जोमसोम—आदीवासी जनजाती समुदाय अन्तर्गत थकाली समुदायको महान पर्व तोरन्ल शुक्रबारदेखि सुरु भएको छ । मुस्ताङको थाक सातसय क्षेत्र तथा त्यस आसपास बसोबास गर्ने सबै थकाली समुदायका नागरिकहरुले तोरन्ल पर्व औपचारिक रुपमा मनाउँन सुरु गरेका छन् ।
विगतमा मुस्ताङबाट विस्थापित भएर बेसीका विभिन्न स्थानमा बसोबास गर्ने थकाली र बैदेशिक रोजगारका क्रममा विदेश पलयान भएका थकालीहरुले पनि आजैदेखि आ—आफ्नो स्थानमा थकाली महान पर्व तोरन्ल पर्व हर्ष उत्साहका साथ मनाउन सुरु गरेका छन् ।
तोरन्ल पर्व थकाली समुदायहरुको बर्षको एकपटक आउँने महत्वपूर्ण पर्वको रुपमा लिने गरिएको छ ।त्यसो मुस्ताङमा मार्फाली थकाली समुदायले भने यसपर्वलाई तेरमी पर्वको रुपमा मनाउने प्रचलन छ । केही हप्ता अघि मुस्ताङमा बसोबास गर्ने थकाली समुदायले यस पर्वलाई त्युङ्ला पर्वको रुपमा मनाई सकेका छन् ।

बर्सेनि फागुपूर्णिमाको तिथिमा पर्ने थकालीहरुको ऐतिहाँसिक,धार्मिक र सांस्कृतिक परम्परा र मान्यता बोकेको यसप्रकार पर्वलाई तोरन्ल पर्व भनिएको हो । थकालीहरुको तोरन्ल पर्व दिवंगत भएका व्यक्तिहरुको नाममा पितृ पुजा,भूमी पुजा र परम्परागत तारा खेल खेलेर हर्ष उल्लासका साथ मनाउँने प्रचलन छ ।
देशभरका थकालीहरुले तोरन्ल पर्व मनाउँन सुरु गर्दैगर्दा यसवर्ष पनि मुस्ताङमा औपचारिक रुपमा तोरन्ल पर्व सुरु गरिएको हो । मुस्ताङको थाक सातसय क्षेत्रका विभिन्न गाउँमा थकाली समुदायले तोरन्ल पर्व सुरु गदैगर्दा मुस्ताङको जोमसोममा भने थकाली समुदायसंंगै गैर थकाली समुदायहरुले पनि हातेमालो गर्दै थकाली महान पर्व तोरन्लमा सामुहिक ऐक्येवद्धता जनाएका छन् । जोमसोममा थकाली ,गुरुङ,दलित र अन्य समुदायको बसोबास रहेकाले एकअर्काबीचको धार्मिक पर्वलाई सम्मान गर्दै तोरन्ल पर्वमा उत्साहजन रुपमा उपस्थिती जनाएका छन् ।
यसवर्ष जोमसोममा जोमसोम गाउँसभाज र थकाली समुदायले आपसमा सहकार्य गर्दै संयुक्त रुपमा तोरन्ल पर्व मनाउन थालेका हुन् ।
थकाली समुदायका नागरिकले तोरन्ल पर्वलाई महत्वपूर्ण पर्वको रुपमा ग्रहण गर्दै हर्षउल्लासका साथ मनाउने गरिएको गण्डकी प्रदेशका सभासद विकल शेरचनले उल्लेख गरे । ३ दिन सम्म मरेर गएका दिवंगत पितृहरुको सम्झना गर्दै पूर्णिमा तिथिको अघि र पछिल्लो दिनमा मध्यरातमा पितृ पुजा गरिने सभासद शेरचनको भनाई छ । पर्वको बेला बिहे गरेर गएका छोरी ज्वाई,भान्जाभान्जी र नजिकका आफन्तलाई बोलाएर मिठा मिठा खानेकुरा खुवाउने र आपसका सुख दुख आदान—प्रदान गर्ने प्रचलन रहेको सभासद शेरचनको भनाई छ । अन्य स्थानमा समुदाय भित्रकै व्यक्ति मिलेर पर्व मनाउने गरिएको भएपनि जोमसोममा भने थकालीसहित मिश्रित समुदायले पनि तोरन्ल पर्व मनाउने गरिएको सभासद शेरचनले सुनाए । जोमसोम पर्यटकी हब तथा जिल्लाको व्यापारिक केन्द्र रहेको र यहाँ बहुभाषी तथा बहुजातीको बसोबास रहेकाले धार्मिक पर्व र कर्महरुमा समन्वय र सहकार्य हुँने गरेको बताए ।
तोरन्ल पर्वको अवसरमा मुस्ताङको जोमसोममा तारो हान्ने खेलको धसा (काठको मुड्को ) स्थापना गरिएको छ । जोमसोम गाउँका मुखिय दिलिप भट्टचनको घरबाट जम्मा भएका थकाली तथा गैर थकाली समुदायका नागरिकहरुले तोरन्ल पर्वको थकाली गित गाउँदै तारोको धसालाई गाउँ परिक्रमा गराउँदै जोमसोम कभर्ड हल नजिकको तारा खेल स्थलमा धसा स्थापना गरिएको हो । धसा स्थापना गर्दा थकाली परम्परा अनुसार थकाली भाषामा गित गाउँदै धसालाई खाँदा,फूल ,धुपी,छ्याङ,रक्सी र चाखोपानी चढाएर तारो खेलका लागि धसा स्थापना गरिएको थियो ।
त्यस अवसरमा थकाली समुदायका पुरुष तथा महिलाहरुले झ्योङ्जी तोरन्ल ,झ्योन्जी तोरन्ल अर्थात आयो तोरन्ल ,आयो तोरन्ल भन्दै थकाली गीत गाएर सांस्कतिक पर्वको महत्वलाई उजागर गरेका थिए । तारो हान्ने खेलका धसा स्थापना गरेपछि सभासद शेरचनले तारा खेलको विधिवत उद्घाटन गरेका थिए ।
तोरन्ल पर्वमा पितृ पुजाका साथसाथै छोरी ज्वाईलाई माईतीघर बोलाउने प्रचलन रहेको थकाली समुदायकी स्थानीय रजनी शेरचनले बताईन् । पर्वमा ३ दिनसम्म पितृ पुजा हुँने र अन्नवाली सप्रियोस भनेर भूमी तथा प्रकृति पुजा गर्ने प्रचलन रहेको उनले उल्लेख गरिन् । पर्वमा पुरुषले तारो हाान्ने खेल खेल्ने र महिलाहरुले कौडा खेल खेलेर मनोरञ्जन लिने गरेको शेरचनको भनाई छ । उनले जोमसोममा थकाली र गैरथकाली मिलेर सामुहिक रुपमा तोरन्ल पर्व मनाउने प्रचलन रहेको र यसले धार्मिक सम्यता , संस्कृति र सामाजिक मान्यतालाई आत्मसाथ गर्ने गरिएको उनले जनाईन् ।
यसअघि मुस्ताङको जोमसोममा थकाली समुदाय १७ नं. क्षेत्रले तोरन्ल पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो । कार्यक्रममा विभिन्न वत्ताहरुले थकालीहरुमो धार्मिक,सांस्कृतिक र मौलिकताको विषयमा चर्चा गरेका थिए ।
थकाली समुदायले मनाउने तोरन्ल पर्वको पूर्वसन्ध्यामा यहाँका थकालीहरुले आफ्नो घरआगन सरसफाई र रंगरोगन गरी चिटिक्क सिंगार्ने, घरभित्रका भाडावर्तन धोई पखाली सफा गर्ने गरिन्छ । पर्व सुरु भएको ३ दिनसम्म मध्यरातमा उठेर स्नान गरी पितृहरुलाई खानेकुरा र प्रसाद चढाउने चलन छ । यसरी पितृ पुजा गर्दा पितृ खुसी भएर आफुले आटेताकेता कुराहरु सफल हुने जनविश्वास रहेको छ ।
तोरन्ल पर्वको बेला पुरुषहरुले खेल्ने तारो खेल पर्वको महत्वपूर्ण विशेषताको रुपमा लिने गरिन्छ । सदिंयौ वर्ष पहिले थकाली समुदायका अंग्रजहरुले आफ्नो आत्मरक्षा गर्न, सत्रुसंग भिड्न र जंगलमा शिकार खेल्दा प्रयोग गरिने धनुषवाणलाई पछिल्लो पुस्ताले तारो खेलका रुपमा अपनाउन थालेका हुन् । तारो खेलमा मैदानको दुबै भाग धसा स्थापन गरिन्छ ।धसामा तिर प्रहार गर्ने र धसामा तिर रोपिएपछि अंक प्राप्त हुन्छ । धसाको बीच भागमा फलामको सानो गोलाकार रिङ राखिएको हुन्छ । त्यस भित्र तिर रोपिएपछि खोल गएको भन्ने गरिन्छ । खोल हान्ने व्यक्तिलाई विशेष सम्मानसहित पुरस्कार पनि दिने गरिन्छ ।
मुस्ताङ तथा देशभर छरिएर रहेका थकालीहरुले तोरन्ल पर्वलाई जातिय पहिचानका रुपमा स्थापित गर्दैआईरहेको पाईन्छ । पर्वको जर्गेना गर्ने र लोपोन्मुख अवस्थामा रहेको तारो खेललाई संरक्षण संम्वद्धन र पुस्तान्तरण गर्दै थकाली समुदायहरुले यो पर्वलाई धार्मिक तथा सांस्कृतिक धरोहरका रुपमा लिने गरिएको छ । जोमसोममा तोरन्ल पर्व १५ दिनसम्म मनाउने प्रचलन छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली