नेपाल र भारतका उर्जामन्त्रीले गरे मुक्तिनाथमा पुजाअर्चना

जोमसोम—   भारतीय विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्नु भएको छ । भारतीय मन्त्री खट्टरसहित १६ जनाको टोलीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको पुजाअर्चना गर्नु भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालका अनुसार भारतीय विद्युत तथा आवासमन्त्री खट्टरसहित नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव र  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायत १६ जनाको टोलीले मुक्तिनाथमा दर्शनसहित पुजाअर्चना गर्नुभएको हो । नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमान्डौंबाट बिहान करिव ८ बजे मुक्तिनाथ क्षेत्रमा अवतरण गरेपछि नेपाल र भारतका उर्जामन्त्रीसहितको टोलीले संयुक्त रुपमा मुक्तिनाथ मन्दिरमा स्नान तथा अर्चना गरेर केही समय मुक्तिनाथका अतिविशिष्ट कक्षमा विश्राम गर्नुभएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो ।

अति विशिष्ट कक्षको विश्राम अवधिमा भारतीय दुतावासले निर्माण गरेको मुक्तिनाथ भारतीय धर्मशाल प्रयोगविहिन र भग्नावेश रहेकोप्रति दुःख व्यक्त गर्नु भएको छ । भारती मन्त्री तथा राजदुत श्रीवास्तवले मुक्तिनाथमा भक्तजन लक्षित धर्मशाला सञ्चालन गर्नुपर्ने र थप आवश्यक पूर्वाधार निर्माण गर्नुपरेमा भारत सरकार सकारात्मक रहेको जनाउँनुभएको प्रजिअ भुसालले उदृत गर्नुृभयो ।

छिमेकी देश भारतका बिद्युतमन्त्री र नेपालका उर्जामन्त्रीबिचको मन्त्रीस्तरीय रुपमा योनै पहिलो पटक मुक्तिनाथ मन्दिरमा दर्शन भएको हो । यसअघि भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले समेत मुक्तिनाथ मन्दिरको दर्शन गरिसकेका छन् ।

 केवल मुक्तिनाथ दर्शन र त्यसक्षेत्रको अवलोकनका लागि आउनु भएका भारती मन्त्री तथ राजदुतसहित नेपाल सरकारका मन्त्रीहरुलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टिका र आर्शिवाद प्रदान गर्नुभएको थियो ।

 भारतीय अधिकारी तथा नेपाल सरकारको संयुक्त टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालसहित  जिल्ला स्थित सुरक्षा निकायको टोलीले मुक्तिनाथमा स्वागत गरेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले मुक्तिनाथ क्षेत्रको बिषयमा जानकारी दिनुभएको थियो ।


प्रतिक्रिया