मुस्ताङका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङका दुई स्थानमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सीमाना घाँसा र घरपझोङ—३ पुथाङ एअरपोर्ट जोमसोममा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो ।

दसै तिहार  तथा छठपर्व जस्ता महत्वपूर्ण चाडपर्वमा मुस्ताङ भ्रमण गर्ने पर्यटकहरुको संख्या वृद्धि हुने भएकाले त्यसका आवश्यक सहजीकरणका लागि मुस्ताङका दुई स्थानमा ‘यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । दसै—तिहार र छठ पर्वमा सरकारी बिदा हुने भएकाले मुस्ताङमा आन्तरिक पर्यटकको आगमन धेरै हुने गरेको छ ।

दसै—तिहार लगायतका चाडपर्वहरुमा सरकारी कार्यालय, विद्यालय,बैक तथा वित्तिय संस्था र अन्य कार्यालयहरु बन्द हुने भएकाले मुस्ताङ जिल्ला घुमफिर गर्ने केन्द्र बनेको छ । बिदाको समयमा बढी मात्रामा युवायुवतीहरु मुस्ताङ भ्रमण गर्न रुचाउँछन् ।

 महत्वपूर्ण चाडपर्वको बेला मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई कुनै प्रकारको समस्या नहोस भन्ने अभिप्रायले यहाँ यात्रु सहायता कक्षा स्थापना गर्नु परेको डिएसपी लामाको भनाई छ ।

 दसै तिहार चाडपर्वको अवसरमा सार्वजनिक यातायातका साधनले मनपरी भाडा लिएको पाईएमा, यात्रा गर्दा कुनै प्रकारको समस्या भएमा  वा यात्रा गर्दा कुनै प्रकारका सामानहरु हराएमा वा चोरी भएमा र मुस्ताङ भ्रमणका क्रममा कुनै स्थानमा यात्रु गर्नु परेमा यहाँ स्थापना गरिएको यात्रु सहायता कक्षले सहजीकरण गर्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

 यहाँ स्थापना गरिएको यात्रु सहायता कक्षमा भौतिक रुपमा उपस्थित भई अथवा प्रहरीले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गरेर आफ्ना समस्या राख्न सकिने ब्यवस्था गरिएको छ । यहाँ स्थापना गरिएको कक्षमा कुनै प्रकार गुनासो र रिपोर्ट आएको अवस्थमा यात्रु सहायकता कक्षले तत्काल सावधान गर्ने व्यवस्था गरिएको जनाईएको छ ।


प्रतिक्रिया