मुस्ताङका ५ पालिकामा ३२५ होटल

जोमसोम—बर्सेनि ५ लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिने गरेको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ । मुस्ताङ प्रहरीको तथ्यांकमा गतवर्ष मात्रै ३ लाख ५४ हजार ९२७ आन्तरिक र ९९ हजार ३९९ जना सार्क तथा तेस्रो मुलुकका विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) निर्माणधिन सडक सहज हुँदै जान थालेपछि मुस्ताङमा बर्सेनि पर्यटक आवागमन वृद्धि भईरहेको पाईएको छ । राष्ट्रिय गौरवको सडक अन्तर्गत म्याग्दी र मुस्ताङको प्रवेशद्वार घाँसादेखि मुक्तिनाथसम्मको सडकमा करिव ९० प्रतिशत कालोपत्रे भईसकेको छ । कागबेनीदेखि उत्तरी कोरलानाकासम्मको सडकमा ग्राभेल विस्तार भईसकेको छ । राष्ट्रिय गौरवको कोरला सडकखण्डको ठाउँठाउमा पक्की पुल निर्माण निर्माण भईसकेको छ । हिमाली जिल्ला मुस्ताङ प्रवेश गर्ने सडक समृद्ध बन्दै जान थालेका मुस्ताङ घुम्ने पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ । त्यसो त पर्यटकीय सिजनमा पोखरा—जोमसोम हवाई सेवा उपलब्ध हुने भएकाले पनि मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि यहाँसम्म आईपुग्न कुनै कठिनाई छैन ।
 राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुले  मुस्ताङ जिल्लालाई घुम्नै पर्ने सूचिकृत गरेको र सामाजिक संञ्जाल फेसबुक,टिकटक  आदी मार्फत पर्यटकले पोस्ट गरेको भिडियोबाट पनि मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पुगेको हो । त्यसो त मुस्ताङमा दर्जनौ स्वदेशी तथा विदेशी चलचित्र,डकुमेन्ट्री लगायत विभिन्न श्रव्यदृष्य सामाग्री प्रशारण हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको ध्यान मुस्ताङतर्फ मोडिएको हो ।
 प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर,प्रसिद्ध श्राद्धस्थल कागबेनीधाम, दामोदरकुण्ड,प्राचिन तिब्बतीयन कलासंस्कृति झल्किने ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक सम्पदा,जैविक विविधता ,पृथक भूगोल ,कालिगण्डकी नदीको मनमोहक भूगोल , हिमाली दृष्यावलोकन , तालतलैया र गुफाहरु अवस्थित भएका समेत मुस्ताङ जिल्लामा पर्यटकका लागि घुमफिरको केन्द्र बनेको हो । हिमाली सम्यता,संस्कृति रहनसहन ,भेषभुषा र मौलिकतासंगै यहाँको लोभलाग्दो स्याउ बगान लगायतका कारण मुस्ताङ अन्य जिल्ला भन्दा विशेष खास महत्व बोकेको जिल्लाको रुपमा लिने गरिन्छ । 
 राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग,तिलिचो पदमार्ग र धौलागिरी हिमालआरोह र यहाँका एकआपसमा जोडिएका गुजमुच्च प्राचिन ढुंगा र माटोले निर्मित घरहरु लगायत कारण पर्यटकको ध्यान मुस्ताङतर्फ पर्न थालेको हो । विभिन्न खोज अनुसन्धान  र हिमाली सौन्दर्यतामा रमाउन मुस्ताङ निकै महत्वपूर्ण स्थानमा पर्छ ।
 मुस्ताङसम्म आउने सडक यातायात सहज बन्दै जान थालेपछि यहाँ पर्यटक लक्षित होटलहरु पनि थपिदै जान थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङको विवरण अनुसार जोमसोममा अवस्थित  लक्जरीयस मोडलको सिन्तामणी रिसोर्टसहित ३२५ वटा होटल संञ्चालनमा रहेको छ । सिन्तामणी रिसोर्ट मुस्ताङ जिल्लाकै सबैभन्दा महंगो रिसोर्ट हो ।
 जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार मुस्ताङका ५ स्थानीय तहमा संञ्चालित ३२५ वटा होटलहरु संञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार मुस्ताङको सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकामा १६३ वटा,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ६३ वटा,लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३० वटा, लोमान्थाङ गाउँपालिकामा २० वटा र थासाङ गाउँपालिकामा ४९ वटा होटलहरु संञ्चालनमा रहेको छ । प्रहरी स्रोतको तथ्यांकमा सबैभन्दा धेरै घरपझोङ र सबैभन्दा कम होटल लोघेकर दामोदरकुण्डमा रहेको देखिन्छ ।
 मुस्ताङका प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार मुस्ताङमा संञ्चालित होटलहरुले एकैसाथ पर्यटक व्यवस्थापन गर्नपरे ७ हजारसम्म क्षमता रहेको उल्लेख गरे । सिजनेबल समयमा मुस्ताङ आउने सडक अवरुद्ध हुदा एकै साथ पर्यटक आउदा यहाँका होटलहरुले पर्यटक व्यवस्थापन गर्न समस्या पर्ने उल्लेख गरे ।
 मुस्ताङमा संञ्चालित अधिकाँश होटलहरु घरधनी आफैले संञ्चालन गरेका छन् । केहीले भने घर भाडामा लिएर होटल संञ्चालन गरेको प्रहरी नायव उपरीक्षक बोगटीको भनाई छ । मुस्ताङमा बर्सेनि अनुकुल मौसममा पर्यटकको चाप बढ्दा यहाँको होटलको क्षमताले थेग्न नसक्ने कतिपयको बुझाई छ । सडकमार्गमा घर भएकाहरु आफैले होटल चलाएको र नया होटल संञ्चालन गर्न चाहने व्यक्तिलाई आवश्यक स्थानमा जग्गा व्यवस्थापन नहुदा नयाँ होटल खोल्न समेत अप्ठ्यारो छ ।

 मुस्ताङमा कुल भुगोलको १ प्रतिशत पनि नापी नभएको र नापी नभएको सार्वजनिक स्थानीय तहले लिजमा दिन पाउने प्रावधान सुनिश्चित नहुदा नयाँ होटलको संरचना निर्माणमा बाधा परेको हो । पछिल्लो समय मुस्ताङका कतिपयले स्याउ बगैचा मासेर होटलको भौतिक संरचना निर्माण गरिसकेका छन् । स्याउ खेती भन्दा पर्यटक लक्षित होटलबाट मनग्ये आम्दानी हुने भएकाले यहाँका स्थानीय नागरिकहरुले स्याउ खेती मासेर होटल घर बनाउन थालेका हुन ।


प्रतिक्रिया