जोमसोम— प्रभु वैंक गण्डकी प्रदेशले मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिने उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुणाकर भट्ट, निर्देशक श्री मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख श्री दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तिहरूसहित १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो।
गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए। उनले भने, “डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ, हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट ले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे। कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए।
घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष श्री मोहनसिंह लालचनले गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यसप्रकारको कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।
प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवामा सचेत र सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रमको आयोजना गरेको हो।