कदम घोडा दौडमा ५ जना निर्णायक

जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ पुराङ रानीपौवा साउन ३१ गतेदेखि संञ्चालन हुने धार्मिक तथा सांस्कृतिक यार्तुङ मेलामा कदम घोडा दौड प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा विजेता र उपविजेता चयनका लागि ५ जना निर्णायकको व्यवस्था गरिने बताईएको छ । 

सामान्यतया यो कदम घोडा दौड प्रतियोगिता तोकिएको दुरीमा कुदेर प्रथम ,दोस्रो र तेस्रो हुने खालको प्रतियोगिता नभई केही फरक खालको प्रतियोगिता भएको जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गरे । उनका अनुसार मुक्तिनाथ बजार क्षेत्रको समथर बाटोमा कदम घोडा दौडमा सहभागि प्रतियोगीहरुले ५ ÷६ राउण्ड कदम घोडा दौडाउन पर्नेछ ।

 कदम घोडा दौडमा  ५० पूर्णाङ्कका लागि ५ जना निर्णायकले १०÷१० नम्बरको मापदण्डमा रहेको अंक दिनेछन् । सबै निर्णायकको दिएको अंक जोड्दा सबैभन्दा धेरै अंक प्राप्त गर्ने प्रतियोगिलाई विजेता र उपविजतेता घोषणा गरिने क्लव अध्यक्ष ठकुरीले जानकारी दिए ।

कदम घोडा दौड प्रतियोगिताका लागि मनाङ, उपल्लो मुस्ताङबाट १÷१ जना र वारागुङ मुक्तिक्षेत्र भित्रबाट ३ जना गरी कुल ५ जना निर्णायकको व्यवस्था गरिने अध्यक्ष ठकुरीको भनाई छ । कदम घोडा दौड प्रतियोगीले प्रतिस्पर्धा गर्दा  सांस्कृतिक स्थानीय मौलिक भेषभूषालाई अनिवार्य गरिएको छ । कदम घोडामा घोडाको कुद्ने शैली र घोडा दौडदा खुट्टाको चाल र घोडाको डेकोरेशन आदीलाई मूल्यांकन गर्दा प्राथमिकता दिईने छ । घोडा दौडदा चाहिने आवश्यक सामग्रीको व्यवस्थापन र सिंगार पुगे नपुगेका आदी समेतलाई मूल्यांकन गरिने छ ।

 कदम घोडा दौडको च्याम्पियनले नगद १ लाख पुरस्कारसहित शिल्ड,मेडल,छ.ट्रफी र प्रमाणपत्र पाउने छ । दोस्रो हुने उपविजेता र तेस्रो हुने प्रतियोगिले क्रमश ः ५० हजार र २५ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

बर्सेनि जनप्रिय युवाक्लव मुक्तिनाथले यार्तुङ पर्वको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मेला संञ्चालन गर्नेको क्लवका पूर्व अध्यक्ष सुरज गुरुङले जानकारी दिए । हिउँदयाममा खेतीपातीको कामकाज सकेर फुर्सदिलो समयमा मनाईने यार्तुङ पर्व हिमाली क्षेत्रको ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक पर्व हो । क्लवले पछिल्लो समय यार्तुङ पर्वलाई मेलाको रुपमा आयोजना गरेर पर्यटन प्रर्वद्धनमा जोड दिदै आईरहेको क्लवका पूर्व अध्यक्ष गुरुङको भनाई छ ।

यसवर्ष क्लवले पहिलो पटक कदम घोडा दौड प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो । जसका लागि मुस्ताङ टाईगर कन्ट्रक्सनका प्रोपाईटर ङुटुक गुरुङ (टाईगर), होटल ग्रीन मुक्तिका प्रोपाईटर भीम गुरुङ  र चिम्ले अचार्ड एप्पल फर्मका प्रोपाईटर कर्मा गुरुङले संयुक्त रुपमा पुरस्कार स्वरुप १ लाख ५० हजार प्रायोजन गरेको जनप्रिय युवाक्लवले जनाएको छ ।

  साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म संञ्चालन हुने मुक्तिनाथ यार्तुङ मेलामा घोडा दौड प्रतियोगिता,सेभेन ए साईड फुटबल प्रतियोगिता,तारा खेल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता समावेश गरिएको क्लवले जनाएको छ ।

 सांस्कृतिक कार्यक्रमतर्फ ख्याती प्राप्त कलाकारहरुद्वारा लाईभ कन्सर्ट र डिजे तेन्जिङको डान्स पार्टी कार्यक्रम संञ्चालन हुने छ । लाईभ कन्सर्टका लागि पोखरेली ड्रिमर्ज ब्यान्डलाई मुस्ताङ आमन्त्रण गरिएको छ ।


प्रतिक्रिया