जोमसोम—मुक्तिनाथ र कागबेनीधाम लगायतका पर्यटकीय गन्तब्यमा मात्रै सीमित रहेको मुस्ताङ जिल्लाको पर्यटन अब भने उपल्लो मुस्ताङमा अवस्थित कोरलानाकाले तान्न थालेको छ । मुक्तिनाथ दर्शन गर्नका लागि आउने नेपाली आन्तरिक पर्यटको ध्यान पछिल्लो समय उत्तरी चीनसंग सीमाना जोडिएको कोरलानाकातर्फ पर्न गएको हो ।
भारतीय नाकाबन्दी निकै चर्चामा रहेको उपल्लो मुस्ताङको कोरलानाकामा पछिल्लो समय आन्तरिक पर्यटकको क्रेज बढ्दै जान थालेको हो । सरकारले उत्तरी कोरलानाकालाई पर्यटन तथा ब्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले २०७३÷०७४ सालदेखि राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत २०२ किमी सडक कालोपत्रे तथा ग्राभेल सडक विस्तार गरिरहेकाले मुस्ताङको कोरलानाका आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको हो । निर्माणधिन बेनी—जोमसोम—कोरला सडक क्रमशः सहज बन्दै जान थालेपछि मुक्तिनाथ दर्शनका लागि आउने नेपाली आन्तरिक पर्यटक मुक्तिनाथ हुदै कोरलानाकासम्म पुग्न थालेका हुन् ।
समून्द्री सतहको झन्डै ५ हजार मिटरको अग्लो उचाईमा अवस्थित चीनसंग सीमाना जोडिएको कोरलानाका अवलोकन तथा उपल्लो मुस्ताङको पृथक भूगोल,धार्मिक,सांस्कृतिक तथा ऐतिहाँसिक मौलिक कलासंस्कृति एव उपल्लो मुस्ताङको पर्यटकीय सम्पदा नियाल्न आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
यसवर्षको बडा दशैं पर्वदेखि तिहार पर्वको सम्मुखमा आईपुग्दा झन्डै एक लाखको संख्यामा नेपाली आन्तरिक पर्यटक उपल्लो मुस्ताङको कोरलानाकासम्म पुग्ने गरेको प्रहरीको रेकर्डमा जनाईएको छ । ईलाका प्रहरी कार्यालय छुसाङका अनुसार दशैदेखि तिहारसम्म आईपुग्दा दैनिक ५ हजार भन्दा बढी नेपाली पर्यटक कोरलानाका अवलोकनका लागि जाने गरेको प्रहरी स्रोतको दावी छ । दशै ,तिहार र छठ पर्वको अवसरमा सरकारी तथा गैरसरकारी निकाय एवं दशै—तिहार पर्व मनाउन विदेशबाट नेपाल फर्किएका नेपालीहरु लामो बिदाको समयमा मुस्ताङको कोरलानाका घुमफिरको केन्द्र बनेको हो ।
मुस्ताङ भ्रमणको क्रममा कोरलानाका पुगेका अधिकाँश पर्यटक त्यहाँ पुगेपछि चीनको भव्य आधुनिक भौतिक संरचना देखेर खिन्न र दुखी हुने गरेको पाईएको छ ।
पहिलो पटक बेनी—जोमसोम हुँदै मोटरसाईकलको यात्रा गर्दै नेपाल—चीन कोरलानाकामा पुगेका पोखराका सौरभ गौतम कोरलानाका चिनको भव्य पूर्वाधारले आफुलाई निकै दुखित तुल्याएको अनुभुती दर्शाए । उनले चीनले नाकामा आफुलाई आवश्यक पर्ने भन्सार,क्वारेन्टाई,एकिकृत सुरक्षा पोस्ट,सुख्खा बन्दरगाह र दर्जनौ ब्यापारिक प्रतिष्ठान निर्माण गरेको तर नेपालतर्फको खुल्ला रित्तो पठार मात्रै रहेको सुनाए ।
‘चीनले भव्य संरचना निर्माण गरिसकेको छ ,हामीले कामचलाउ उपस्थिती देखाउन झिनो कामको सुरुवात गर्दैछौं,उनले भने, सरकारले छिटो भन्दा छिटो भौतिक पूर्वाधार निर्माण देखि आवश्यक संरचना निर्माणमा जोड दिनुपर्छ,ढिलै भएपनि अध्यागमन राखेर सरकारी उपस्थित देखाईदैछ, अब यहाको बृहत्तर विकासमा राज्यले ठोस नीति लिनैपर्छ ।’
कोरलानाका पुगेका गौतमले सरकारको प्रारम्भिक उपस्थितीले केही आशा जगाएको उल्लेख गरे । कोरलानाकासम्म आईपुग्दा सहजबजारको क्राउड वातावरण भन्दा नितान्त भिन्न अनुभुती प्राप्त गरेको गौतमको भनाई छ । उनले कोरलानाकासंगै उपल्लो मुस्ताङ घुम्नै पर्ने पर्यटकीय गन्तब्य भएको बताए ।
नेपाल—चीन कोरलानाका गत कार्तिक २७ गते औपचारिक रुपमा खुल्ला भएसंगै उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको क्रेज बढेको हो । मुस्ताङको जोमसोमबाट ११० किमी दुरीमा पर्ने उत्तरी कोरलानाका सडक सहज हुन थालेपछि अहिले त्यहाँ बस,जिप,कार र मोटरसाईकलको यात्रा निकै सहज बनेको हो । नाका खुलेको एक वर्ष पुग्न लाग्दा अध्यागमन कार्यालय स्थापना गर्न प्रदेश सरकारले ५० लाख बजेट खर्चिएर ६ कोठे एसवाई प्यानलको अस्थायी भवन बनाएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसंञ्चार प्राधिकरणले लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको समन्यमा विद्युतीकरण र मोवाईल नेटवर्कको पहुँच पू¥याएको छ । सरकारी कामकाज तथा त्यहाँ जाने ब्यापारिक प्रयोजनका व्यक्ति र पर्यटकलाई यसले ठुलो टेवा पुगेको छ ।
मुस्ताङ भ्रमणका लागि पोखराबाट कोरलानाका पुगेका सुन्दर श्रेष्ठले यात्रा केही असहज र अप्ठ्यारो महशुस भएपनि समग्रतामा सडकको अवस्था सहज भएको प्रतिक्रिया जनाए । उनले विश्व सम्पदा सुचिमा समेच सुचिकृत भईसकेको उपल्लो मुस्ताङको सडकमा यात्री सहजताका लागि ठाउँठाउँमा होडिङ बोर्ड,शौचालय र सुरक्षा पोस्टको आवश्यकता रहेको औल्याए । उनले मुस्ताङको पर्यटन व्यवसायीहरुको आतिथ्यता र खानबस्नको सुविधा राम्रो लागेको उल्लेख गरे । कोरलानाका पुग्दा चीनको भुभागमा भव्य संरचना बन्दा नेपालतर्फ खाली पठारले सारै दुख लागेको उनले सुनाए ।
कोरलानामा स्थानीय केहीले त्रिपाल टाँगेर बैकल्पिक व्यवसाय चलाएर जिविकोपार्जको माध्यम बनाएका छन् । नाकाको २४ नम्बर सिमास्तम्भमा चीनको भव्य भौतिक संरचनाको प्रोफाईल राखेर नेपाली पर्यटकहरुले फोटो र भिडियो खिच्नेको तछाडमछाडनै हुन्छ। महत्वपूर्ण चाडपर्व र मुस्ताङ भ्रमण गर्ने अनुकुल समय भएकै कारण कोरलानाकामा आन्तरिक पर्यटक लर्को लागेको हो । नाकामा आवश्यक पूर्वाधार नहुँदा नेपालीहरुले अव्यवस्थित रुपमा ब्यापारिक पसलको दोकान चलाएका हुन् । नाकामा पुग्ने पर्यटकका लागि शौचालय नहुँदा फोहोरको प्रदुषण बढ्दै जान थालेको छ । नाकाको तिब्बती भुमी लिग्जेमा नेपालीहरुले पनि ब्यापार व्यवसाय चलाएको पाईन्छ ।
पहिलोपटक कोरलानाका अवलोकन गर्न पुगेकी पोखराकी रक्षा श्रेष्ठले चीनतर्फ निर्माण भएको भव्य संरचनाले नेपाली स्वाभिमानलाई लज्जित तुल्याएको महशुस गरिन् । कोरलानाकामा नेपालीको अव्यवस्थित बजार र फोहोरको दुर्गन्धित वातावरणलाई व्यवस्थित गर्न सरकारले पहल गर्नुपर्ने बताईन् । उनले सामाजिक सञ्जाल र भिडियो ब्लकमा हेर्दा जति सहज मानिन्थियो सो अनुरुप नभएको उनको भनाई छ ।
त्यसो त कोरलानाकामा सरकारी बहालवाला मन्त्रीदेखि उच्चपदस्थ सरकारी निकायको व्यक्तिहरु बाक्लो उपस्थिती हुने गर्छ । सरकारी खर्चमा विभिन्न कार्यक्रम बनाएर मुस्ताङ भ्रमणको क्रममा सरकारी निकायका व्यक्तिहरु कोरलानाका पुगेर फर्किने गरेका हुन् ।
दशै—तिहार जस्ता महत्वपूर्ण चलिरहदा उल्लेख्य मात्रामा नेपाली आन्तरिक पर्यटक उपल्लो मुस्ताङको कोरलानाकासम्म पुग्दा मुस्ताङ भित्रिएका कुल पर्यटक संख्याको ३ प्रतिशत मात्रै उपल्लो मुस्ताङ जाने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । उपल्लो मुस्ताङ निषेधित तथा नियन्त्रित क्षेत्र भएको र त्यहाँ जाने विदेशीलाई ५ सय डलर शुल्क सरकारले लिने भएकाले विदेशी पर्यटकको उपस्थित त्यहाँ न्युन हुन गरेको हो ।
उपल्लो मुस्ताङका पर्यटन व्यवसायी तथा जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङमा लगाइएको निषेधित क्षेत हटाउन पटकपटक सरकार समक्ष माग गर्दैआईरहेका छन् ।
उपल्लो मुस्ताङमा सदिंयौ वर्ष पुराना ऐतिहाँसिक गुम्बा,माने छार्तेनका साथै लोमान्थाङ दरबार,घर गुम्बा,चिउसी गुफा,लुरी गुम्बा, झोङ केप लगायतका धार्मिक तथा रमणीय स्थल भएकाले नेपाली युवापंक्तीका पर्यटकको आर्कषण वृद्धि भएको हो । दशै पर्वदेखि आन्तरिक पर्यटकको आगमनले उपल्लो मुस्ताङका होटलहरु भरिभराउ भएका छन् । कोरलानाकाबाट फर्किएका पर्यटकले ढुम्बाताल र मार्फा गाउँको समेत अवलोकन गर्ने गरेको पाईएको छ ।
सरकारले कोरलानाकालाई पर्यटकीय मार्ग र ब्यापारिक केन्द्रसंग जोड्ने उद्देश्यले सडक विस्तारको काम भईरहेको छ । बेनी—जोमसोम—कोरला सडकमा हालसम्म ७ अर्ब बजेट खर्च भईसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली