२७ जनाको तिब्बतीे शरणार्थी परिचयपत्र नविकरण

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—१ छेरौ स्थित  तिब्बतीयन क्याम्पमा २७ जनाले तिब्बती शरणार्थी परिचयपत्र नविकरण गराएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट गएको टोलीले सोमबार क्याम्पमा शरणार्थी परिचयपत्र बनाएका ४० जना मध्ये २७ जनाको शरणार्थी परिचयपत्र नविकरण गरिएको हो ।

 मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी  रामप्रसाद सुवेदीसहितको टोली शरणार्थी परिचयपत्र नविकरणको सुविधा प्रदान गर्न छैरो क्याम्प पुगेको थियो । यसअघि शरणार्थी परिचयपत्र लिएका मध्ये १३ जना क्याम्प नभएकाले शरणार्थी परिचपयपत्र नविकरण गर्न नसकिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।‘ छैरो क्याम्पमा रहेका शरणार्थीको परिचयपत्र नविकरण गर्न त्यहाँ पुग्यौ,’सहायक प्रजिअ सुवेदीले भने,‘ कुल ४० जना शरणार्थीले परिचयपत्र लिएका मध्ये १३ जना अनुउपस्थित रह्यो ,सायद उहाँहरु जिल्ला छोडेर कतै जानु भएको होला ।’

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले मुस्ताङको छैरो तिब्बती क्याम्पका २७ जनाको २०८१ साल चैत अन्तिमसम्मका लागि शरणार्थी परिचयपत्र नविकरण भएको जानकारी दिए । परिचयपत्र नविकरण हुन नसकेकाहरु सम्पर्कमा आएमा परिचयपत्र नविकरण गर्न समस्या नहुँने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ । २०३१ सालमा  मुस्ताङबाट खम्पा बिद्रोहीहरु विस्थापित भएसंगै वर्षौदेखि मुस्ताङको घरपझोङ—१ छैरोमा तिब्बती शरणार्थीहरुको बसोबास रहँदै आईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको अघिल्लो दुई वर्षको शरणार्थी  तथ्यांकमा मुस्ताङको छैरो तिब्बती क्याम्पमा २०७ जना जनसंख्या छ । जसमध्ये ५१ जनाले शरणार्थी परिचयपत्र लिएका थिए भने बाँकी १४१ जनाले शरणार्थी परिचयपत्र  लिएका थिएनन् ।

त्यस बेला मुस्ताङ प्रशासनको रेकर्डमा कुल जनसंख्या मध्ये २४ जना विदेश पलायन भएका थिए । क्याम्पमा रहेका मध्ये ६१ जनाले सामान्य खेती किसान गर्दैआईरहेका छन् भने ५२ जना विद्यार्थी छन् ।

यसैगरी ११ जना शिक्षक ÷शिक्षिका,४ जना मेडिकल तथा आयुर्वेद पेशामा आवद्ध छन् । क्याम्पमा रहेका मध्ये २ जना वृद्धवृद्धा छन् भने  केही शरणार्थी महिला गृहिणी  छन् ।



प्रतिक्रिया