कोरला पहुँचमार्ग सडकखण्डमा कालोपत्र संरचना सुरु

जोमसोम ।

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम—कोरला सडकमार्ग अन्तर्गत मुस्ताङको (कागबेनी—छुसाङ) सडकखण्डमा कालोपत्र हुने भएको छ । यसका लागि आयोजना अन्तर्गत साउनको दोस्रो हप्तादेखि सम्वन्धित निर्माण कम्पनी कार्यस्थल पुगेर कालोपत्र सडक स्टक्चर निर्माणको काम सुरु गरेको छ ।

यहाँ कोरलानाका जोड्ने सडकको (कागबेनी—छुसाङ) सडकको ९ दशमलव ८ किमी दुरीमा सडक कालोपत्र गरिन लागिएको हो । यसअघि मुस्ताङ खण्ड अन्तर्गत थासाङको घाँसादेखि कागबेनीसम्मको सडकमा ९५ प्रतिशत कालोपत्र सम्पन्न भईसकेको (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले जनाएको छ ।

कोरला सडक अन्तर्गत (कागबेनी—छुसाङ) सडकखण्डमा कालोपत्र सडक स्तरोन्नतिका लागि २८ करोड ८७ लाख लागतमा टक्सार÷एफ्फाटा÷बुद्ध जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको (कागबेनी—छुसाङ) ग्रोभल सडकमा कालोपत्र सडक संरचना निर्र्माणसहित अस्फाल्ट कालोपत्र गर्न आ.व. २०८१÷०८२ को असार २७ गते निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको हो । दुई वर्षको सम्झौता अवधि तोकिएको (कागबेनी—छुसाङ) सडक कालोपत्र सम्पन्न गर्ने अवधि २०८४ सालको असार मसान्तसम्म रहेको आयोजना प्रमुख झाले उल्लेख गर्नुभयो ।

यहाँको कागबेनी—छुसाङ सडकखण्डको ११ मिटर चौडा सडकमा ७ मिटर चौडा  र ५ सेमी मोटाईको अस्फाल्ट कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिनुभयो । यहाँ कालोपत्र सडक स्टक्चर निर्माणका लागि निर्माण कम्पनीले पल्मवाल,ग्याविन वाल,मेशिनरी वाल, ड्रेन निर्माण र सडकको ग्रेड मिलाउने लगायतका कामहरु सुरु गरिसकेको आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ ।

 कोरला जोड्ने (कागबेनी—छुसाङ) सडकखण्ड कालोपत्र सडक निर्माणका लागि निर्माण कम्पनीले ५ दर्जन बढी जनशक्ति र सडक उपकरण परिचालन गरिसकेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिनुभयो ।‘ अहिले यहाँ सडक कालोपत्रको सुरुवाती कामहरु थालनी भईसकेको छ, यहाँका छिटोछरितो र प्रभावकारी रुपमा काम अघि बढोस् भन्ने हाम्रो ध्येय हो,’ अध्यक्ष गुरुङले भन्नुभयो,‘ तर, यहाँ काम सुरु भयो भन्दैमा खुसी हुने अवस्था छैन, यहाँ धेरै योजनाहरु निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण अलपत्र अवस्थामा छन् ।’ अध्यक्ष गुरुङले यहाँको कागबेनी—छुसाङ कालोपत्र सडक निर्माणलाई गाउँपालिकाले पनि निरन्तर अनुगमन गर्ने बताउँनुभयो ।

उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरला सडक आयोजना आ.व. २०७३÷०७४ सालदेखि सुरु गरिएको हो । यहाँको जोमसोम—कोरला ७ खण्ड ग्राभेल सडक मध्ये ६ वटा सडकखण्ड २०७६ साल अगावै आयोजनालाई हस्तान्तरण भईसकेको थियो । यहाँको चराङ—छोसेर २५ किमी ग्रोभल सडक भने निर्माणको अन्तिम चरणमा पुग्दा निर्माण कम्पनीका कारण अलपत्र छ ।

कोरला सडक आयोजनाले सिमानाका कोरला सडकसम्म कालोपत्र गर्ने योजनासहित छुसाङदेखि घमी र घमीदेखि कोरलासम्म प्रारम्भिक वातावरण मूल्यांकन (आईइ) सम्पन्न गरिसकेको छ । आयोजनाले यहाँको छुसाङ—कोरला सडकमा कालोपत्र विस्तार गर्न झन्डै ५ अर्व लागत अनुमान गरेको छ ।


प्रतिक्रिया