रसुवा बाढी पीडितलाई घमी गाउँबाट एक लाख १५ हजार बढी सहयोग

मुस्ताङ,२०, भदौं ।

 रसुवाको भोटेकोशी विनाशकारी बाढीका कारण आहत भएका नागरिकहरुको उद्दार तथा राहतका लागि मुस्ताङको लोघेकर दामोदरकुण्ड —२ घमी गाउँबाट एक लाख १५ हजार ५९० रुपैया सहयोग पठाईएको छ । रसुवा बाढी पीडितहरुको उद्दार तथा राहतका लागि मुस्ताङको घमी गाउँबाट सहयोग रकम संकलन गरिएको थियो ।

रसुवा बाढी पीडितहरुका लागि संकलन गरिएको उक्त राहत रकम शनिबार घमी गाउँका स्थानीय पेमा ढ्याउ गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषको क्यूआर कोर्ड मार्फत अनलाईन भुक्तानी गर्नु भएको हो । गत भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको आकस्मिक र अकल्पनीय विनाशकारी बाढीले रसुवा,नुवाकोट,धादिङ,गोरखा,चितवन लगायतका जिल्लाहरुमा ठुलो संख्यामा धनजनको क्षति भएको थियो ।

बाढीले सिंगो देशनै शोकमग्न अवस्थामा रहेको बेला मुस्ताङको घमी गाउँले थोरै भएपनि उद्दार तथा राहतमा सहयोग पु¥याउन संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको स्थानीय पेमा ढ्याउ गुरुङले उल्लेख गर्नुभयो । कुनै पनि अप्ठ्यारो र कठिन परिस्थितीमा नेपालीहरु मानवीय रुपमा प्रकट भई सहयोगको भावना दर्शाउने गरेको उल्लेख गर्दै स्थानीय गुरुङले देशमा राष्ट्रिय संकट आईपरेको बेला सबै नेपाली नागरिकहरुले एकतावद्ध हुँदै यसप्रकारको मानवीय तथा सहयोगको भावना प्रकट गर्नुपर्ने बेला आएको बताउँनुभयो ।

 यसअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ तिरी गाउँबाट समेत रसुवा बाढी पीडितहरुको उद्दार तथा राहतका लागि एक लाख ९८ हजार बढी रकम सहयोग पठाएको थियो ।



प्रतिक्रिया