मुस्ताङमा तीन महिनामा त्रिचालिस हजार पर्यटक भित्रिए

 तीन महिनामा त्रिचालिस हजार ६५ जना विदेशी पर्यटक हिमाली जिल्ला मुस्ताङ भित्रिएका छन् । सन् २०२६ को जनवरी देखि मार्च तारिखसम्म उक्त संख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष,अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२६ को जनवरीदेखि मार्च सम्म सार्क राष्ट्रबाट सैतिस हजार ९८९ जना र अन्य मुलुकबाट पाँच हजार ६७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

सन् २०२६ को जनवरीमा सार्कतर्फ दश हजार ४५ र अन्य मुलुकबाट सात सय ७७, फ्रेब्रअरीमा सार्कतर्फ सात हजार ४६४ र अन्य मुलुकबाट एक हजार ५४८ र मार्च  महिनामा  सार्कतर्फ बिस हजार ४८० र अन्य मुलुकबाट  दुई हजार ७४२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यसअघि सन् २०२५ को जनवरी,फ्रेब्रअरी र मार्च महिनामा कुल अठ्ठाईस हजार ७४४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । उक्त समयको तीन महिनमा सार्कतर्फ चौबिस हजार ८४७ जना र अन्य मुलुकबाट तीन हजार ८९७ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।

 सन् २०२५ को जनवरीदेखि मार्चसम्मको पर्यटक संख्यालाई तुलना गर्दा सन् २०२६ को जनवरीदेखि मार्च महिनासम्ममा  चौध हजार ३१२ जना अर्थात (३३.२१) प्रतिशत पर्यटक वृद्धि भएको एक्याप प्रमुख राजेश गुप्ताको भनाई छ ।

 यसैगरी सन् २०२५ को तीन महिनाको तुलनामा सन् २०२६ को जनवरीदेखि मार्च महिनामा सार्क राष्ट्रतर्फ तेह्र हजार १४२ जना अर्थात (३४.५९) प्रतिशत र अन्य राष्ट्रतर्फ एक हजार १७० जना अर्थात (२३.०९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको एक्याप प्रमुख गुप्तले बताउँनुभयो ।

मुस्ताङमा बर्सेनि विदेशी पर्यटकको आगमन संख्या वृद्धि हुँदै जान थालेको छ । यसअघि सन् २०२४ को बाह्र महिना अवधिमा एक लाख ३५ हजार७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ मा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्यांकमा उल्लेख छ । सन् २०२४ को भन्दा सन् २०२५ को बाह्र महिना अवधिमा पच्चिस हजार ४०३ जना विदेशी पयटकको संख्या वृद्धि भएको थियो । उक्त संख्या (१८.७१) प्रतिशतले वृद्धि भएको थियो ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । राष्ट्रिय गौरवको बेनी—जोमसोम कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि मुस्ताङको पर्यटक आगमन संख्या अपेक्षाकृत रुपमा वृद्धि भएको पाईएको छ । यसैगरी पोखरा—जोमसोम हवाई मार्ग तथा मनाङ हुँदै राउण्ड अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकहरु मुस्ताङ भित्रिने गरेका हुन्छन् ।

प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ दर्शन गर्न सार्क राष्ट्रबाट आउने मध्ये ९० प्रतिशत बढी भारतीय पर्यटक रहेको एक्याप प्रमुख गुप्तको भनाई छ । यहाँको पृथक भूगोल, जैविक विविधता, प्राकृतिक सौन्दर्यता, धर्मसंस्कृति रहनसहन र धार्मिक बुद्धिस गुम्बा तथा माने छोर्तेन लगायत यहाँ अवस्थित तालतलैया र मानव निर्मित गुफाहरुको आकर्षकका कारण मुस्ताङमा विदेशी पर्यटकको उपस्थिती बर्सेनि वृद्धि भईरहेको हो ।


प्रतिक्रिया