पर्यटक पछ्याउँदै भित्रिएका कुकुरले दुःख दियो : अध्यक्ष लालचन



जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पर्यटक पछ्याउँदै मुस्ताङ भित्रिएका छाडा कुकुरले मुस्ताङमा दुःख र सास्ती दिएको बताएका छन् । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप काठमान्डौंका आयोजना तथा पर्यटक प्रहरी कार्यालय जोमसोमको समन्वयमा शनिबार जोमसोमको होटल मेसोकोन्दोमा आयोजित ‘ पर्यटक सुरक्षा तथा पर्यटक प्रर्वद्धनमा व्यवसायी एवं स्थानीय नागरिकको भूमिका बिषय अन्तरक्रियामा अध्यक्ष लालचनले यस्तो उल्लेख गरेका हुन् ।

राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने विदेशी पर्यटकको पछि लागेर आउँने अनाधिकृत छाडा कुुकुरको प्रवेशले  मुस्ताङमा दुःख र हैरानी दिएको जनाए ।‘ मनाङ हुँदै पैदल हिडेर मुस्ताङ आउने पर्यटकले कुुकुरलाई खानेकुरा दिने गर्दा रहेछन्, खानेकुरा पाएपछि कुकुर पछिपछि लागेर आउनेनै भयो,’अध्यक्ष लालचनले भने,‘ यसरी खानेकुराको लोभमा कुकुरहरु यहाँ आईपुग्दा रहेछन् , यहाँबाट पर्यटकहरु प्लेन र मोटर चढेर जानेभएपछि त्यसरी आएका कुकुर यही एकत्रित हुन्छ ।’ 

अध्यक्ष लालचने पर्यटकसंगैपछि लागेर आईपुगेका कुकुरहरु होटल भित्रै पसेर सास्ती दिने गरेको सुनाए । उनले घरपझोङ गाउँपालिकामा पर्यटक अलपत्र पारेका कुकुरले भेडा च्यांग्रा र अन्नबाली नष्ट गर्ने गरेको बताए । अध्यक्ष लालचनले गाउँपालिका भित्र एकत्रित भएका कुकुरहरु नियन्त्रण गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक सहयोगमा गाउँपालिकाले कार्य गर्दैआईरहेको जनाए ।

गाउँपालिका अध्यक्ष लालचनले मुस्ताङमा पर्यटन प्रर्वद्धनका लागि स्थानीय तहसंगै व्यवसायी र सबै सरोकारवाला निकायले सहकार्य गर्नुपर्नेमा जोड दिए । पर्यटकको सुरक्षा र पर्यटन प्रर्वद्धनले मात्रै नभई जिल्ला भित्रिने पर्यटकका लागि सूचना तथा सहजीकरण गर्न सकेमात्रै मुस्ताङको पर्यटन भविष्य उज्वल हुने बताए ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कोरलानाका खुल्ला भईसकेकाले सीमाक्षेत्रमा अवान्छित गतिविधि रोकथाम गर्न पर्यटक प्रहरीले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिए । 

‘यहाँ कतिपय व्यवसायीहरुले विदेशीलाई नेपाली भनेर बिना परमिट  निषेधित क्षेत्र उपल्लो मुस्ताङको छोसेरसम्म पू¥याउने गरेको छ,प्रजिअ पन्तले थपे,‘यसले सीमा सुरक्षामा चुनौतीका साथै सरकारी राजश्वलाई समेत नोक्सान पु¥याउछ ।यस्ता गम्भिर बिषयमा व्यवसायी सचेत हुन आवश्यक छ ।’ उनले अनाधिकृत रुपमा उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकलाई पक्राउ गरी अध्यागन विभागसम्म पठाउने गरेको स्मरण गरे ।

प्रजिअ पन्तले उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्र पर्यटक आगमनको हट स्पट भईसकेकाले त्यहा पनि पर्यटक प्रहरीको उपस्थित हुन आवश्यक रहेको औल्याए । मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले पर्यटकको सुरक्षा  र समस्यामा परेका पर्यटकको उद्दारमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे ।

अन्तरक्रियामा स्थानीय नागरिक ,पर्यटन व्यवसायी तथा स्थानीय पत्रकारहरुले पर्यटक प्रहरीको भूमिका र योगदानका बिषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पर्यटक प्रहरी कार्यालय भुकुटीमण्डपका प्रहरी नायव उपरीक्षक  नरेन्द्र कुवरले पर्यटक प्रहरीको काम कर्तव्य ,जिम्मेवारी र पर्यटक प्रहरीको संगठनका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा पर्यटक प्रहरी कार्यालय भुकुटीमण्डपले पर्यटन सम्वन्धि ब्रोसर र पोस्टर वितरण गरेको थियो ।



प्रतिक्रिया