वारागुङ मुक्तिक्षेत्रद्वारा साङ्ता मतदान केन्द्र सडकको हिउँ पन्छाईदै

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र—५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ—डोल्पा) सडकको हिउँ मंगलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । उक्त सडक हिमपातका कारण गत कार्तिक १० गतेदेखि पूर्व रुपमा अवरुद्ध अवस्थामा छ ।

 मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर÷पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाईमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो ।यहाँको साङ्ता गाउँमा पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा ३९ जना मतदाता रहेका छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिव ४० किलोमिटर टाढा छ ।भौगोलिक रुपले अत्यन्तै विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँ भन्दा बाहिर छन् ।

मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरु मंसिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा—काठमान्डौ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पुरै गाउँका घरहरुमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पुरै गुमनाम जस्तै छ ।

 यहाँ स्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् ।हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत÷बैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् ।तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नु पर्ने बाध्यता छ । गाउँमा  जनताको प्रतिनिधि छान्ने महत्वपूर्ण अवसरलाई सदुपयोग गर्ने चाहना हुँदा हुँदै पनि गत कार्तिक १० गतेखि यता चार पटक परेको हिमपातले गाउँ फर्किने सडक पूर्ण रुपमा अवरुद्ध छ । यतिबेला साङ्ता गाउँका नागरिकहरु गाउँ फर्किनका लागि कहिले बाटो सूचारु होला भन्ने पर्खाईमा बसेका छन् ।

यसैबिच केहीदिन अघि यहाँ स्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकाँश मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँ स्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुमगन हुन सकेको छैन ।

 आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा यहाँ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ—डोल्पा) सडकको हिउँ जसरी भएपनि पन्छ्याउनु पर्ने बाध्यता छ । यसै प्रयोजनका लागि साङ्ता गाउँको मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयले मौखिक अनुरोध गरिएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मंगलबारदेखि उक्त सडकको हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गर्नुभयो । हिमपातका कारण विगत तीन महिनादेखि मुस्ताङ—डोल्पा सडक अवरुद्ध भएकाले माथिल्लो डोल्पाका नागरिकहरुलाई हिउँदयामभरी खाद्यान्न ढुवानी गर्न समस्या परेको बताउँनुभयो ।

साङ्ता मतदान केन्द्र जाने मुस्ताङ—डोल्पा सडकखण्डमा करिव १० किलोमिटर सडकमा बाक्लो हिउँ जमेकाले पन्छ्याउन पाँच दिनदेखि एक हप्ता समय लाग्ने वडाध्यक्ष गुरुङको भनाई छ । फागुन २१ गते हुने निर्वाचनलाई यातायात सहज बनाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिका दुई वटा डोजर भाडामा लिएर हिउँ पन्छ्याउन सुरु गरेको वडाध्यक्ष गुरुङको भनाई छ ।‘हामीले मुस्ताङ—डोल्पा सडकको हिउँ चैत्र महिना लागेपछि पन्छ्याउने योजनामा थियौं, फेरी हिउँ परिदियो भने खर्च पनि दुख पनि दुबै हुन्छ, वडाध्यक्ष गुरुङले भने,‘निर्वाचनको मिति पनि आउनै लाग्यो, र माथिल्लो डोल्पाका नागरिकहरुले पनि बाटो खुलाईदिनु प¥यो भनेर भन्नुभयो, यसैले सबैको सहजताका लागि गाउँपालिका आफैले अपनत्व लिएर हिउँ पन्छ्याउने काम थालेका छ, अब सकभर चाँडै सडक खुलाउने गरी दुई वटा उपकरण एकैसाथ परिचालन गरेका छौं ।’

यसअघि फागुन २१ को निर्वाचनका लागि साङ्ता मतदान केन्द्रलाई फल्याकमा सार्न लिखित अनुरोध गरिएको भएपनि अब त्यो संम्भव नभएकाले सडक खुलाउनै पर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङको भनाई छ ।

 यहाँ स्थित साङ्ता गाउँ जाने सडकको हिउँ पन्छ्याउन अपरेटर चालक सहित वडाध्यक्ष गुरुङ आफै खटिएका छन् । सरकारको काँधमा रहेको निर्वाचन सफल पार्ने अभियानलाई सहयोग गर्न गाउँपालिका आफै सडक खुलाउन लागेको हो । मुस्ताङ—डोल्पा सडक अन्तर्गत साङ्ता गाउँ जाने सडक हिउँ पन्छ्याएर सहज गराईपछि मतदान कार्यक्रमलाई मात्रै नभई माथिल्लो डोल्पाका नागरिकहरुलाई समेत खाद्यान्न ढुवानी तथा आउजाउमा सहज हुनेछ ।


प्रतिक्रिया