मुस्ताङको झोङ खोलामा पुल बनाउन ९ करोड १२ लाख स्रोत सुनिश्चित

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ को झोङ खोलामा पक्की मोटरेबल पुल निर्माण हुने पक्का भएको छ । गण्डकी प्रदेस सरकार अन्तर्गत आर्थिक मामिला मन्त्रालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको (झोङ—छेङ्गुर) जोड्ने पुलका लागि लागत बजेटको स्रोत सुनिश्चित गरेसंगै  झोङ—छेङ्गुर मोटरेबल पुलको योजना अघि बढ्ने भएको हो ।

यसअघि गण्डकी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले (झोङ—छेङ्गुर) मोटरेबल पुलको डीपीआर सर्वे गरेको थियो । पालिकाले गरेको डीपीआर प्रतिवेदन अनुसार पुल निर्माणका लागि ९ करोड १२ लाख लागत स्टमेट गरिएको थियो । पूर्वाधार विकास कार्यालयले पालिकाले पेश गरेको डीपीआर अनुसार (झोङ—छेङ्गुर) पुल निर्माणका लागि वहुवर्षीय ठेक्काको स्रोत सुनिश्चित गराउन भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीलाई प्रस्ताव  पेश गरेको थियो । सोही प्रस्ताव अनुसार आर्थिक मामिला मन्त्रालयले वहुर्षीय ठेक्का लगाउने गरी १३ फागुनमा (झोङ—छेङ्गुर) पुलको स्रोत सुनिश्चित गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिनुभयो ।

पुलका लागि चालु वर्ष पहिलो फ्रेजमा १ करोड २५ लाख बजेट विनियोजन भएको कार्यालय प्रमुख श्रेष्ठले बताउँनुभयो । ‘ दश करोड भन्दा कमको वहुर्षीय योजनालाई कम्तिमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने प्रावधान छ ,हामीले  त्यस अनुसारको बजेट विनियोजन भएको छैन,’ कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो,‘ प्रावधान अनुसारको अपुग बजेट फेरी प्रदेशमा माग गर्नेछौं । लागतको २० प्रतिशत प्रावधान अनुसार १ करोड ८३ लाख बजेट चालु वर्ष विनियोजन हुनुपर्ने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।

 मुस्ताङको वारागुङ स्थित झोङ खोलामा पुल निर्माणको लागि स्रोत सुुनिश्चित भईसकेकाले आगामी चैत्रमा कार्यालयले ठेक्का आहवानको प्रक्रिया अघि बढाउने उहाँले बताउँनुभयो । ‘चालु वर्षमा पुलको ठेक्का सम्झौता हुने र त्यसपछि जेठ वा असार महिनामा पुल निर्माणको काम सुरु हुने कार्यालय प्रमुख श्रेष्ठले जनाउनुभयो । 

मुस्ताङ स्थित (झोङ—छेङ्गुर) मोटरेबल पुल योजना अन्तर्गत ३० मिटर लामो र ७ दशमलव २ से.मी. चौडा स्टिल प्लेट गार्डर माथि ढलानसहितको डिजाईनमा पुल निर्माण हुने पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले जानकारी दिनुभयो ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको रिङरोड समेत रहेको कागबेनी—झोङ, छेङ्गुर र मुक्तिनाथ धाम जोड्ने सडकअन्तर्गत झोङ खोलामा पुल नहुँदा बर्खायाममा त्यहाँका स्थानीय नागरिकहरुलाई निकै सास्ती पर्दआईरहेको छ ।  मुस्ताङको कागबेनीदेखि माथि खिङ्गा,झारकोट रानीपौवासम्मको १३ कि.मी. दुरी कालोपत्रे सडक छ ।

तर   झोङ—छेङ्गुर गाउँ जोड्ने सडक कच्ची सडक हो । मुक्तिनाथ धाम नजिकै भएर पनि निकैनै ओझेलमा पर्दैआईरहेको झोङ—छेङ्गुर गाउँका स्थानीयले झोङ खोलामा पुल बनेपछि निकै राहत हुने देखिन्छ । त्यस क्षेत्रका स्थानीयलाई पुल बनेमा कृषि उपजको सहज बजारिकणका साथै बाह्रै महिना जोमसोम—कागबेनी आउजाउ गर्न निकै सहज हुनेछ ।


प्रतिक्रिया