जोमसोम—चैते दशै औसी तिथिमा मुस्ताङको कागबेनीधाममा श्राद्ध गर्न हजारौं तिर्थालु भक्तजनको घुईचो लागेको छ । मुस्ताङको पवित्र धार्मिक श्राद्धस्थलमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक तिर्थालु भक्तजनहरुको भीडले शनिबारदेखि औसीको दिनसम्म मुस्ताङ कागबेनी क्षेत्र तिर्थालुमय भएको छ ।
बर्सेनि चैते दशै र बडा दशैको औशी तिथिमा मुस्ताङको कागबेनीमा धार्मिक तिर्थालुको घुईचो हुँने गर्छ । यो समयमा आफ्ना दिवंगत पितृहरुको नाममा श्राद्ध,पिण्डदान र तपर्ण दिनाले पितृहरु खुसी भई धार्मिक मोक्ष प्राप्त हुने जनविश्वाश रहिआएको छ । यसवर्ष पनि मुस्ताङको कागबेनी क्षेत्र तिर्थालुले भरिभराउ भएको हो ।
बशन्तऋतुको आगमनसंगै मुस्ताङको पर्यटकीय गतिविधि निकै चलायमान हुने गर्छ । यहाँ भारतीय तथा स्वदेशी पर्यटकहरु मुक्तिनाथको दर्शन गर्न आउने गर्छन् । पछिल्लो एक दशक मुस्ताङमा धार्मिक तिर्थालु पर्यटकहरुको आगमन बढ्दै जान थालेको हो । विगतको वर्ष भन्दा यसवर्ष धार्मिक तिर्थालुको संख्या अकल्पनीय रुपमा वृद्धि भएको दावी गरिएको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक यातायात सहज हुँदै जान थालेपछि मुस्ताङमा बर्सेनि धार्मिक तिर्थालुको पर्यटकीय गतिविधिमा अपेक्षाकृत वृद्धि भईरहेको छ । त्यसो त पोखरा—जोमसोम हवाई सेवा मार्फत पनि आन्तरिक तथा बाह्य पर्यटकहरु मुस्ताङ आएका छन् ।
भगवान बिष्णुको बासस्थान रहेको र शालिग्रामले प्रसिद्ध मानिएको मुक्तिनाथ र कालिगण्डकीको संगम स्थल कागबेनीमा पितृहरुको नाममा श्राद्ध,पिण्डदान र तर्पण दिनाले पिृत खुसी हुने धार्मिक जनविश्वास रहेको धार्मिक तिर्थालुहरु बताउँछन् । उनीहरुले जिवन एक पटक पितृको नाममा मुस्ताङको कागबेनीमा आएर श्राद्ध गर्दा पितृहरुको उद्दार हुने बताउँछन् ।
मुस्ताङको पवित्र धार्मिक स्थल कागबेनीको कालिगण्डकी र मुक्तिनाथबाट बहने कागखोलाको संगमस्थल कागबेनी त्रिवेणीको तटीय नदी किनारामा दिवंगत पितृहरुको श्राद्ध ,पिण्डदान र तर्पण आदी दिने प्रचलन छ । सोमबार कागबेनी संगम स्थलदेखि ५ सय मिटर क्षेत्रको कालिगण्डकी नदि किनारामा श्रद्धालु भक्तजनहरुले ठुलो भीड लाग्यो । यसवर्ष कागबेनीमा गत श्रावण २८ गतेको कागखोला बाढीले भौतिक संरचना नष्ट गरेका कारण यसवर्ष तिर्थालुहरुलाई श्राद्ध गर्न केही अप्ठ्यारो परेको देखिन्थ्यो । बाढीले क्षति बनाएपछि कागबेनी श्राद्धस्थल संरचना, धर्मशाला र मन्दिरमा पनि छैनन् । तिर्थालुहरुले कालिगण्डकी नदी किनारामै रहेको आफ्ना पितृको नाममा श्राद्ध तथा पिण्डदान र तर्पण दिएका छन् ।
कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी संयोजक लक्ष्मी गुरुङले गत श्रावणको बाढीले यहाँको भौतिक संरचना बिनास गरेपछि श्राद्ध गर्ने तिर्थालुलाई केही अप्ठ्यारो महशुस भएको उल्लेख गरिन् । उनले श्राद्धस्थल संरक्षण समितिले सीमित श्रोत साधनका बावजुद यहाँका श्राद्धस्थललाई डोजरले सम्याएर व्यवस्थित गरेको र यहाँ अस्थायी सवारी पार्किङ, अस्थायी शौचालय र अस्थायी टहरा निर्माण गरी व्यवस्थित गर्ने प्रयास गरिएको बताईन् ।
विशेष गरी यहाँ हिन्दु धर्ममा आस्था राख्ने धार्मिक श्रद्धालु भक्तजनहरुको उल्लेख्य मात्रामा उपस्थिती हुने गर्छ । परापूर्व कालमा कागबेनीमा काग भुसुन्डे ऋषिले तपस्या गरी बसेको भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ । यसका कारण यो भूमी हिन्दु धर्मालम्बीहरुका लागि निकै प्रसिद्ध र महत्वपूर्ण धार्मिक स्थल मानिएको हो ।
मुस्ताङमा यसवर्षको चैते दशै औसी तिथिको दुईदिनमा धार्मिक तिर्थालुहरुको ब्यापक घुईचो बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । औसी अघिको दुईदिनमा बेनी—जोमसोम सडकमार्ग हुँदै १५ हजार ५३८ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङ प्रहरीका अनुसार शनिबार र आईतबार गरी १६४४ वटा सवारी साधन मुस्ताङ भित्रिएका हुन् । जसमा नेपाली दर्शनार्थी १४ हजार २ सय र विदेशी दर्शनार्थी ८ सयको हाराहारीमा सडकमार्ग हुँदै मुस्ताङ आईपुगेका हुन् । यसका अलावा पोखरा—जोमसोम हवाई सेवा मार्फत पनि उल्लेख्य संख्यामा पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको भनाई छ ।
मुस्ताङको धार्मिक श्राद्धस्थल कागबेनीमा दिवंगत पितृहरुको श्राद्ध,पिण्डदान र तर्पण दिईसकेपछि श्रद्धालु धार्मिक तिर्थालुहरु मुक्तिनाथ दर्शनका लागि उकालो उक्लन्छन् । चैते दशै औसी तिथिमा धार्मिक तिर्थालुले मुस्ताङ भरिभराउ हुँदा मुक्तिनाथ देखि कागबेनी,जोमसोम,मार्फा,लेते ,घाँसा र तातोपानीका होटलहरुहरु तिर्थालुले खचाखच भएका थिए ।
कागबेनीमा शनिबारदेखि पर्यटकहरुको निकै भीडभाड रहेको कागबेनीका पुजारी प्रताप आचार्यले जानकारी दिए । कागबेनीमा गत श्रावणमा कागखोला बाढी आउँदा निकै ठुलो भौतिक क्षति भएको थियो । अहिले त्यहाँको पुरानो भौतिक संरचना परिवर्तन भईसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली