माथिल्लो मुस्ताङमा घरदैलो गर्दै उज्यालो नेपाल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीले माथिल्लो मुस्ताङ स्थित नेपाल—चिन सिमावर्ती गाउँहरुबाट चुनावी घरदैलो अभियान सुरु गरेको छ । हिउँदयामको अत्यधिक चिसो छिचोल्दै उज्यालो नेपालका उम्मेदवार डा. सुरेन्द्र शेरचनले माथिल्लो मुस्ताङ क्षेत्रबाट आफ्नो चुनावी घरदैलो तथा प्रचार÷प्रसार अभियान थाल्नुभएको हो ।

योसंगै हिमाली जिल्ला मुस्ताङमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचन अभियानमा जुट्ने उज्यालो नेपाल पार्टी पहिलो बनेको छ । माथिल्लो मुस्ताङको तापक्रम यतिबेला माईनस २० डिग्रीमा झरेको छ । अत्यधिक चिसोका कारण स्थानीयका घरका धारा,सेफ्टी ट्याङकी,सिचाई कुलो र शाखा नदी बरफ बनेर जमेको छ । चिसोका कारण स्थानीयको दैनिक जनजिवन कष्ठकर रहेको अवस्थामा समेत यहाँ उम्मेदवारी दिनुभएका उज्यालो नेपालका उम्मेदवार डा. शेरचन चुनावी घरदैलो अभियानका लागि माथिल्लो मुस्ताङ पुग्नुभएको हो ।

 हिउँदयाममा अत्यधिक चिसो हुने भएका कारण बर्सेनि माथिल्लो मुस्ताङका अधिकाँश नागरिकहरु जाडो छल्न बेसी झर्ने पुख्यौंली परम्परा हो । यसवर्ष पनि माथिल्लो मुस्ताङका ८० प्रतिशत बढी नागरिक चिसो छल्न कार्तिक अगावै बेसी झरिसकेका छन् । यसरी बेसी झरेका माथिल्लो मुस्ताङीहरु गर्मीयाम सुरु हुँदा चैत÷बैशाखमा मात्रै उकालो उक्लिन्छन् ।

एक चरण पोखरा काठमान्डौं लगायतका स्थानमा बसेका मुस्ताङीलाइ भेटघाट गरिसकेका डा. शेरचन चिसो छिचोल्दै गाउँमा बसेका माथिल्लो मुस्ताङीलाई आफुतीर रिझाउन घरदैलो अभियानमा जुट्नु भएको हो । उज्यालो नेपालका उम्मेदवार डा. शेरचन माथिल्लो मुस्ताङमा चुनावी घरदैला गरिरहँदा अन्य पार्टीका उम्मेदवारहरु भने बेसीमै हुनुहुन्छ । बेसींमा बसेर मुस्ताङीहरुसंग भेटघाट गरिहेका अन्य दलहरु भने फागुन लागेपछि जिल्ला फर्किएर चुनावी घरदैलो गर्ने अभियानमा छन् ।

 हिउँदयामको अत्यधिक चिसोको परवाह नगरी उज्यालो नेपाल पार्टीले माथिल्लो मुस्ताङको छोसेर,मराङ,चराङ,घमी,घिलिङ र छुसाङ लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको उम्मेदवार डा. सुरेन्द्र शेरचनले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा घरदैलो कार्यक्रम गर्न जाँदा आशिंक स्थानीय नागरिक मात्रै गाउँमा रहेको डा. शेरचनले बताउँनुभयो । माथिल्लो मुस्ताङ पुगेर घरदैलो गर्दा स्थानीय वृद्धवृद्धा ,पशुचौपाया हेर्ने गोठाला दाजुभाई र केही बालवालिकाहरु मात्रै रहेको उहाँको भनाई छ ।

 माथिल्लो मुस्ताङमा अझै पनि चिसो नघटेका कारण सबै स्थानमा पुग्न नसकेको र फेरी दोस्रो चरणमा माथिल्लो मुस्ताङका सबै गाउँहरुमा पुग्ने योजना रहेको उम्मेदवार डा. शेरचनले उल्लेख गर्नुभयो । ‘तत्कालको अवस्थामा माथिल्लो मुस्ताङको दैनिक निकै कष्ठकर रहेछ, हामी त्यहाँ पुग्दा पनि निकै गाह्रो र अप्ठ्यारो महशुस भयो, डा. शेरचनले भन्नुभयो, गाउँमा बसेकाहरुलाई मुखिया र गाउँका अगुवा व्यक्तिहरुको सहयोग मागेर कार्यक्रम ग¥यौ, हाम्रो पार्टीको चुनावी घोषणा पत्र र मुस्ताङका लागि आफुले गरेका प्रतिवद्धता त्यहाँका नागरिकहरुसंग राख्ने अवसर पायौं ।’

भौगोलिक रुपमा अत्यन्तै विकट स्थानमा रहेको माथिल्लो मुस्ताङको जनजिवन निकै कष्ठपूर्ण रहेको रहेको त्यहाँका नागरिकहरुको जनजिवनमा रुपान्तरणको खाँचो रहेको डा. शेरचनको भनाई छ । 

 


प्रतिक्रिया