अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा मुस्ताङको थासाङ गाउँपालिकाको नागरिक आरोग्य केन्द्रद्वारा आयोजित तीन दिने योग शिविर शुक्रबार सकिएको छ । योग शिविर तथा स्वस्थ जीवनशैली“ कार्यक्रम उत्साहजक रुपमा सम्पन्न भएको हो ।
“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी“ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको योग शिविर गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनको उपस्थितीमा गरिएको थियो । योग शिविरलाई प्रदेश आयुर्वेद चिकित्सालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का वरिष्ठ कविराज निरीक्षक एवं योग प्रशिक्षक गोकुल पराजुलीले मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। तीन दिनसम्म चलेको शिविरमा पराजुलीले सहभागीहरूलाई योगका विभिन्न आसन, प्राणायाम, ध्यान र आयुर्वेदमा आधारित खानपान एवं जीवनशैलीका बारेमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्नुभयो।
शिविरमा स्थानीय जनप्रतिनिधि र कर्मचारीका साथै विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले दैनिक कार्यव्यस्तताका बीच योगले मानसिक शान्ति र शारीरिक स्फूर्ति प्रदान गर्न ठूलो मद्दत पुगेको अनुभव सुनाएका थिए।
शिविरको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष प्रदिप गौचनले नागरिकको स्वास्थ्य नै गाउँपालिकाको वास्तविक विकासको आधार भएको बताउनुभयो। नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख महेश कुमार यादवले कार्यक्रमलाई सफल बनाउन विशेष योगदान दिनुहुने प्रशिक्षक पराजुली, गरिमामय उपस्थितिका लागि निमित्त प्रमुख आचार्य, जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू, कर्मचारीहरू र स्थानीयबासीहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
शिविरमा सिकेका योग र स्वस्थ जीवनशैलीका मन्त्रहरूलाई आफ्नो दैनिक दिनचर्याको अभिन्न हिस्सा बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ । यस अभियानले थासाङ क्षेत्रमा आरोग्य र स्वास्थ्यप्रतिको सचेतनालाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता