मुस्ताङको बागवानी फलफूल बगैचामा फूल फुलेर सेताम्मे

मुस्ताङमा शीतोष्ण फूलफूल बगैचाका बोटहरु झपक्कै फूल फूलेर सेताम्मे भएका छन् । घरपझोङ—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा विभिन्न भेराईटीका फलफूल बोटहरु यतिखेर फूल फूलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा केही हप्ता ढिलो गरी फूल्ने यी शीतोष्ण फलफूलहरु यसवर्ष केही छिटो गरी फूल फूल्न थालेको हो  ।

मुख्य रुपमा मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीहरुको उत्पादन,बिउँ तथा विरुवा उत्पादन गर्ने कार्य गर्दैआईरहेको छ । मुस्ताङमा स्याउ खेतीको विकास समेत यही केन्द्रले सुरुवात गरेको थियो ।

 मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न भेराईटीका फलफूलहरुको बिउँ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिईरहेको छ । मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पु¥याउन र फलफूल तथा तरकारी खेतीको विकास गरी यहाँका किसानको जिवनस्तर सुधार गर्न केन्द्रले दिदै आईरहेको योगदान अतुलनीय छ ।


 बशन्त ऋतुको आगमनको सुरुवातसंगै यहाँका शीतोष्ण फलफूलहरुका बोट झपक्कै फूल फूल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाई चिलिङ भेराईटी अर्थात अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरु वखडा,  र खुर्पानीका  लगायतका फलफूल बोटहरुमा विस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् । यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फूलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटकहरु मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा बैशाख महिनामा मात्रै फूल फूल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ ।

मुस्ताङको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकाँश भेराईटी फूल फूल्ने  चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । केन्द्रमा उत्पादन हुने अधिकाँश भेराईटीहरु हाईचिलिङ अर्थात अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरु रहेको केन्द्र प्रमुख आत्रेयको भनाई छ । उहाँले यसप्रकारका हाईचिलिङ भेराईटीका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक  पर्ने बताउँनुभयो ।

 केन्द्रमा उत्पादन हुने मुख्य फलफूल भेराईटीहरुमा कागजी बदाम ने प्लस अल्ट्रा भेराईटीको फलफूल अन्तर्गत पर्दछ । यी मुख्य फलफूल अन्तर्गत आरु फलफूलमा एक अर्ली रेड भेराईटी र अर्को ओराईन भेराईटी अन्तर्गत पर्दछ । आरु वखडा मिथ्ले र सान्तारोजा भेराईटीमा पर्छ । खुर्पानी सक्करपारा भेराईटीमा पर्दछ । केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्यगरी पाईने यसप्रकारको भेराईटीहरु महत्वपूर्ण भेराईटीको रुपमा रहेको जानकारी दिनुभयो ।

समून्द्री सतहदेखि एक हजार ८ सय मिटर उचाईदेखि करिव तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूहरुमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकुल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खलाउनुभयो । ‘जलवायु प्रभावले जमिनको तापमान वृद्धि भईरहेकाले फूल फूल्ने क्रम केही छिटो होकी भन्ने अनुभूती गरेका छौं,’ केन्द्र प्रमुख आत्रेयले थपे,’ बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका् फूलफूल भेराईटीहरु माथि माथि सर्दै जान थालेको छ ।’ उहाँले अनुकुल समयमा एकदुई फेरी आशिंक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताउँनुभयो । केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यसप्रकारका भेराईटीहरुलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गदैआईरहेको जानकारी दिनुभयो ।

 केन्द्रले  खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सकुटी तयार गर्ने गरेको छ । यसैगरी आरु वखडाको वाईन बनाउने गरिएको छ । आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दैआईरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गर्नुभयो ।———


प्रतिक्रिया