एक्याप जोमसोमको कार्यक्रम बजेट दोब्बरले वृद्धि

जोमसोम ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोम मुस्ताङको चालु वर्षको लागि कार्यक्रम शिर्षकको पुँजिगत बजेट दोब्बरले वृद्धि भएको जनाएको छ ।। शुक्रबार यहाँ आयोजित  जिल्ला स्तरीय पत्रकारहरुसंग समन्वयात्मक बैठकमा एक्याप जोमसोमले गतवर्षको तुलनामा चालु वर्ष कार्यालयको कार्यक्रम पुँजिगत खर्च १ करोड ५३ लाख ९४ हजार अर्थात ५२ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

 आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समिक्षा तथा चालु वर्षको बजेट खाका र कार्यक्रमका बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकारसंगको समन्वयात्मक बैठकमा एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले चालु आर्थिक वर्षमा एक्यापको संस्थागत चालुखर्च तथा कार्यक्रमको पुँजिगत खर्च गरी कुल ४ करोड ५४ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । जसअन्तर्गत चालु वर्षका लागि कार्यालयको संस्थागत चालु खर्च १ करोड ३४ लाख र कार्यक्रम शिर्षकको पुँजिगत बजेट २ करोड ९२ लाख ६० हजार रहेको उहाँले बताउँनुभयो ।

गतवर्ष एक्याप जोमसोम कार्यालयका लागि ३ करोड १० लाख ९७ हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो । उहाँका अनुसार गतवर्ष कुल बजेट मध्ये १ करोड ३८ लाख ६६ हजार रुपैया बजेट विभिन्न शिर्षकको कार्यक्रममा विनियोजन भएको थियो । गतवर्ष एक्याप जोमसोमको कार्यप्रगती ९६।१७ प्रतिशत पुगेको उहाँको भनाई छ ।

एक्याप जोमसोमका अनुसार चालु आर्थिक वर्षमा प्रजाती संरक्षणतर्फ ४६ लाख एक हजार ५ सय,संरक्षित क्षेत्र र पारिस्थितिक प्रणालीतर्फ ७९ लाख ३४ हजार २७९,संरक्षण अर्थशास्त्रतर्फ ९६ लाख ५१ हजार, जलवायु परिवर्तनतर्फ ४७ लाख ४० हजार,शिक्षा अनुसन्धान तथा ज्ञान व्यवस्थापनतर्फ १७ लाख ३१ हजार ५ सय र विविधतर्फको सुशासन तथा लैङ्गिक लगायततर्फ ६ लाख २ हजार बजेट विनियोजन भएको हो । एक्याप जोमसोम कार्यालयका लागि कुल बजेट मध्ये ६५ प्रतिशत कार्यक्रम र ३५ प्रतिशत बजेट संस्थागत चालु खर्चतर्फ विनियोजन भएको कार्यालय प्रमुख गुप्तले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

यहाँ एक्याप कार्यालयका लागि विनियोजन भएको ६ वटा शिर्षकमा कार्यक्रम तय भएको छ । एक्याप जोमसोमका अनुसार यहाँ प्रजाती संरक्षणतर्फ ६ वटा कार्यक्रम,संरक्षण क्षेत्र र पारिस्थितीक प्रणालीतर्फ ७ वटा,संरक्षण अर्थ शास्त्रतफए ८ वटा,जलवायु परिवर्तनतर्फ ५ वटा,शिक्षा अनुसन्धान तथा ज्ञान व्यवस्थापनतर्फ १० वटा र विविध सुशासन तथा लैङिगक लगायतमा सार्वजनिक सुनुवाई र महिला लक्षित कार्यक्रम संञ्चालन हुनेछन् । कार्यालय प्रमुख गुप्तले विभिन्न ६ शिर्षकका थुप्रै उपशिर्षकका कार्यक्रमहरु चालुवर्ष सञ्चालन हुने बताउँनुभयो ।

पत्रकार समन्वयात्मक बैठकमा कार्यालय प्रमुख गुप्तले यहाँ एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत यहाँको जैविक विविधता,पर्यटन प्रर्वद्धन र विकास र स्थानीयको जिविकोपार्जन सुधारमा जोड दिईएको बताउँनुभयो । यहाँका ९ वटा संरक्षण व्यवस्थापन समिति मार्फत सबै कार्यक्रम कार्यान्वयन लैजाने बताउँनुभयो ।

 एक्यापले चालु वर्ष यहाँको फोहोर मैला व्यवस्थापनका लागि ३२ लाख ५० हजार बजेट विनियोजन गरेको जनाएको छ । यहाँको तीन स्थानमा फोहोर संकलन केन्द्र स्थापनाका लागि ६ लाख,थासाङको कुञ्जोमा फलामे डस्मिन राख्न एक लाख, फोहोर मैला ढुवानीमा तीन लाख, लेते आमा समुहको लागि फोहोर व्यवस्थापन सामाग्री खरिद पाँच लाख र कागबेनीमा फोहोर राख्ने बोरा खरिदमा दुई लाख पचास हजार बजेट विनियोजन गरिएको छ ।

एक्याप जोमसोमले आफ्नो कार्यक्षेत्र भित्र पर्ने विभिन्न ८ स्थानमा फोहोर संकलन केन्द्र स्थापना गरेको थियो । गत वर्ष फोहोर संकलन केन्द्रमा जम्मा भएका  १० टन फोहोर ट्रक मार्फत ढुवानी गरी पोखरा स्थित ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रशोधन केन्द्रमा पठाईएको थियो । एक्यापले यहाँ जलवायु परिवर्तन न्यूनिकरणका लागि फोहोर मैला व्यवस्थापन ,प्राकृतिक स्रोतहरुको संरक्षण,पर्यटन प्रर्वद्धन , जैविक विविधता,शिक्षा ,कृषि र वातावरण संरक्षणमा जोड दिदैआईरहेको छ ।


प्रतिक्रिया