हिमालपारी चालकसंग १ मिनेट ,यात्रुसंग २ मिनेट



जोमसोम—मुस्ताङमा जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रहरी र  ट्राफिक प्रहरी समन्वयमा चालकसंग १ मिनेट र यात्रुसंग २ मिनेट कार्यक्रमलाई निरन्तरता दिदैआईरहेको छ । हिमालपारी यात्रा गर्ने सवारी तथा यात्रुवर्गको स्वास्थ्य सुरक्षाका लागि मुस्ताङ प्रहरीले यसप्रकारको अभियान सञ्चालन गरेको हो ।

 हिमाली जिल्ला मुस्ताङमा आवतजावत गर्ने सवारी साधनका चालकहरुलाई संम्भावित सवारी जोखिम न्यूनिकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले चालकसंग १ मिनेट कार्यक्रम सञ्चालन गरेको हो । योसंगै ट्राफिक प्रहरी तथा सुरक्षा निकायको टोलीले हिमाली जिल्ला मुस्ताङको उच्चस्थानमा यात्रा गर्दै गरेका यात्रुहरुलाई लक्षित गरी हाईअल्टिच्युड सचेतना कार्यक्रम अन्तर्गत यात्रुसंग २ मिनेटको कार्यक्रम सञ्चालन गर्दैआईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।

मुस्ताङमा हिउँदयामको चिसो ह्वात्तै बढेसंगै जिल्ला सुरक्षा समिति,स्थानीय निकाय ,स्वास्थ्य कार्यालय, एक्याप र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गत कार्तिक २५ गतेबाट यसप्रकारको सवारी तथा यात्रु लक्षित सचेतनामूलक कार्यक्रम अभियानको शुभारम्भ गरेको थियो । अभियान म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको परिसरमा आयोजना गरिएको थियो ।यसप्रकारको अभियानलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ट्राफिक प्रहरी कार्यालय मुस्ताङले अझै निरन्तरता दिईरहेको प्रहरी नायव उपरीक्षक बोगटीले उल्लेख गरे ।


मुस्ताङमा ट्राफिक प्रहरीको चालकसंग १ मिनेट कार्यक्रम अन्तर्गत राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडक हुँदै मुस्ताङ प्रवेश गर्ने सवारी साधन तथा चालकलाई प्रहरी चौकी घाँसा र जोमसोम स्थित ट्राफिक प्रहरी कार्यालय अगाडीको सडकमा रोकेर सचेतनामूलक जानकारी दिने गरिएको छ ।

‘सुरक्षित यात्रा,जिवनको रक्षा’ नारासहित सञ्चालन भईरहेको यसप्रकारको अभियानमा मुस्ताङमा सवारी दुर्घटना न्यूनिकरण गर्न चालकलाई सवारी रोकेर ओभर स्पीड कन्ट्रोल, ओभरटेक,सडकको अवस्था, सवारी चेकजाँच र जथाभावी पार्किङ लगायत विभिन्न विषयहरुमा सचेतना दिदैआईरहेको छ । अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले दैनिक चालक र सहचालकलाई सवारी साधन रोकेर १मिनेट सवारी चेकजाँच र सवारीको नियमित अनुगमन गरिरहेको छ । मुस्ताङमा ट्राफिक प्रहरीको चालकसंग १ मिनेटको अभियानले सम्भावित सवारी दुर्घटना तथा त्यसबाट हुने जोखिमलाई न्यूनिकरण गर्न ठुलो टेवा पुगेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गरे । उनले सडकमार्ग सहज भएसगै सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले यसप्रकारको अभियान निरन्तर कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।


यसैगरी मुस्ताङ ट्राफिक प्रहरी तथा सुरक्षा निकायले मुस्ताङ प्रवेश गरेका सवारी साधनलाई रोकेर हाईल्टिच्युड स्वास्थ्य सुरक्षा सचेतना अभियान चलाएको हो । यात्रुसंग २ मिनेटको कार्यक्रममा ट्राफिक तथा सुरक्षा निकायले सवारी रोकेर यात्रुलाई हाईअल्टिच्युड सम्वन्धि आवश्यक प्रशिक्षण दिने गरिएको हो । मुस्ताङको उच्चस्थानमा यात्रा गर्ने यात्रुहरुले आवश्यक स्वास्थ्य सुरक्षा रणनीति अपनाउन नसक्दा बर्सेनि २ दर्जन बढीले हाईअल्टिच्युडका कारण ज्यान गुमाउन परेको प्रहरीको तथ्यांकमा उल्लेख छ । बेंसीको समथरीलो स्थानबाट समुन्द्रीसतहको ३८ सय मिटरको उच्च स्थानमा कुनै पनि स्थानमा बिश्राम नगरी हतारहतारमा यात्रा गर्ने गर्दा  मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा तीर्थालुहरुलाई यसप्रकारको समस्या देखिने गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको भनाई छ । उनले मुस्ताङ यात्रा गर्दै गरेका उमेर कटेका ज्येष्ठ नागरिक,शारिरीक रुपमा अशक्त,नियमित औषधि सेवन गर्ने गरेका र दीर्घ रोगका बिरामी पर्यटकलाई यस्तो समस्या देखिने गरेको अध्यक्ष लालचनले बताए ।

यात्रुसंग २ मिनेट कार्यक्रममा ट्राफिक प्रहरी तथा सुरक्षा निकायले  हाईअल्टिच्युड सम्वन्धि जानकारी तथा यसबाट सुरक्षा रहने उपाय र हाईअल्टिच्युडको समस्या देखिएमा त्यसबाट जोगिने लगायतका विविध जानकारी दिने गरिएको छ । स्वास्थ्य कार्यालय मुस्ताङले हाईअल्टिच्युडको समस्याबाट सुरक्षित रहने सचेतनामूलक पर्चापम्प्लेट समेत छपाई गरी सरोकाररवाला निकायलाई उपलब्ध गराएको छ ।

मुस्ताङमा आर्थिक वर्ष २०७८÷०७९ देखि  २०८१÷०८२ को हालसम्म हाईअल्टिच्युडका कारण ३७ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जसमध्ये पछिल्लो ३ आर्थिक वर्षमा २८ जना विदेशी र ९ जना  स्वदेशी पर्यटकले हाईअल्टिच्युड समस्याका कारण ज्यान गुमाउन परेको हो ।

यस्तै, आर्थिक वर्ष २०७८÷०७९ देखि हालसम्म मुस्ताङमा ९१ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा ९१ जना सवारी दुर्घटनाबाट घाईते भएका थिए भने  ८ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया