जोमसोम—हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ स्थित पुराङ रानीपौवाको मुक्तिक्षेत्रमा‘यार्तुङ’को रौनक छाएको छ ।बर्सेनि बर्खायाम सकिएर हिउँदयाम सुरु हुने समयमा मनाईने यार्तुङ पर्व हर्षउल्लासका साथ मनाउने प्रचलन छ ।
उपल्लो मुस्ताङ र वारागुङ मुक्तिक्षेत्रका विभिन्न गाउँहरुमा यार्तुङ पर्व मनाउने चटारो चलिरहेको बेला मुुस्ताङको मुक्तिनाथ क्षेत्र रानीपौवामा बिहिबारदेखि यार्तुङ मेला सुरु भएको छ ।भोली शनिबार फुटबल र तारा खेल प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुनेछ ।
यार्तुङ पर्व हिमाली क्षेत्रका समुदायको एक महत्वपूर्ण पर्वको रुपमा लिने गरिन्छ । बर्खायाममा खेतीपातीको कामकाज सकेर फुर्सदिलो समयमा मनाईने यार्तुङ पर्वमा आफन्तजन,ईष्टमित्र र छरछिमेकीहरु आसपमा भेला भई आत्मिय सम्वन्ध विस्तारका लागि मनाईने सदिंयौंदेखिको सांस्कृतिक पर्व हो ।
यार्तुङ पर्वको संरक्षण,संम्वद्धन,प्रर्वद्धनका साथै सामाजिक सम्यता र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले यसवर्ष पनि यार्तुङ पर्वलाई मेलाको रुपमा निरन्तरता दिदै आईरहेको छ ।
मुक्तिनाथ स्थित जनप्रिय युवाक्लव पुराङ रानीपौवाले ऐतिहाँसिक धर्मसंस्कृति ,मौलिकता ,रहनसहन,भेषभुषा र हिमाली क्षेत्रक स्थानीय भाषालाई जोगाउनका लागि यसप्रकारको पर्वलाई मेलाको रुपमा संञ्चालन गर्दैआईरहेको क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गरे । उनले पर्वलाई संगसंगै लिएर विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए ।
बर्खायामका कारण सडक संञ्जालको असहजताका कारण एवं पर्यटकीय अफसिजनका भएकाले यार्तुङ पर्वलाई मेलाको रुपमा आयोजना गरेर पर्यटन प्रर्वद्धनमा क्लवले जोड दिएको हो । यार्तुङ मेलाले बेमौसमे पर्यटन क्षतिलाई राहत प्रदान गर्न महत्वपूर्ण योगदान दिएको वारागुङ मुक्तिक्षेत्र—१ वडाध्यक्ष प्रमेश गुरुङले उल्लेख गरे । हिमाली संस्कृति र मौलिकता मुस्ताङ चिनाउने एक आधार भएकाले यार्तुङ पर्वले पर्यटनक्षेत्रको विकास समुत्थानमा टेवा पुग्दै आर्ईरहेका वडाध्यक्ष गुरुङको भनाई छ ।
जनप्रिय युवाक्लव पुराङ रानीपौवा मुक्तिनाथद्वारा आयोजिक यार्तुङ मेला २०८१ अन्र्तगत परम्परागत धनुषवाण प्रतियोगिता र सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको हो । लगातार ५ दिनसम्म संञ्चालन हुने यार्तुङ मेलामा परम्परागत सांस्कृतिक स्याब्रो नाच, घोडा दौड प्रतियोगिता, कदम घोडा दौड प्रतियोगिता र डोरी तान्ने खेल प्रतियोगिता संञ्चालन हुने क्लवका पूर्वअध्यक्ष सुरज गुरुङले जानकारी दिए । यार्तुङका अवसरमा ख्यातीप्राप्त कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम तथा लाईभ कन्सर्ट हुनेछ । मेलाको अन्तिम दिन स्थानीय समुदायहरुबाट कलासंस्कृति र मौलिकतालाई पर्वको रुपमा प्रस्तुत गरिने क्लवका पूर्वअध्यक्ष गुरुङको भनाई छ । मेलाको अन्तिमदिन साँझ डिजे डान्स पार्टी आयोजना हुने उनले जानकारी दिए ।
शुक्रबार रानीपौवाको धनुषवाण हान्ने खेल मैदानमा तारा खेल प्रतियोगिता उद्घाटन गरिएको छ । तारा हान्ने काठको मुड्को (धसा)लाई स्थानीय धार्मिक संस्कृति अनुसार चोखोपानी चढाउने,छ्याङ रक्सी चढाउने र धसालाई खादा लगाएर ज्येष्ठ नागरिकहरुले धनुषवाण प्रहार गरी तारा खेल प्रतियोगिताको शुभारम्भ गरिएको छ । धनुषवाण प्रहार गर्नु अघि ज्येष्ठ नागरिकहरुले स्थानीय भाषामा गित गाउँदै आशिष दिएका थिए । यसरी ज्येष्ठ नागरिकले भौलिक स्थानीय भाषामा आशिष दिंदा खेल अवधिभर कुनै अनिष्ट र दुर्र्घटना हुँदैन भन्ने धार्मिक मान्यता रहिआएको छ ।
मुक्तिनाथ यार्तुङ मेलामा छिमेकी जिल्ला मनाङसहित कुल १८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । निर्धारित ११ डोरमा ११० पूर्णाङक रहने गरी खेल हुनेछ । प्रतियोगिता सबैभन्दा बढी अंक प्राप्त गर्ने टिम च्याम्पियन र उपविजेता घोषित गरिने छ । यसैगरी यार्तुङ मेलाको पहिलोदिन बिहिबार हाईअल्टिच्युड फुटबल प्रतियोगिताको क्वाटर फाईनल खेलहरु संञ्चालन भएको थियो । समुन्द्री सतहको ३८ मिटरको अग्लो उचाईमा आयोजित पर्वतीय हाईअिल्टच्युड फुटबल प्रतियोगितामा आयोजनक जनप्रिय युवाक्लव मुक्तिनाथ,जनमुक्ति युवाक्लव ठिनी,जोमसोम युथक्लव जोमसोम र थोरङ्लापास युथक्लव खिङ्गा सेमीफाईनलमा पुगेको प्रतियोगिता आयोजक जनप्रिय युवाक्लवले जानकारी दिएको छ ।
खेलका माध्यमबाट जिल्ला भित्र र जिल्ला बाहिरका युवाहरुको सम्वन्धलाई थप प्रगाढ बनाउन खेलकुदका कार्यक्रम महत्वपूर्ण हुन्छ । पछिल्लो समय गाउँघरका युवाहरु वैदेशिक पलायनका कारण गाउँघरमा खेलिन ऐतिहाँसिक तथा सांस्कृतिक खेलहरु लोप हुँदै जान थालेको र पछिल्लो पुस्ताले धर्मसंस्कृति र मौलिकता पछ्याउन छोडेकै कारण यार्तुङ पर्वलाई बृहत मेलाको रुपमा संञ्चालन गर्ने गरिएको हो ।
मुक्तिनाथ यार्तुङ मेला सुरु भएसंगै मुक्तिनाथ क्षेत्रम खेलाडी तथा खेलकुद र मौलिकता अवलोकन गर्न आउने दर्शकहरुको उपस्थितीले पुराङ रानीपौवामा खेलकुद उत्सवमय भएको छ । पर्यटक नआउँदा सुनसान बनेका मुक्तिनाथका २ दर्जन होटलहरु अहिले मेला आयोजनाका कारण हाउसफुल भएको छ ।