चीन जोड्ने कोरला सडकमा ६ अर्व ८३ करोड खर्च


जोमसोम— राष्ट्रिय गौरवको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनामा हालसम्म ६ अर्व ८३ करोड वित्तिय खर्च भएको छ । आर्थिक वर्ष २०७३/०७४ सालदेखि उत्तरी छिमेकी देश चीन जोड्ने निर्माणधिन (बेनी—जोमसोम—कोरला) सडकको कुल ३७ वटा योजनामा उक्त बजेट खर्च भईसकेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गोरवको कोरला सडक राजमार्ग अन्तर्गत कुल ३७ वटा सडक तथा पुलपुलेसाका लागि विभन्न चरणमा १० अर्व ८८ करोड लागत स्टमेट गरिएको थियो । जसअन्तर्गत विभिन्न निर्माण कम्पनीहरुसंग ३७ वटा योजनाका लागि ७ अर्व ३५ करोड ५१ लाख लागतमा ठेक्का सम्झौता भएको थियो । आयोजना सुरु भएको ६ वर्षमा कुल ठेक्का सम्झौता रकमको  ७५ प्रतिशत वित्तिय खर्च भएको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बिष्णु चापागाईले जानकारी दिए ।

तत्कालिन सरकारले भारतीय नाकाबन्दीपछि २०७३÷०७४ सालमा उत्तरी चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना सुरु गरिएको थियो । सुरुवाती चरणमा कोरला सडक अन्तर्गत बेनी—जोमसोम ७६ किमी   कालोपत्रे सडक ४ खण्ड र जोमसोम—कोरला ११० किमी ग्राभेल सडक ७ खण्डमा सडक स्तरोन्नति सुरु गरेको छ । जसका लागि झन्डै ६ अर्व बजेट विनियोजन भएको थियो । आयोजना सुरुदेखि हालसम्म कोरला सडक अन्तर्गत ३७ वटा योजनाको पूर्वाधार कार्यान्वयनमा आएको हो ।

आयोजना अन्तर्गत हालसम्म २१ वटा पुलपुलेसा, ८ वटा सडक कालोपत्रे, ७ वटा ग्राभेल सडक र १ वटा कन्टक्सन अफ फेन्सिङ एट मार्फा गरी ३७ वटा योजना कार्यान्वयनमा आएको आयोजनाका सूचना अधिकारी चापागाईले बताए । उनका अनुसार आयोजना अन्तर्गत ठेक्का सम्झौता भई कार्यान्वयनमा आईसकेको मुस्ताङको कार्इंको खोला पुल र लार्जुङ खोला पुलको ठेक्का निर्माण कम्पनीसंग तोडिसकेको छ । यसैगरी प्राकृतिक विपद्का कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ रुप्से खोला पुल र मुस्ताङको खहरे खोला पुल निर्माणधिन अवस्थामा बाढीले क्षतिग्रष्त तुल्याएको थियो ।

 कोरला सडक अन्तर्गतका २१ पुल पुलेसा मध्ये मुस्ताङको स्याङ खोला पुल,लुप्रा—पान्डा खोला पुल र उपल्लो मुस्ताङमा निर्माणधिन लोमान्थाङ,किम्लिङ,नाम्डोक र भर्मा खोला पुल निर्माण सम्पन्न भईसकेका छन् । यसैगरी म्याग्दीको राहुघाट खोला पुल ,म्याग्दीको बेनीमा १ बेलिब्रिज र म्याग्दी दानाको खट्टे खोला पुल निर्माण सम्पन्न भईसकेको आयोजनाले उल्लेख गरेको छ ।

आयोजनाको म्याग्दी बेग खोलामा निर्माणधिन पुल,छात्ताङ खोला पुल र नरसिंह खोलामा निर्माणधिन पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजनाका सूचना अधिकारी चापागाईले बताए । गत साउन २८ गतेको बाढीले क्षति भएको कागबेनी पुलमा अर्को पुल निर्माण गर्न डिजाईन रिभ्युको अध्ययन भईरहेको बताईएको छ ।

 राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत ८ वटा सडक कालोपत्रे योजना संञ्चालन भएकोमा बेनी—जोमसोम तेस्रो खण्ड अन्तर्गत मुस्ताङको कैकु खोलादेखि कोवाङसम्मको १६ किमी कालोपत्रे सडक र म्याग्दीको बेनी—गलेश्वर ३ किमी कालोपत्रे सडक कालिगण्डकी करिडोरलाई हस्तान्तरण भईसकेको छ । बाँकी पर्वतको मालढुङ्गा बेनी १३ किमी सडक,बेनी—जोमसोम ३ खण्ड कालोपत्रे सडक र जोमसोम—कागबेनी १३ किमी कालापेत्र सडक निर्माणधिन अवस्थामा छन् । यहाँ कागबेनी देखि छुसाङसम्मको सडकमा थप कालोपत्रे योजना अघि बढाउन समेत माग गरिसकेको छ ।

यस्तै, जोमसोम—कोरला ११० किमी ग्राभेल सडक मध्ये ६ वटा ग्रोभल सडक कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडकलाई हस्तान्तरण भईसकेको छ । यहाँ उपल्लो मुस्ताङको चराङ—छुसाङ २५ किमी ग्राभेल सडक अन्तिम चरणमा छ । यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले सडक निर्माणको बाँकी काम रोकिएको जनाईएको छ ।

 

प्रतिक्रिया