मुस्ताङमा निर्वाचनको चर्चा, मतदान स्थल तथा केन्द्र निर्धारण सम्वन्धि छलफल

जोमसोम ।
आगामी २१ फागुनमा घोषित निर्वाचनका लागि यहाँका मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्वन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको संयोजकत्वमा बिहिबार जिल्ला प्रशासन कार्यालय मुस्ताङको हातामा मतदान स्थल तथ मतदान केन्द्र निर्धारण सम्वन्धि पहिलो बैठक आयोजना गरिएको हो ।
निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ को दफा ८ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । जिसस प्रमुख माया गुरुङसहित जिल्लाका पाँच स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष,राजनीतिक दलका पार्टी प्रतिनिधि र पत्रकार लगायतको उपस्थिती रहेको निमित्त कार्यालय प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
 यहाँ आयोजित मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समितिको पहिलो बैठकले तीन बुँदे निर्णय समेत गरेको छ ।
मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधिमा व्यवस्था भएका मतदान स्थल तथा मतदान केन्द्र निर्धारण आधार तथा मापदण्ड्र सम्वन्धमा छलफल भएको  हो । साथै कार्यविधिले निर्दिष्ट गरे बमोजिम कार्यसम्पन्न गर्न जिल्ला स्थित सबै  सरकारवालाहरुले आ—आफ्नो तर्फबाट तयारी , सहयोग र सहजीकरण गरिने निर्णय भएको छ ।
साविक कायम रहेका मतदान स्थललाई आधार मानी मतदान स्थलको नाम र ठेगाना रहेको त्रुटी सच्याउनु पर्ने वा नयाँ मतदान स्थल थप्नुपर्ने वा साविकमा रहेका मतदान स्थल हटाउनु पर्ने वा गाम्नुपर्ने वा एक मतदान स्थलमा रहेका सबै वा आशिंक मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भएमा कार्यविधिको अधिनमा रहि वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवालासंग समन्वय गरी समितिको निर्णयसहितको सिफारिस कार्तिक २५ भित्र जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा पठाउने गरी स्थानीय तह र वडा कार्यालयहरुलाई पत्रचार गर्ने निर्णय गरिएको छ ।
निर्णय अनुसार जिल्ला सुरक्षा समिति,जिल्ल निर्वाचन कार्यालय र जनप्रतिनिधिहरुबाट जिल्लाका सबै मतदान स्थलहरुको स्थलगत अवलोकन गर्ने जनाईएको छ ।

प्रतिक्रिया