साहसिक तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ,७, असार ।

समून्द्री सतहको चार हजार ९१९ मिटरको उच्च उचाईमा अवस्थित तिलिचो ताल भक्ति यात्रा २०८३ आईतबार समापन भएको छ ।धार्मिक तथा आध्यामिक उद्देश्यले श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको संकल्पमा आयोजना गरिएको ऐतिहाँसिक तिलिचो भक्ति यात्रा सफलतापूर्वक सम्पन्न भएको हो ।

मनाङ जिल्लामा अवस्थित विश्वकै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले तिलिचो भक्ति यात्रा आयोजना गरिएको थियो । शनिबार बिहान तिलिचो प्रस्थान गरेको भक्ति यात्रा टोलीले सफलतापूर्वक यात्रा पुरा गरी आईतबार साँझ गन्तब्यमा फर्किएको हो ।

 विभिन्न स्थानबाट सहभागी भक्ति यात्रामा सहभागी भक्तजनहरुले मुस्ताङको जोमसोम,ठिनी हुँदै तिलिचो तालको भक्ति यात्रा तय गरेको थियो ।  मुस्ताङ हुँदै तिलिचो पदमार्गमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली क्षेत्रको  अवलोकन गर्दै भक्ति यात्रा टोली धार्मिक तथा सांंस्कृतिक गतिविधिमा सहभागी भएका थिए ।

 यात्रा क्रममा १००८ स्वामी ऋषि प्रपन्नाचार्यसहित सहभागीहरु भक्ति यात्रा टोलीले विश्वकै उच्च उचाईमा अवस्थित तिलिचो तालमा वाल्मीकीय रामायण पाठ परायण तीर्थ पुजा आराधना,भजन कीर्तन तथा सत्सङ्ग कार्यक्रम संञ्चालन गरेका यात्रामा सहभागी गुरु ईश्वर रेग्मीले जानकारी दिनुभयो ।

 भक्तजनहरुबीचको धार्मिक आस्था,आपसी सद्भाव तथा आध्यामिक चेतनाको विकास गर्न भक्ति यात्राले महत्वपूर्ण योगदान पु¥याएको गुरु रेग्मीले उल्लेख गर्नुभयो । उच्च हिमाली क्षेत्रमा सम्पन्न भक्ति यात्रामा सहभागीहरुले अनुशासित र सुरक्षित रुपमा साहसिक यात्रा पुरा गरेका हुन् ।

 यसअघि तिलिचो भक्ति यात्राका लागि मुस्ताङ आएको टोली मुस्ताङको घरपझोङ गाउँपालिका यात्रा सम्वन्धि अन्तरक्रिया गरेको थियो । टोलीले तिलिचो भक्ति यात्रा पुरा गरेसंगै व्यवस्थापनका लागि सहयोग पु¥याएकोप्रति घरपझोङ गाउँपालिका,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय र लगायत सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गरेको छ ।

 यात्रा टोलीले यसप्रकारको धार्मिक तथा आध्यात्मिक यात्रा आगामी वर्षहरुमा पनि निरन्तरता दिदै जाने उल्लेख गरेको छ । यात्राका लागि तिलिचो पुगेको भक्तजनसहितको टोलीले सुख,शान्ति र समृद्धिको कामना गरेको गुरु ईश्वर रेग्मीले जानकारी दिनुभयो ।

 पौराणिक कालमा काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनी धाममा स्नान गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यसैका कारण विश्वकै उच्च उचाईमा रहेको तिलिचो ताल पर्यटकीय गन्तब्य मात्रै नभई आध्यामिक पर्यटकीय गन्तब्यको रुपमा अघि बढाउनु पर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया