मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा पर्यटक तथा स्थानीयलाई सास्ती

जोमसोम—  भौगोलिक रुपमा सबैभन्दा विकट र पीछडिएको एक मात्र गाउँपालिका हो उपल्लो  मुस्ताङको लोघेकर दामोदरकुण्ड । पालिकाको ५ वटै वडाहरुमा कच्ची सडक विस्तार भईसकेको छ । पालिकाको ५ वटै वडामा सडक कच्ची सडक पुग्दा एउटा वडा भने पुल नहुँदा वर्षौवर्षदेखि स्थानीय नागरिक र पर्यटकलाई समस्या पर्दैआईरहेको ।

मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड —१ चराङदेखि कालिगण्डकी पारीको लोघेकर दामोदरकुण्ड—५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालिगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यसक्षेत्रका नागरिक र त्यहाँ बाटो पैदलयात्रा गर्ने पर्यटकलाई बर्खायाममा आउजाउमा निकैनै सास्ती खेप्नु परेको छ ।  मुस्ताङको चराङबाट ‘ध्ये’ खोला कटेर ध्ये र ताङ्ग्या गाउँ हुँदै मनाङको नाफु जोड्ने पर्यटकीय पदमार्ग पर्छ । उपल्लो मुस्ताङबाट ध्ये र त्याङ्ग्या हुँदै मनाङ जाने छोटो दुरीको पर्यटकीय पदमार्ग पर्ने भएकाले त्यहाँ पुलको आवश्यकता महशुस गरिएको थियो ।

उत्तरी कोरलापास र दामोेदरकुण्डसहित अन्य शाखा नदीको समिश्रण ‘ध्ये’ खोलामा पुल आवश्यकता धेरै अघिदेखि गरिएपनि हालसम्म त्यहाँ पुल बन्ने छेकछन्द देखिदैन । गाउँपालिका केन्द्र चराङ र कोरला सडकसंग ध्ये गाउँ र ताङ्ग्या गाउँ जोड्ने कालिगण्डकी ‘ध्ये’ खोलामा पुल नहुँदा स्थानीय नागरिक र जनप्रतिनिधिहरुलाई आउजाउमा निकै समस्या पर्ने गरेको लोघेकर दामोदरकुण्ड—५ का वडाध्यक्ष पासाङ गुरुङले जानकारी दिनुभयो । ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकहरुलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आउजाउ गर्न समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङको भनाई छ । 

‘बर्खायाममा त कालिगण्डकी ‘ध्य’े खोलाको बाहव उच्च हुन्छ, खोला तरेर वारिपारी गर्न पनि सकिंदैन’, वडाध्यक्ष गुरुङले भने, ‘ बर्खायामको ३÷४ महिना त हाम्रो गाउँमा पुरै नाकाबन्दी लगाए जस्तै हुन्छ, पुल नहुँदा यताउता जान पनि मिल्दैन हजुर ।’

भौगालिक रुपले विकट  ध्ये र ताङ्ग्या गाउँमा उत्पादन हुने कृषि उपज र पशुपालनको बजारिकरण गर्नमा समेत पुल नहुँदा समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङले सुनाउँनुभयो । ‘बर्खायाममा खोला ठुलो भएर तर्न सकिंदैन’, उहाँले भन्नुभयो,‘ हिउँदयाममा खोला घटेपछि भने तरेर आउजाउ गर्ने गरेका छौ ।’

 मुख्य राजमार्ग सडक अन्तर्गत पालिकाको केन्द्र चराङदेखि एक घण्टा ओरालो झरेर ध्ये खोला तरेर केही मिनेट उकालो लागेपछि ध्ये र ताङ्ग्या गाउँमा पुग्न सकिन्छ । यद्यपी यि दुई गाउँमा कच्ची सडकको पहुँच जोडिएपनि ‘ध्ये’ खोलामा पुल नहुँदा समस्या परेको हो । ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालिगण्डकी नदीमा पुल नहुँदा त्यस क्षेत्रका नागरिकहरुले बर्खायाममा घरायसी आवश्यकता पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरु हिउँदयाममा खोलाको सतह घटेपछि मात्रै ढुवानी गरेर मौज्याद राख्ने गरेको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

त्यसो त मुस्ताङको ‘ध्ये’ खोलामा पक्की पुल बनाउने पहल यसअघि नभएको होईन । संघीयतापछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको वडा १ र ५ जोड्ने गरी ध्ये खोलामा पुल बनाउन गाउँपालिकाले पहलकदमी गर्दैआईरहेको थियो । झन्डै ५ सय मिटर दुरीमा फैलिएको ध्ये खोलाको सतहले पुल निर्माणका लागि वैज्ञानिक अध्ययन र सर्वे समेत भएको थियो । त्यहाँ दुई वटा सरकारी निकायले बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेपनि सरकारले त्यहाँ पुलका लागि बजेट विनियोजन गर्न सकेको छैन । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिकहरु सरकारले पुल बनाईदेलाकी भन्नेमा आशावादी भएर बसेको छन् । मुस्ताङका अधिकाँश गाउँहरुमा पुल र सडकको पहुँच पुगिसक्यो, हाम्रो वडामा जाने खोलामा पुल बनाउने मेलोमेसो देखिदैन ’, वडाध्यक्ष पासाङ गुरुङले दुखेसो सुनाउँदै भने, ‘सरकारले मोटर गुड्ने पुल नभएपनि झोलुङ्गे पुलसम्म भएपनि बनाईदिए हुन्थ्यो, त्यो पनि हुन सकेको छैन ।’

 मुस्ताङको ध्ये र ताङ्ग्या गाउँ जोड्ने पुल निर्माणका लागि यसअघि पूर्वाधार विकास निर्देशानालयले डिपिआर समेत तयार गरेको थियो । त्यसबेला जेएनआर कन्सन्टेन्सीले एक सय ३ मिटर लामो पुल बनाउँनु पर्ने र त्यसका लागि १७ करोड २ लाख ६५ हजार लागत लाग्ने अनुमान गरी डिपिआर गरेको थियो । त्यहाँ २५÷२५ मिटर दुरीमा ५ स्पान रहने गरी मोटरेबल पुलको डिजाईन गरेको थियो ।

 यसैगरी ध्ये खोलामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभाग (डोली)ले प्रि—डिजाईन सर्वे गरेको थियो । त्यससमय साविकको पुल डिजाईनलाई परिवर्तन गरी थप स्पान थपेर नयाँ डिजाईन बनाउनुपर्ने राय सुझाव दिएका थिए । तर, ध्ये खोलामा पुल निर्माणका लागि पटक÷पटक डिजाईन सर्वे गरिएपनि त्यहाँ पुल बनाउने योजना पर्न सकेको छैन ।

 लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले ध्ये खोलामा पुल निर्माण गर्ने पटक÷पटक प्रयास भएपनि सार्थकता पाउन नसकेको बताउँनुभयो । ‘भौगोलिक रुपले कठिन भएको र पुल बनाउन करोडौ रुपैया लागत लाग्ने देखियो’, अध्यक्ष बिष्टले भने,‘ सरकारले लाभग्राही संख्या र त्यसको औचित्यता नियालेर बजेट विनियोजन गर्ने भएकाले यसप्रकार समस्या आएको हो ।’

 अध्यक्ष बिष्टले ध्ये खोलामा करिव ५ सय मिटर लामो पुल आवश्यकता पर्ने र त्यसका लागि ठुलो बजेट चाहिने भएकाले पुल बन्न नसकेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया