जोमसोम— हिमाली जिल्ला मुस्ताङ र डोल्पाबिचको पर्यटन विकासको सम्भावना र आर्थिक विकासको कनेक्टिभिटी जोड्ने उद्देश्यले मुस्ताङको एक टोली मंगलबार धार्मिक तिर्थ यात्राका लागि उपल्लो डोल्पा प्रस्थान गरेको छ । भदौ १६ गतेदेखि २१ गतेसम्म उपल्लो डोल्पाको शेफुक्सुण्डो गाउँपालिका—३ शे गुम्बामा आयोजना हुने धार्मिक महोत्सवमा सहभागी हुन मुस्ताङको प्रतिनिधित्व गर्दै एक टोली डोल्पा प्रस्थान गरेको हो ।
१२ वर्षको एक पटक तिब्बतीयन पात्रो अनुसार ड्रागन वर्षको उपलक्ष्यमा उपल्लो डोल्पाको शेफुक्सुण्डो गापा—२ शे गुम्बामा धामिक महोत्सव हुने गर्छ । यसैका लागि मेला भर्न र मुस्ताङ र डोल्पाबिचको कनेक्टिभिटी जोड्ने उद्देश्यले मुस्ताङको ४ पालिकाका जनप्रतिनिधि,पर्यटन व्यवसायी र स्थानीय नागरिकको जम्बो टोली मुस्ताङको साङ्ता गाउँबाट दर्जनौं घोडाहरुमा सवार हुँदै डोल्पा प्रस्थान गरेको हो ।
धार्मिक तिर्थाटन तथा पर्यटन ,पूर्वाधार, आर्थिक समृद्धि र विकासको कनेक्टिभिटी जोड्नका लागि मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड ,वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको संयुक्त टोलीले मुस्ताङको साङ्ता गाउँमा घोडे यात्रा सुरु गरेका हुन् । झन्डै ३ साताको समय निर्धारण गरिएको धार्मिक तिर्थयात्रामा खान र बस्नका लागि चाहिने सबै बन्दोबस्तीका सामाग्री घोडा खच्चडमा भारी बोकाएर लगिएको छ ।
छिमेकी जिल्ला डोल्पाको सबै भन्दा ठुलो र महत्वपूर्ण मानिएको ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) को बृहत धार्मिक महोत्सव भएकाले मुस्ताङ टोली त्यसतर्फ प्रस्थान गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
संसारको जहाँपनि कनेक्टिभिटीको आवश्यकता पर्ने भएकाले उपल्लो डोल्पासंग कनेक्टिभिटी राखेर पर्यटन र आर्थिक विकासको मार्ग खोज्दै धार्मिक मेला भर्ने योजना रहेको अध्यक्ष बिष्टको भनाई छ । ‘सारमा हाम्रो यात्रा धार्मिक तिर्थाटन हो, तर,हामीले यस यात्रामा मुस्ताङ र डोल्पाबीचको आपसी सम्वन्ध विस्तार र दुई जिल्लाको समृद्धि र विकासको मार्ग खोज्ने हामी मुख्य अभिप्राय रहनेछ ’अध्यक्ष बिष्टले भने ।’ उनले मुस्ताङ र डोल्पा सडकको स्तरबृद्धि र अन्य विकासको सम्भावनाको खोजी गर्न डोल्पासंग सहकार्य गरी अघि बढ्ने जनाए ।
उपल्लो डोल्पाको शे गुम्बा न्हिङ्पा बुद्धिस धर्मसंग सम्वन्धि छ । यद्यपी शे धार्मिक महोत्सवमा विभिन्न कार्यक्रम आयोजना हुने जनाईएको छ । वारागुङ मुक्तिक्षेत्र—१ का स्थानीय रमेश गुरुङले उपल्लो डोल्पाको १२ वर्षे मेला भर्न मुस्ताङको टोली त्यसतर्फ अघि बढेको बताए । उनले धार्मिक आस्था विश्वासलाई केन्द्रमा राखेर पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम लिएर मुस्ताङको टोली त्यहाँ सहभागी हुने जनाए ।
घरपझोङ—५ ढुम्बाका कृषि उद्यमी कर्मा गुरुङले डोल्पाको सबैभन्दा पुरानो पद्यसम्भवको अस्तित्व रहेको शे गुम्बाको दर्शनका लागि आफुसहितको टोली घोडे यात्रामा निस्किएको उल्लेख गरे । उनले डोल्पामा पुगेर मेला भर्ने र दर्शन गर्ने मात्र नभई कृषि र पर्यटन विकासको सम्भावनाका पहिचान गर्न त्यहाँका जनप्रतिनिधि र नागरिकहरुसंग छलफल गर्ने योजना रहेको उल्लेख गरे । मुस्ताङबाट केही महिलासहित अधिकाँश पुरुषहरु शे महोत्सवमा सहभागी हुँदैछन् । मुस्ताङबाट गएको टोलीले शेफुक्सुण्डो तालको समेत अवलोकन गर्ने योजनामा छ ।
धार्मिक यात्रामा निस्किएको टोलीलाई मुस्ताङको साङ्ता गाउँका महिलाहरुले क्लाल्साङ गर्दै आर्शिवाद दिएर बिदाई गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता