मुस्ताङ¬ डोल्पा सडक अवरुद्ध

जोमसोम—बाढीले सडक ट्याक बगाएपछि मुस्ताङ —डोल्पा सडक अवरुद्ध भएको छ ।मंगलबार साँझ अकस्मात आएको साङ्ता गाउँ नजिकैको ठाँडो खोलाको बहावले त्यहाँको सडक ट्याकमा क्षति पुगेपछि (मुस्ताङ—डोल्पा ) सडक पूर्ण रुपमा बन्द भएको हो ।

मुस्ताङ—डोल्पा सडक अवरुद्ध भएको स्थान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ साङ्ता गाउँदेखि करिव ५ सय पश्चिमतर्फ पर्छ । सडकदेखि माथि पूर्वतर्फको ठाँडो खोलाको उच्चबहावले करिव १५० मिटर सडक कटान गरेको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । बाढीले साविक सडकको ट्याक ध्वंस्त भएको र सडकको करिव  ५० मिटर गहिरो गल्छी भईसकेको वडाध्यक्ष गुरुङको भनाई छ ।

 साङ्ता गाउँ नजिकैको ठाँडो खोलाले मुस्ताङ—डोल्पा सडक अवरुद्ध भएकाले अब उपल्लो डोल्पामा तत्काल खाद्यान्न तथा अन्य दैनिक अतिआवश्यकीय मालसामान ढुवानीमा समस्या पर्ने वडाध्यक्ष गुरुङले उल्लेख गरे ।  उपल्लो डोल्पा स्थित छार्का ताङसिङका नागरिकहरुले खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरु ढुवानी गर्न सबैभन्दा छोटो दुरीको सडक भएकाले उपल्लो डोल्पाका नागरिक यसबाट लाभान्वित भएका थिए ।

वारागुङ—५ का वडाध्यक्ष गुरुङले मुस्ताङ—डोल्पा सडक ट्याक जोडिएपछि मुस्ताङबाट उपल्लो डोल्पासम्म ट्याक्टर र जीपबाट मालसामान ढुवानी हुने गरेको बताए । बाढीले सडक ट्याक क्षतिको र अब मौसम अनुकुल भएपछि सडक मर्मतको काम सुरु गर्ने वडाध्यक्ष गुरुङको भनाई छ ।

 संघीय सरकार  भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुङले हिमाली जिल्ला मुस्ताङ र डोल्पा जोड्ने रणनीतिक महत्वको सडकलाई चरणवद्ध रुपमा निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।आर्थिक वर्ष २०७५÷०७६ सालदेखि मुस्ताङको पाक्लिङदेखि  मुस्ताङ—डोल्पा सम्म आधा दर्जन प्याकेजमा

 विभिन्न निर्माण कम्पनीले सडक निर्माण गरेका थिए । गतवर्ष मात्रै मुस्ताङको साङ्ता गाउँदेखि केहीपरबाट चट्टान काटेर  सीमाक्षेत्रसम्म करिव २० किलोमिटर  सडक विस्तार गरिएको थियो । उता उपल्लो डोल्पाको छार्का ताङसिङ गाउँपालिकाले पनि आफ्नो क्षेत्रबाट सडक स्तरोन्नति गर्दै सीमाक्षेत्रमा सडक निर्माण गरेको थियो ।मुस्ताङ र डोल्पाको सीमाक्षेत्रका दुरी करिव ६० किमी छ । 

यसअघि सडक ट्याक नहुँदा उपल्लो डोल्पाका नागरिकहरुले घोडा खच्चडमा भारी बोकाएर मुस्ताङको जोमसोमबाट उपल्लो डोल्पासम्म मालसामान ढुवानी गर्ने गथ्र्ये । उपल्लो डोल्पाका नागरिकलाई जोमसोम,पोखरा र काठमान्डौ आवतजावत गर्न समेत यो मार्ग सबैभन्दा उपयुक्त र छोटो दुरीको रहेको थियो ।


प्रतिक्रिया