सन् २०२४ को ९ महिनामा १ लाख ५ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए



जोमसोम— सन् २०२४ को जनवरी देखि अक्टोबर ८ तारिख अर्थात ९ महिनाको फेरोमा कुल १ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । मुस्ताङ भ्रमण गर्ने कुल पर्यटक मध्ये ९० हजार ८१ जना सार्क राष्ट्रका छन् भने १५ हजार ६१७ जना अन्य मुलुकका विदेशी पर्यटकहरु रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत रहेको एक्याप चेकपोष्ट जोमसोमले जनाएको छ ।

सन् २०२४ को जनवरीदेखि अक्टोबर ८ तारिखसम्ममा कुल विदेशी पर्यटक संख्याको ८२ दशमलव ६६ प्रतिशत सार्क र १७ दशमलव ३३ प्रतिशत अन्य मुलुका विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । 

सन् २०२४ को ९ महिना अवधिमा सबैभन्दा बढी  मे महिनामा २९ हजार ७६२ जना र सबैभन्दा कम जनवरी महिनामा २ हजार १२६ जना विदेशी पर्यटकको मुस्ताङ आगमन रहेको एक्याप जोमसोम चेक पोष्टको तथ्यांकमा उल्लेख छ ।  सन् २०२४ को अक्टोबर ८ तारिखसम्म २ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे । एक्यापका अनुसार सेप्टेम्बरको अन्तिमदेखि अक्टोबर ८ तारिखसम्म गतवर्षको तुलनामा निकै कम विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमको बुझाई छ । कार्यालय प्रमुख प्रमोदराज रेग्मीले  अविरल परेको वर्षाले देशका विभिन्न स्थानमा बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध भएकै कारण मुस्ताङमा विगतको वर्ष भन्दा कम विदेशी पर्यटक मुस्ताङ भित्रिएको उल्लेख गरे ।


यस्तै, मुस्ताङ भित्रिएका कुल पर्यटक संख्याको ८ हजार ३९७ जनाले राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत लमजुङको बेसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे ।  मुस्ताङ भित्रिएका कुल पर्यटक संख्या मध्ये  ७ दशमलव ९४ प्रतिशतले अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङमा ईन्ट्री भएको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।


 मनाङ हुँदै अन्नपूर्ण पदमार्गको भ्रमण गरी मुस्ताङ भित्रिएका पर्यटक मध्ये ९७ दशमलव ०७ प्रतिशत अन्य मुलुकका र २ दशमलव ९२ प्रतिशत सार्क राष्ट्रका विदेशी पर्यटक छन् । राउण्ड हुँदै सबै भन्दा धेरै मे महिनामा १ हजार ८१८ र सबैभन्दा कम जनवरी महिनामा १ सय ८६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

 सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिना अवधिमा  कुल १ लाख २१ हजार ३५२ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । जसमध्ये ९८ हजार २५३ जना सार्क र २३ हजार ९९ जना अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । जसमध्ये १० हजार ७३३ जनाले मनाङ हुँदै मुुस्ताङ भित्रिएका थिए । यस्तै कुल पर्यटक संख्याको १ हजार ५४७ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

 सन् २०२३ मा ७६ दशमलव ४९ प्रतिशत सार्क राष्ट्र र २३ दशमलव ५१ प्रतिशत अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् । मुस्ताङ भित्रिने पर्यटक मध्ये अधिकाँश सार्क राष्ट्रका भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीको भनाई छ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनप्रति भारतीय तिर्थालुको अभिरुची बढी रहने भएकाले मुस्ताङमा भारतीय पर्यटकको आगमन अधिक रहन पुगेको उनले जनाए ।



प्रतिक्रिया