थासाङको बजेट ३७ करोड ५६ लाख

जोमसोम—  मुस्ताङको थासाङ गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३७ करोड ५६ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष सोमल हिराचनले मंगलबार गाउँसभामा उक्त परिमाणको बजेट सार्वजनिक गर्नुभएको हो ।

  प्रस्तुत गरिएको बजेट मध्ये गाउँपालिकाले विनियोजन गर्न मिल्ने २२ करोड १७ लाख ८५ हजार रहेको छ । जसमा चालुतर्फ ११ करोड १३ लाख ३५ हजार अर्थात (५०.१९)प्रतिशत र पुँजिगततर्फ ११ करोड ४ लाख ५० हजार अर्थात (४९.८०) प्रतिशत रहेको छ ।

 संघीय वित्तिय समानिकरण अनुदान ६ करोड ९४ लाख,संघीय राजश्व बाँडफाँड ८ करोड २० लाख,संघीय सशर्त अनुदान १० करोड ९१ लाख,संघीय विशेष अनुदान २ करोड ६८ लाख र संघीय समपुरक अनुदान ६७ लाख रहेको गाउँसभामा उपाध्यक्ष हिराचनले जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिकाको बजेटमा प्रदेशको वित्तिय समानिकरण अनुदान ९६ लाख ६३ हजार,प्रदेश राजश्व बाँडफाँड ५३ लाख ९९ हजार,प्रदेश सशर्त अनुदान ३९ लाख६९ हजार र प्रदेश समपुरक अनुदान ६० लाख रहेको छ ।

बजेटमा स्थानीय राजश्व ६९ हजार, आन्तरिक राजश्व ४० लाख र गाउँपालिकाको वित्तिय मौज्याद ५ करोड ५० लाख रहेको उपाध्यक्ष हिराचनको भनाई छ ।

थासाङ गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरेको छ । थासाङको ओझेलमा परेका कालिगण्डकी वारिको बस्तीहरुमा आर्थिक उन्नय गर्न संघीय सरकारको समपुरक अनुदानसंगै लागत साझेदारी गर्न ९७ लाख बजेट विनियोजन गरी पर्यटकीय पदमार्ग निर्माण गर्ने जनाएको छ । धम्पु—कोखेठाटी सडक बाटोका लागि १ करोड बजेट पारिएको छ ।

झोङो कृषि सडक स्तरोन्नति,विभिन्न समाजघरमा पूर्वाधार निर्माण र ओझेलमा परेको नुप्साङ खर्क जाने सडक माटो निर्माण र विभिन्न सास्कृतिक सम्पदाहरुको सवलिकरणमा बजेट विनियोजन भएको छ ।

 स्याउ खेतीको विकास र प्रर्वद्धन गर्ने कार्यक्रम, कृषि तालिम, कृषक अध्ययन अवलोकन भ्रमण,राष्ट्रपति रनिङ शील्ड ,शैक्षिक पूर्वाधार,स्वास्थ्य,पर्यटन विकासमा बजेट लक्षित गरिएको छ ।


प्रतिक्रिया