कोरलानाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाईने सहमति

जोमसोम ।

उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरलानाकामा चिनियाँ स्याउ ल्याउन नपाईने भएको ।आईतबार देखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकाबाट चिनिया स्याउ आयात गर्न नपाईने मौखिक सहमति भएको जनाईएको छ ।

सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको सरोकारवालाहरुको बैठकले कोरलानाकाबाट चिनिया स्याउ भित्र्याउन नपाईने प्रारम्भिक चरणको मौखिक सहमति गरेका हुन् ।यहाँको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्का,लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु) , वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, ईलाका प्रशासन कार्यालय लोमान्थाङ,सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट(बीओपी) र जिल्ला भित्र र बाहिरका ब्यापारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् । 

यहाँको नेपाल—चिन कोरलानाकाबाट चिनियाँ स्याउ आयात हुँदा यहाँका स्थानीय स्याउ किसानलाई मर्का पर्ने भएकाले यसप्रकारको मौखिक सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।

‘यहाँको नाकाबाट चिनियाँ स्याउ ल्याउदैनौ भनेर ब्यापारीहरुले भनेका छन्, हामीले पनि यहाँको नाकाबाट स्याउ आयात नगरिदिनोस भनेर अनुरोध गरेका हौ,’ अध्यक्ष बिष्टले भन्नुभयो,‘ कोरलानाकाबाट चाईनिज स्याउ आयात हुँदा मुस्ताङको स्याउको बजारिकरणमा ठुलो क्षति पु¥याउँछ भनेका थियौ,यसले यहाँको स्याउ खेती गर्ने किसानलाई समेत निरुत्साहित तुल्याउने निश्चित छ ।’’

 यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले अहिले यहाँको नाकाबाट सामान आयोत गर्न केही ब्यापारीहरु आउनु भएको छ, यसैले स्याउ आयातका विषयमा प्रारम्भिक छलफल गरेका हौं, ’ अध्यक्ष गुरुङले थप्नुभयो,‘ विस्तारै यहाँको नाकाबाट सामान आयात गर्ने ब्यापारी उपस्थित भएको अवस्थामा यसलाई स्याउ ल्याउन नपाईने लिखित निर्णय गरिने सहमति भएको छ ।’’

यसअघि सामान्य रुपमा उपल्लो मुस्ताङका लाथि मात्रै खुल्ला भएको कोरलानाका आईतबार रुपमा पूर्ण रुपमा संञ्चालनमा आएसंगै यहाँका स्थानीय ब्यापारीहरुले पनि कोरलानाकाबाट चाहेअनुसारको सामान ल्याउन र लैजान पाउँने सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । यहाँको भन्सार कार्यालयले यहाँ र विभागको अनलाईन प्रणालीमा जाडिसकेको जनाएको र यहाँबाट सामान ल्याउन चाहने ब्यापारीले भन्सार विभागले तोकेको निवेदन फारम पेश गर्नुपर्ने र त्यसलाई विभागले अनलाईन मार्फत सहमति प्रदान गर्ने जनाईएको छ ।

योसंगै उपल्लो मुस्ताङका स्थानीय ब्यापारीहरु उत्साहित भएका छन् । लोमान्थाङ—३ ठिङ्गरका स्थनीय ब्यापारी कर्मसम्टुक गुरुङले कोरलानाका पूर्ण रुपमा खुल्ला गरिएकोप्रति खुसी प्रकट गर्नुभएको छ । यसले यहाँको ब्यापारीहरुलाई समेत आयआर्जनमा टेवा पुग्ने विश्वाश व्यक्त गर्नुभयो ।

 यहाँको कोरलानाका विस. २०८० कार्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकहरुलाई खुल्ला गरिएको थियो। नाका खुलेपछि त्यहाँका स्थानीय ब्यापारीले सानो परिमाणमा सामान आयात गर्दथे । अब भने भन्सार विभागको नियममा रहेर चाहेजति चिनिया मालसामान नेपाल ल्याउन पाईने र यहाको स्थानीय उत्पादन पनि सिमापारी तिब्बती बजारमा लैजान पाउँने गरी सहज व्यवस्था मिलाईएको छ ।

यहाँको कोरलानाका रसुवागढी नाका र तातोपानी नाका बाढी पहिरोले अवरुद्ध भएपछि बैकल्पिक नाकाको रुपमा विधिवत संञ्चालनमा आएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यहाँको कोरला स्थित मुस्ताङ भन्सार कार्यालयमा आवश्यक पूर्वाधार सबै तयारी अवस्थामा राखिएकाले मालवस्तु आयात निर्यातमा कुनै समस्या नपर्ने बताउँनुभयो ।


प्रतिक्रिया