माथिल्लोमा परेन, तल्लो मुस्ताङमा हिमपात


जोमसोम—हिमाली जिल्ला मुस्ताङको तल्लो भेंकमा शुक्रबार दिउँसोेदेखि हिमपात भईरहेको छ । जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको बताईएको छ ।

मुस्ताङमा जारी सिजनको दोश्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा हिमपात नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार शुक्रबार मुस्ताङको तल्लो भेंकमा हिमपात नभएपनि साँझपखको मौसम हेर्दा हिमपात हुँने संम्भावना बढेर गएको बताए । अहिले जोमसोम देखि तल्लो क्षेत्रमा लगातर मध्यान्हदेखि निरन्तर हिमपात भईरहेको प्रजिअ पन्तले बताए । 

 मुस्ताङमा जारी सिजनको पहिलो हिमपात मंसिरको दोश्रो सातामा परेको थियो । हिमपातका कारण त्यसबेला जोमसोम—मुक्तिनाथ सडक समेत अवरुद्ध बनेको थियो । जारी सिजनको त्यसयता हिमपात हुन सकेको थिएन । तल्लो मुस्ताङमा हिमपात हुँदा उपल्लो मुस्ताङको अग्लो उचाईको स्थानमा हिउँ पर्न नसक्नु आश्चार्य चकित तुल्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले प्रतिक्रिया जनाए । ‘बरु उपल्लो मुस्ताङमा हिमपात हुँदा तल्लो मुस्ताङमा हिउँ नपर्नु स्वभाविक हो,प्रहरी नायब उपरीक्षक पाण्डेले भने, यसपटक भौगोलिक हिसाबले असमान प्रकारको हिमपत भईरहेको छ,हेरौं भोलीसम्म उपल्लो मुस्ताङमा पनि हिमपात हुनसक्छ ।’

 मुस्ताङको तल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखिनै हिमपात भईरहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यायल प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । उनका अनुसार जिल्लाको जोमसोम,मार्फा,स्याङ,ठिनी,छैरो,कोवाङ र लेते लगायतका स्थानमा यसवर्षको दोश्रो पटक हिमपात भएको बताए । उनले जारी सिजनको सुरुवाती र मध्यम समयमा अनुकुल मौसममा हिमपात भएको र यसले कृषकले लगाएको अन्नबाली र फलफुललाई निकै फाईदा पुग्ने जनाए । गतवर्ष बेमौसमे हिमपातले कृषि उत्पादनमा क्षति पुगेको स्मरण गर्दै कार्यालय प्रमुख आत्रेयले यसवर्षको हिमपातले हाईचिलिङ भेराईटीका शीतोष्ण हावापानीमा उत्पादन हुँने फलफुल तथा तरकारी र ग्रीन तरकारीका बीउँ उत्पादनमा समेत निकै ठुलो सहयोग पुग्ने उल्लेख गरे ।

मुस्ताङमा यतिबेला स्याउ लगायत शीतोष्ण  हावापानीमा उत्पादन गरिने फलफुल बगैचा व्यवस्थान र फलफुल बोटका हाँगाहरु काँटछाँट गर्ने भईरहेको छ । मुस्ताङमा पुसदेखि फागुनको पहिलो हप्तासम्म फलफुल बगैचा व्यवस्थान गरिने गरिन्छ । फलफुल बगैचा व्यवस्थापनका समयमा परेको हिउँले जमिनको सतहलाई रिचार्ज गर्ने र यसले कृषकले लगाएको बालीनाली सप्रिन योगदान दिन्छ । हिउँले खेतीयोग्य जमिनलाई सिचाईको पूर्ती गर्नुको साथै यसले विभिन्न रोगसंक्रमणलाई समेत नियन्त्रण गर्न टेवा पुग्ने  घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए । उनले मुस्ताङका कृषि क्षेत्रलाई फाईदा पु¥याउन थप २÷३ दिन हिमपात पर्नुपर्ने बताए ।

 मुस्ताङमा हिमपात पर्न नसक्दा जमिनको सतहमा चिस्यान भरिन सकेको थिएन । यसैले पनि शुक्रबार परेको हिमपातले जोमसोम तलका क्षेत्रका डाँडाँकाँढा हिउँले सेताम्मे भएपनि बस्तीमा परेको हिउँ जम्न नसकेको हो । मुस्ताङका बस्ती र खेतीयोग्य जमिन सेताम्मे हुन हिमपात हुन क्रम रोकिन नहुँने जोमसोमका कृषक अजित थकालीले उल्लेख गरे । जारी सिजनको दोश्रो हिमपातले जिल्लाका कृषकहरु उत्साहित भएको कृषक थकालीको भनाई छ ।

जारी सिजनको हिउँले स्याउ लगायतका शीतोष्ण फलफुलका साथै उवा र जौ उत्पादनमा राम्रो हुने कृषक थकालीले जनाए । ‘गतवर्ष अनुकुल समयमा हिउँ पर्न सकेन,बेमौसममा हिमपात भयो,कृषक थकालीले थपे,‘ जसका कारण स्याउ र आलुको उत्पादन र गुणस्तरमा ठुलो क्षति भयो ।’ उनले हिउँदयामको अनुकुल हिउँ कृषकका लागि बरदान सावित हुने दावी गरे । 

मुस्ताङमा हिमपात भएसंगै चिसो अत्यधिक बढेको छ । उपल्लो मुस्ताङमा माईनस २० डिग्री र तल्लो मुस्ताङमा माईनस १० डिग्री सम्म तापक्रम झरेको बताईएको छ । मुस्ताङमा चिसो बढेसंगै मुस्ताङका अधिकाँश नागरिक जाडो छल्न बेसी झरिसकेका छन् । चिसोका कारण स्थानीय तह ,जिल्ला स्थित सरकारी कार्यालय र पर्यटक लक्षित हो्टल तथा रेष्टुरेन्ट समेत सुनसान छन् । बर्खायाममा पर्यटकले भरिभराउन हुँने मुस्ताङमा हिउँदयामकै कारण पर्यटक आवागमन समेत ठप्पै प्राय छ ।

 हिमपातसंगै चिसो बढेकाले स्थानीय नागरिकको जनजिवन समेत निकै कष्ठकर बनेको छ भने पशुचौपायालाई आहार खुवाउन समेत समस्या परेको छ । उपल्लो मुस्ताङमा नदी ,शाखा नदी,सिचाई कुलो र धारा समेत चिसोले बरफ बनेर जम्दा स्थानीयलाई निकै समस्या उत्पन्न भएको बताईएको छ ।

 फोटो क्याप्सन : मुस्ताङको मार्फा क्षेत्रमा परेको हिमपात:

 तस्विर : पदमनाथ आत्रेय 


प्रतिक्रिया