वि.सं २०७४ सालमा ठेक्का सम्झौता भएको यहाँको खन्ती —सौरु जोड्ने पुलको लम्बाई ५७० मिटर र चौडाई दुई दशमलव ५ मिटर छ । ईलाईट रुविना जेभीले  ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको चरण ढिलासुस्ती,कोरोना कहर लगायत विभिन्न कारण पुल निर्माणकार्यमा विलम्व भएको थियो ।

 यहाँको पुल निर्माण सम्पन्न भएपछि कालिगण्डकी पारीको सौरु र सिर्खुम गाउँका स्थानीयबासीलाई राष्ट्रिय राजमार्गसंग जोडिन योगदान पु¥याउने पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताउँनुभयो । यहाँको पुल बनेपछि बर्खायाममा गाउँपालिका कार्यालय,विद्यालय, स्वास्थ्य,सदरमुकाम आउजाउ गर्न तथा यहाँको कृषि तथा पशुपालन व्यवसाय संञ्चालन गर्न सहज हुने उहाँको भनाई छ ।


प्रतिक्रिया