संरक्षण शिक्षकको पारिश्रमिक वृद्धि गर्न माग

यहाँका संरक्षण शिक्षा अध्यापन गराउने संरक्षण शिक्षकहरुले पारिश्रमिक वृद्धि गर्न एक्याप जोमसोम कार्यालय समक्ष माग गरेका छन् ।

बुधबार यहाँ आयोजित कार्यक्रममा एक्याप कार्यालय जोमसोम क्षेत्रमा पर्ने वारागुङ,घरपझोङ र थासाङ गाउँपालिका अन्तर्गतका एघार वटा संरक्षण शिक्षा लागु भएका प्रधानाध्यापक र शिक्षकहरुले समयसापेक्षिक रुपमा पारिश्रमिक वृद्धि गर्न एक्याप कार्यालयलाई मौखिक अनुरोध गरेका हुन् ।

एक्याप जोमसोमले यहाँको वातावरण शिक्षा, अनुसन्धान तथा ज्ञान व्यवस्थापन गर्न विद्यालय सहयोग कार्यक्रम चलाईरहेको छ । जसमध्ये ईलाका संरक्षण कार्यालय मातहत रहेका तीन पालिकाका एघार विद्यालयमा प्रकृति सन्देश भाग एक दुई र तीनका पाठ्यपुस्तक वितरण भई कक्षा ६ ,७ र ८ कक्षाका विद्यार्थीलाई अध्यापन गराईएको छ । यसैका लागि एक्यापले संरक्षण शिक्षा पढाईरहेका एघार विद्यालयका शिक्षकलाई प्रति शिक्षक मासिक एक हजार पारिश्रमिक दिने गरेको छ । तर, एक्यापको उक्त पारिश्रमिक सुविधा समयसापेक्षिक नभएको शिक्षकहरुको गुनासो रहेको छ । एक शिक्षकलाई संरक्षण शिक्षाका लागि मासिक बाह्र पिरियड अध्यापन गराउनु पर्ने हुन्छ । एक्यापको मासिक एक हजार पारिश्रमिक ज्यादै न्यून भएको भन्दै यसमा पूर्नविचार गर्न शिक्षकहरुले सामुहिक अनुरोध गरेका ज्ञानोदय माध्यमिक विद्यालयका प्रअ अनन्तराज आचार्यले जानकारी दिनुभयो ।

यहाँको ईलाका संरक्षण कार्यालय जोमसोमले चालु आ.व. २०८२/०८३ का लागि संरक्षण शिक्षासंग सम्वन्धित कार्यक्रम तथा बजेट चौध लाख ८८ हजार रहेको जानकारी दिएको छ । यहाँका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्तका अनुसार प्रअ र संरक्षण शिक्षकहरुसंगको समन्वयात्मक गोष्ठिमा एक लाख ८ हजार, ७५० प्रकृति सन्देश किताब प्रकाशनमा बाउन्न हजार ७५०,ग्रीन फोर्स क्लब गठन तथा परिचालनमा अठासी हजार,संरक्षण शिक्षक पारिश्रमिक एक लाख ३२ हजार, विद्यालय मसलन्द खर्च छैसठ्ठी हजार, एघार विद्यालयका २२ जना बिद्यार्थीलाई छात्रवृद्धि छैसठ्ठी हजार, माध्यमिक विद्यालय स्तरीय २ जना विद्यार्थीका लागि छात्रवृद्धि साठी हजार, बिद्यार्थी सचेतना तथा लघु भ्रमण एक लाख ६५ हजार र विभिन्न दिवस र सप्ताह मनाउन  एक लाख ५० हजार बजेट विनियोजन भएको संरक्षण अधिकृत गुप्तले उल्लेख गर्नुभयो ।

यसैगरी चालु आ.व.मा एक्याप जोमसोमले ताक्लुङ आधारभूत बिद्यालयमा सोलार वाटर हिटर जडानमा दुुई लाख र  लुप्रा आधारभूत बिद्यालयको छात्रावास तारवारमा  चार लाख बजेट बजेट विनियोजन भएको कार्यालय प्रमुख एवं सरक्षण अधिकृत गुप्तको भनाई छ ।

प्रअ र संरक्षण शिक्षकसंग एक्यापको समन्वयात्मक गोष्ठिमा यहाँका संरक्षण शिक्षा लागु भएका विद्यालयहरुले  शिक्षकका पारिश्रमिक वृद्धिका अलावा विद्यालयहरुलाई समेटी अवलोकन भ्रमण गराईनु पर्ने, फोहोरमैला व्यवस्थापन सामग्री, अध्ययन सामग्री लगायतका सामान्य पूर्वाधारहरुको व्यवस्थापन गर्न एक्याप कार्यालयको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया