लोमान्थाङमा ३ वटा वडा रिङरोडले जोडिए


जोमसोम—चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्माणधिन रिङरोड सडक सम्पन्न भएको छ । लोमान्थाङ गाउँपालिकाका ३ वटा वडाहरु जोड्ने निर्माणधिन रिङरोड सडक सडक सञ्जालले जोडिएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक‘ निर्माणकार्य अघि बढाएकोमा अहिले सम्पन्न भई हस्तान्तरणको तयारीमा रहेको बताईएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाका १,२ र ५ नंम्बर वडाका  जनतालाई कोरला नाका,लोमान्थाङ बजार र सदरमुकाम जोमसाम सम्म आवतजावत तथा मालसामान ढुवानीका लागि सहज बनाउने उद्देश्यले  २०७५ सालमा रिङरोड सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । सडकको २०७६ साल असार २६ गते २४ करोड लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

रिङरोडको सुरुवाती ठेक्का सम्झौता २ वर्षको तोकिएको थियो । सम्झौता मुताविक लोमान्थाङ रिङरोड २०७८ असारमा सकिनुपर्ने थियो । तर, निर्माणको चरम ढिलासुस्ती र बहानाबाजीका कारण रिङरोड सडक निर्माणमा निकै विलम्व हुन पुगेको थियो ।

१० दशमलव ५ किमी लामो लोमान्थाङ रिङरोड सडक निर्माणको जिम्मा ईमोटल कन्टक्सन जेभीले पाएको थियो । लोमान्थाङ रिङरोड सडक तत्कालका लागि ग्राभेलका रुपमा विस्तार गरिएको छ । सडकको ड्रेनसहित ८ मिटर चौडा गरिएको छ । निर्माण कम्पनीले सडक स्तरोन्नतिमा ढिलाई गरेका कारण पूर्वाधार विकास कार्यालयले कम्पनीको ठेक्का मोबिलाईजेसन वापत लिएको ९७ लाख रकम फिर्ता लिएको थियो ।

लोमान्थाङ रिङरोड सडकले लोमान्थाङ,छोन्हुप र छोसेरको कनेक्टिभिटी जोडिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोक्काले जानकारी दिए । प्रदेश अन्तर्गतका दुई मध्ये लोमान्थाङ रिङरोड सडक सम्पन्न भईसकेको छ,हामीलाई हस्तान्तरण गरी वित्तिय भुक्तानी गर्ने  प्रक्रियामा छ,’सूचना अधिकारी रोक्काले भने,‘ पटक पटकको ताकेताले ढिलै भएपनि रिङरोड निर्माण कम्पनीले कामलाई सम्पन्न ग¥यो, अब लोमान्थाङका गाउँपालिकालाई महत्वपूर्ण सडक संञ्जालले जोडिए ।’


लोमान्थाङ गाउँपालिकाको ३ वटा वडालाई जोमसोम—कोरला राष्ट्रिय राजमार्ग सडकमा जोडिएको हो । भौगोलिक रुपले अत्यन्तै विकट मानिएका सीमावर्ती गाउँपालिकाका वडाहरु सडक कनेक्टिभिटीले जोडिएसंगै स्थानीयलाई आवतजावत र मालसामान ढुवानी गर्न निकै सजिलो भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

‘सडक सञ्जालले राष्ट्रिय राजमार्गसंग जोडिएको छ, अब चिनको कोरलानाकामा पुगेर सामान ल्याउन समेत सजिलै भयो,’अध्यक्ष गुरुङले भने पोखरादेखि सामान ल्याउन र विपद् उद्दारका बेलामा समेत सडकको पहुँच निकै सुविधा प्राप्त हुनेछ ।’

तस्विर ः लोमान्थाङ रिङरोड सडक (तस्विर ःसुन्दरकुमार थकाली)


प्रतिक्रिया