मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ फल्याक गाउँमा आईतबारदेखि स्थानीय सांस्कृतिक पर्व (धछ्याङ) सुरु भएको छ ।बर्सेनि हिउँदयामको समयमा खेतीबारीमा उवा,फापर र जौ लगायतका अन्नबाली लगाएपछि वारागुङ मुक्तिक्षेत्रका स्थानीयले सांस्कृतिक पर्व (पी—धछ्याङ) मनाईने प्रचलन रहेको छ ।
बशन्तऋतुको आगमनसंगै तीर (धनुषवाण) हान्ने र अन्न कुहाएर बनाईएको (छ्याङ) खाएर एक आपसमा रमाईलो गरिने भएकाले यसपर्वको नाम (धछ्याङ) राखिएको हो । हिमाली जिवन्त मौलिक कलासंस्कृतिको रुपमा महत्वपूर्ण सांस्कृतिक पर्व धछ्याङ फल्याकका स्थानीय नागरिकहरुले संस्कृति जोागाउन लागिपरेका छन् । अधिकाँश गुरुङ समुदायको बाक्लो उपस्थिती रहेको मुस्ताङको फल्याक गाउँमा सुरुवाती कालमा चौध घुरीले मात्रै यस पर्व मनाउने गथ्र्ये । पछिल्लो समयमा फल्याकमा घरधुरीको संख्या बढेको र गाउँमा युवाजनशक्तिहरु उपस्थित हुन थालेपछि हाल करिव ८० घरधुरीले हिमाली गुरुङ समुदायको यसप्रकारको पर्व (धछ्याङ) मनाउन थालिएको वारागुङ—५ फल्याकका वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
त्यसो त मुस्ताङको फल्याकमा मात्रै होईन, वारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका गुरुङ समुदायहरुले पनि फरक फरक समयमा यसप्रकारको (धछ्याङ) पर्व मनाउने प्रचलन छ । सदिंयौ वर्षदेखि चल्दै आईरहेको परम्परागत सांस्कृतिक पर्व (धछ्याङ)ले हिमाली सस्कृतिलाई जिवन्त तुल्याउन टेवा पुगेको छ । वडाध्यक्ष गुरुङले सस्कृतिक जोगिए मात्रै पहिचान जोगिने भएकाले यसप्रकारको परम्परा धान्न स्वदेश तथा विदेशमा बस्ने गाउँका युवाहरु पर्व मनाउन गाउँ फर्किने गरेको बताउँनुभयो । मुस्ताङमा गुरुङ र बिष्ट समुदायले मनाउने विभिन्न पर्वहरु मध्ये (पी—धछ्याङ) पर्व एक महत्वपूर्ण पर्व भएको वडाध्यक्ष गुरुङको भनाई छ ।
फल्याकमा सुरु भएको (धछ्याङ) पर्व एक सातासम्म चल्नेछ । पर्वको दौरानमा प्रत्येक घरधुरीका एक जना पुरुष र एक जना महिला उपस्थित हुन गाउँका मुखियाबाटै उर्दी जारी गरिएको छ । पर्वमा नआउनेलाई मुखियाले तोके अनुसारको जरिवाना तिर्नुपर्ने हुन्छ । यसैका कारण पनि पर्व प्रत्येक घरधुरीका दुई जना व्यक्ति उपस्थित हुनै पर्ने नियम राखिएको छ ।
पर्वको बेलामा गाउँको समाजघरमा उपस्थित भएर सांस्कृतिक प्रचलन अनुसार फल्याकका स्थानीयले (धछ्याङ) मनाउने गरिएको वडाध्यक्ष गुरुङले बताउँनुभयो । पर्वमा स्थानीय पुरुष तथा महिलाहरुले स्थानीय गुरुङ समुदायहरुको मौलिक वेषभुषा पहिरिएर पर्व मनाउन जुट्छन् । पर्वमा मिठामिठा खानाका परिकारहरु बनाएर खाने , मौलिक वेषभुषा चिटिक्क् सजिएर स्थानीय मौलिक गीत गाउँदै स्थानीय स्याब्रो नाच नाच्ने गरिन्छ ।
पर्वमा मौलिक सास्कृतिक नाच देखाउने र युवाहरु तीर(धनुषवाण) खेल खेलेर रमाउने गर्छन । यसप्रकारको मौलिक पर्व र तीर हान्ने खेलले युवाजनशक्तिहरुलाई एकै ठाउँमा भेला गराएर आपसमा सामिप्यता बढाउन योगदान पुग्ने वडाध्यक्ष गुरुङले बताउँनुभयो । पर्वमा (धछ्याङ)को विशेष पुजाआजा समेत गर्ने गरिन्छ ।
फल्याकमा सुरु भएको (पी—धछ्याङ) पर्वमा तीर हान्ने खेलको समय प्रतिस्पर्धा हुन्छ । फल्याक गाउँ आसपासका युवाहरु तीर (धनुषवाण) खेल खेल्न त्यहाँ जाने गर्छन। पर्वमा गाउँको आमा समुह,युवाक्लव र ज्येष्ठ नागरिकहरुले (धछ्याङ) पर्वलाई सास्कृतिक पर्वको रुपमा हर्षउल्लासका साथ मनाउने गरिएको छ ।