जोमसोम ।
धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा सार्क तथा अन्य राष्ट्रका बाह्य पर्यटकको आकर्षण बढ्दो रहेको छ । यहाँ आन्तरिक संगै विदेशी पर्यटकको संख्या बर्सेनि वृद्धि भईरहेको अन्नपूर्ण संरक्षण आयोजना,ईलाका संरक्षण कार्यालय जोमसोमको तथ्यांकले देखाउछ । विगत दुई दशक अघि मुस्ताङ भित्रिएका विदेशी पर्यटकको तथ्यांक केलाउँदा पछिल्लो वर्षमा ९० प्रतिशतले यहाँको पर्यटक आगमन संख्या वृद्धि भएको देखिन्छ ।

सन् २००४ मा यहाँ पन्ध्र हजार १३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । एक्याप कार्यालयले राखेको विदेशी पर्यटकको अभिलेख अनुसार सन् २००५ मा उन्नाईस हजार १३२ र सन् २००६ मा सोह्र हजार ३५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
सन् २००७ मा तेईस हजार २२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकोमा थप चार हजार ५५३ जना पर्यटक वृद्धि हुँदै सन् २००८ मा सत्ताईस हजार ८७९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २००९ मा एकतिस हजार १९९ जना र सन् २००१० मा सैतिस हजार ३१३ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । सन् २००४ देखि सन् २०१० सम्म पर्यटकको आंकडा हेर्दा बर्सेनि यहाँ औसत दुई हजारदेखि छ हजारसम्म विदेशी पर्यटकको आगमन वृद्धि भएको तथ्यांकले देखाउँछ ।
यसैगरी यहाँ सन् २०१० मा छत्तिस हजार ६७१ जना पर्यटक भित्रिदा अघिल्लो वर्षको तथ्यांकमा ६४१ जना पर्यटक ह्रास भएको देखिन्छ । सन् २०१२ मा यहाँ अघिल्लो वर्ष भन्दा दश हजार ४१ जना विदेशी पर्यटक बढेर सन् २०१२ मा छयालिस हजार ७१२ पुगेको थियो ।तर, सन् २०१३ मा सन् २०१२ को भन्दा घटेर पैतिस हजार ३२७ जनामै सीमित रह्यो ।
सन् २०१४ मा एकचालिस हजार २१९, सन् २०१५ मा तेईस हजार २७२ ,सन् २०१६ मा उनन्चालिस हजार १७ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यसैगरी सन् २०१७ मा बाउन्न हजार ४४५,सन् २०१८ मा उन्सासाठी हजार ८३८ , सन् २०१९ मा सन्ताउन्न हजार ८३ जना र सन् २०२० मा चार हजार ९४७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
सन् २०२० मा विश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण मुस्ताङको पर्यटन क्षेत्रमा नराम्ररी असर पुगेको थियो । कोरनाका कारण यहाँ सन् २०२१ मा जम्मा ३६५ जनामै पर्यटकको संख्या सीमित हुँदा सन् २०२२ मा साठी हजार २४५ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।
एक्याप कार्यालय जोमसोमको अभिलेख अनुसार यहाँ सन् २०२३ मा अप्रत्याशित वृद्धि भई नब्बे हजार ३५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । उक्त वर्ष अघिल्लो वर्षभन्दा चौबिस हजार ४२५ जना पर्यटक बढी भित्रिएका थिए ।
यसैगरी सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यहा सन् २०२३ भन्दा सन् २०२४ मा पैतालिस हजार ३६३ जना पर्यटक आगमन संख्या वृद्धि भएको थियो ।
पछिल्लो सन् २०२५ मा एक लाख ६१ हजार १४१ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यहाँ पच्चिस हजार ४२२ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् ।
सन् २००४ देखि सन् २०२५ सम्मको पर्यटक तथ्यांक हेर्दा मुस्ताङमा सबैभन्दा बढी पर्यटक सन् २०२४ र सन् २०२५ मा बढी भित्रिएका एक्याप कार्यालय प्रमुख राजेश गुप्तको भनाई छ । कार्यालय प्रमुख गुप्तले यही रफ्तारले पर्यटक आगमन वृद्धि भएमा सन् २०२६ मा दुई लाख पर्यटक मुस्ताङ भित्रिन सक्ने प्रारम्भिक अनुमान रहेको बताउँनुभयो ।
पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला राजमार्ग सडक बर्सेनि सहज हुँदै जान थालेका मुस्ताङमा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै गएको एक्यापको भनाई छ । मुस्ताङ आउने पर्यटक ८० प्रतिशत भारतीय पर्यटक रहेको र उनीहरु केवल मुक्तिनाथ दर्शन गर्न आउने गरेको कार्यालय प्रमुख गुप्तको भनाई छ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको प्राचिन कलासंस्कृति,यहाँको पृथक भूगोल,जैविक विविधता,सदियौ वर्ष पुराना गुम्बा, गुफा ,माने र छोर्तेनहरु अवस्थित रहेकाले मुस्ताङमा विदेशी पर्यटकहरुको आकर्षण बढ्दो रहेको हो । मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये तीन प्रतिशत मात्रै माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली