मुस्ताङमा एक्यापद्वारा बृहत्त हिउँ चितुवा सर्वेक्षण सुरु

  तस्विर : दिपक ओली

जोमसोम—राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने विभिन्न जिल्लाहरुमा दुर्लभ हिउँ चितुवाको संरक्षण कार्य अघि बढाएको छ । समून्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो हिमाली वासस्थानमा रहने हिमालकी रानी हिउँ चितुवाको पछिल्लो अवस्थाको विस्तृत विवरण संकलन गर्न एनटीएनसी (एक्याप)ले हिउँ चितुवाको सर्वेक्षणकार्यलाई अघि बढाएको हो ।

मुस्ताङको ४ स्थानीय तहमा हिउँ चितुवाको विद्यमान अवस्था र हिउँ चितुवासंग सम्वन्धि विभिन्न क्रियाकलापको अनुसन्धान तथा सर्वेक्षणका लागि एनटीएनसी (एक्याप) मुस्ताङले अत्याधुनिक क्यामेराहरु राखिसकेको जनाएको छ । एक्याप मुस्ताङका वन रेञ्जर र स्थानीय श्रोत व्यक्तिहरुको सहयोगमा दुर्लभ हिउँ चितुवाको भिडियो र तस्विर कैंद गर्नका लागि मुस्ताङका विभिन्न स्थानमा  क्यामेरा जडान गरिएको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।‘हामीले स्थानीय श्रोत व्यक्तिको सहयोगमा हिउँ चितुवाको गतिविधि हुनसक्ने स्थान पहिचान गरेर क्यामेरा जडान गरेका छौं,’कार्यालय प्रमुख रेग्मीले भने‘ ४५ दिनसम्म हिउँ चितुवाको गतिविधि हुनसक्ने उच्चलेंकमा सर्वेक्षणका लागि क्यामेरा राखेका हौं ।’

 हिउँ चितुवाको सर्वेक्षण तथा हिउँ चितुवाको आहारा प्रजातीको सर्वेक्षणका लागि डेटा संकलन गर्न क्यामेरा ट्यापिङ गरिएको एक्यापले उल्लेख गरेको हो । कार्यालय प्रमुख रेग्मीका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रको साङ्ता क्षेत्रमा हिउँ चितुवाको सर्वेक्षणका लागि डेटा संकलन गर्न क्यामेरा जडान गरिएको हो । यसका अतिरिक्त वारागुङ मुक्तिक्षेत्रको कागबेनी आसपास, तिरी ताल क्षेत्र र घरपझोङ गाउँपालिकाको यारुझो भ्यूटावर क्षेत्रमा हिउँ चितुवाको सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको एक्याप मुस्ताङले उल्लेख गरेको छ । 


 हिउँ चितुवाको सम्पूर्ण गतिविधि र हिउँ चितुवाको आहारा प्रजातीको वस्तुगत अवस्था पत्ता लगाउन  प्रत्येक ५÷५ बर्ग किलोमिटर क्षेत्रफलमा एक क्यामेरासहितको डिभाईस जडान गरिएको छ । एक्यापका अनुसार लोमान्थाङमा हिउँ चितुवा सर्वेक्षणका लागि  १५ वटा ग्रीड,लोघेकर दामोदरकुण्डमा १६ वटा ग्रीड र साङ्ता क्षेत्रमा १२ वटा ग्रीडमा वैज्ञानिक पद्यती अपनाएर अत्याधुनिक क्यामेरा र डिभाईस जडान गरिएको कार्यालय प्रमुख प्रमोदराज रेग्मीको भनाई छ । यसैगरी अन्य स्थानमा पनि आवश्यकता र औचित्यताका आधारमा हिउँ चितुवा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको कार्यालय प्रमुख रेग्मीले बताए ।

 मुस्ताङमा यसअघि सामान्य रिसर्चका  लागि हिउँ चितुवाको गतिविधि पत्ता लगाउन क्यामेरा ट्यापिङ गरिएको भएपनि यसपटक बृहत्त रुपमा हिउँचितुवाको सर्वेक्षणका लागि डेटा संकलन गर्न ठुलो संख्यामा क्यामेरा ट्यापिङ गरिएको एक्याप मुस्ताङको भनाई छ । एनटीएनसीले मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि ट्यापिङ गरिएको सम्पूर्ण तस्विर र भिडियोमा कैंद भएको डेटालाई  हिउँ चितुवा विज्ञहरुको प्राविधिक सहयोग मूल्यांकन गरी यसको प्रतिवेदन तयार गर्ने जनाएको छ । जलवायु परिवर्तनका कारण पारिस्थितिक प्रणालीमा ठुलो प्रभाव पार्ने दुर्लभ हिउँ चितुवाको विद्यमान अवस्था र हिउँ चितुवाको आहारा प्रजाती लगायतका बिषयमा डेटा अनुसन्धानपछि ठोस अवस्था थाहा लाग्ने जनाईएको छ ।

 एनटीएनसीले यसअघि अन्नपूर्ण सरक्षण क्षेत्र अन्तर्गत मनाङमा हिउँ चितुवाको सर्वेक्षणका लागि क्यामेरा ट्यापिङ गरेको थियो । एक्याप मुस्ताङले मनाङपछि मुस्ताङमा हिउँ चितुवा संर्वेक्षेण गर्न क्यामेरा ट्यापिङ गरेको बताएको छ ।

पछिल्लो समय हिमालकी रानी दुर्लभ हिउँ चितुवा विभिन्न कारणले सडक तथा वस्तीमा झर्न थालेका छन् । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँसको आहाराको अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर वस्ती र पाखोमा झर्न थालेका छन् । हिउँ चितुवाको आहार नाउरलाई पछ्याउदै वा गन्तब्य पहिल्याउन नसकेर हिउँ चितुवा वस्ती नजिक झरेको हुनसक्ने कतिपय हिउँ चितुवा विज्ञहरु बताउँछन् ।


प्रतिक्रिया