लोमान्थाङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ(१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट ९भेप० बराबद गरेको छ ।

कोरलानाकाबाट शंकास्पद रूपमा भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को तलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट ९भेप० फेला परेको हो । कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए ।

शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो । अवैध रूपमा भेप लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको जनाएको छ । उक्त संख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी भेप रहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयले हाल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको रोहवरमा बरामद गरिएका भेपको परिमाण र अनुमानित मूल्यको भन्सार मुचुल्का गर्ने तयारी गरिहेको जनाएको छ ।

कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । कोरलास्थित स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुई वटा कन्टेनर नेपाल–चीन कोरलानाकाको २४ नं सीमास्तम्भ नजिक दुई दिनसम्म शंकास्पद रूपमा रोकिएका थिए ।

चिनियाँ भन्सारबाट मालवस्तु लोड गरिएर कोरलानाकाबाट नेपाल भित्रिएका दुई कन्टेनर तल नझरेपछि भन्सार कार्यालयले कडा निगरानी बढाएको थियो । स्रोतका अनुसार अवैध रूपमा भेप ओसारपसार गर्ने गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई देखाउने नक्कली कागजपत्र तयार पारिराखेको बताइएको छ ।

यसअघि चालु वर्षको ९ पुसमा पनि कोरलानाकाबाट दुई करोड २४ लाख मूल्य बराबरको १६ हजार थान भेप बरामद गरिएको थियो । यसैगरी, गत वर्ष कोरलानाकाबाट भित्रिएका ६ करोड ८१ लाख मूल्य बराबरको भेप भन्सार र सुरक्षा निकायको टोली बरामद गरेको थियो ।


प्रतिक्रिया