जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका र ललितपुर महानगरपालिकाबीच अन्तर स्थानीय तह भगिनी सम्वन्ध स्थापित भएको छ । गाउँपालिका र महानगरपालिकाबीच आपसी हित र असल अभ्यास लगायत विविध बिषयमा आउँदा दिनहरुमा समन्वय र सहकार्य गर्ने गरी शनिबार १३ बुँदे समझदारी गरी द्धिपक्षिय सहमति भएको हो ।
महानगरपालिका र गाउँपालिकाबीच भगिनी सम्वन्ध स्थापनाको लागि ललितपुर महानगरपालिकाको जम्बो टोली मुस्ताङ आएको थियो । महानगरपालिकाका मियर चिरीबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र महानगरका प्रवत्ता राजु महर्जनसहितको दुई दर्जन जनप्रतिनिधि र कर्मचारी टोली भगिनी सम्वन्ध स्थापनाका लागि मुस्ताङ आएका थिए ।
हिउँयामको कठ्याङग्रिदो चिसो मौसमलाई छिचाल्दै भगिनी साईनो जोड्ने उद्देश्यसहित शिङ्गो ललितपुर महानगरपालिकाको टोली मुस्ताङ आएको थियो । शनिबार मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित ललित महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाले १३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी भगिनी सम्वन्धमा बाधिएको औपचारिक घोषणा गरेका छन् ।ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउपालिकाका अध्यक्ष मोहनसिंह लालचनले संयुक्त रुपमा भगिनी सम्वन्ध स्थापना भएको समझादारीमा पत्रमा हस्ताक्षर गरी यसको औपचारिक घोषणा गरिएको हो ।
ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक नगरीको रुपमा परिचित ललितपुर महानगरपालिका र हिमालपारीको जिल्ला मुस्ताङमा रहेको घरपझोङ गाउँँपालिकाबीचको सम्वन्धले असल अभ्यासको सिकाई आदान÷प्रदान र महानगर र पालिकाबीचको मैत्रीपूर्ण सम्वन्धलाई थप उचाईमा पू¥याउने विश्वास लिईएको छ । नेपालकै पहिलो र पुरानो नगरको रुपमा स्थापित ललितपुर महानगरपालिकाले हिमालको पालिकासंग सम्वन्ध जोड्ने अवसर योनै पहिलो दावी गरिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित घोषणा सभामा दुबै स्थानीय तहले आफुले गर्ने सेवा र सोको प्रक्रिया तथा व्यवस्थापनका सम्वन्धमा जनप्रतिनिधि र कर्मचारीबीच निरन्तर अन्तरक्रिया गर्ने , दुबै पक्षबाट भएका विशेष प्रकृतिका कार्यक्रमहरुमा निमन्त्रणा गरी उपस्थिती गराउने, दुबै पक्षबाट छलफल तथा आवश्यक ज्ञानसीप आर्जनका लागि समझादारीका क्षेत्रमा अनुभव आदान—प्रदान गर्न द्धिपक्षिय भ्रमणका कार्यक्रम आयोजना गर्ने, दुबै पक्षका पुस्तक,बुलेटिन,आदी प्रकाशन लगायत संस्थागत गुरुयोजना,आवधिक योजना ,विषयगत योजना,वार्षिक बजेट तथा कार्यक्रमहरुको नीति,निर्देशिका र कार्यविधिहरु आदान—प्रदान गर्ने ,दुबै पक्षको आधिकारिक वेवसाईडलाई लिङ्केज गराईने, भौतिक सरचनाको विकास तथा सामाजिक विकासले शहरी विकासको सूचकको रुपमा कार्य गर्ने तथा विकासका लागि एकआपसमा समन्वय र सहयोग पु¥याउने, पूर्वाधार विकास,सामाजिक विकास,शहरी विकास,पर्यटन,वातावरण सरक्षण,आर्थिक,सास्कृतिक तथा शिक्षा,स्वास्थ्य लगायतको विकासमा आपसी सहयोग र अनुभव आदानप्रदान गर्ने,विकासका सफल अभ्यासबाट प्राप्त सिकाईको आदान÷प्रदान गरी अवलम्वनका लागि प्राविधिक सहयोग आदान—प्रदान गर्ने,विकास आयोजनाको सञ्चालन तथा कार्यान्वनका लागि आन्तरिक तथा बाह्य श्रोत व्यवस्थापन गरी आपसी सहयोग आदान÷प्रदान गर्ने, स्थानीय उत्पादनको प्रर्वद्धन तथा बजारिकण र व्यवसायिकताका लागि सहयोग र सहकार्य गरी अघि बढ्ने ,सास्कृतिक नगरी ललितपुर महानगर र घरपझोङको पर्यटकीय सम्वन्ध विकासमा आपसी सहयोग अभिवृद्धि गर्ने र भ्रमण तथा दुबै क्षेत्रको अवधारणालाई प्रर्वद्धन गर्ने, पर्यटक तथा सांस्कृतिक क्षेत्रको विकासमा निजी पर्यटन व्यवसायी र उनीहरुको व्यवसायिक संगठनको समन्ध सुदृढ तुल्याउने र दुबै पक्षले पर्यटन प्रर्वद्धनका लागि मेला महोत्सव आयोजना गरी पर्यटन क्षेत्रको विकासमा सहयोग अभिवृद्धि गर्ने र पर्यटन विकासका लागि प्राविधिक ज्ञानसीप तथा अनुभवहरुको निरन्तर सहयोग आदान÷प्रदान गर्ने लगायतको १३ बुँदे समझादारी—पत्रमा हस्ताक्षर भएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।
महानगर र पालिकाबीच भएको भगिनी सम्वन्ध स्थापनाको औपचारिक कार्यक्रममा ललितपुर महानगरपालिकाका मियर चिरीबाबु महर्जनले महानगरपालिका र पालिकाबीचको खाडललाई यसप्रकारको भगिनी सम्वन्ध स्थापनाले नयाँ सन्देश प्रवाह गर्ने विश्वाश व्यक्त गरे । असल अभ्यासका लागि को ठुलो को सानु भन्ने नहुने उल्लेख गर्दै महानगर प्रमुख महर्जनले असल अभ्यास आदान प्रदान र सिकाईमा दुबै अन्तर स्थानीय तहको राम्रा पक्षलाई अनुसर गरेर अघि बढ्नुपर्नेमा जोड दिए । घरपझोङसंग भएको भगिनी सम्वन्ध सस्तो लोकप्रियता र घुमन्ते यात्राका लागि नभएको र यसलाई स्वस्थानीको कथा जस्तै सच्चा मन र सह्यताका साथ अघि बढाउन जरुरी रहेको महानगर प्रमुख महर्जनले उल्लेख गरे ।‘आजका मितिबाट महानगर हिमालसंग प्रत्यक्ष जोडिएको छ, हिमाल र हाम्रोबीच ऐतिहाँसिक,धार्मिक र सांस्कतिक समानता छ,महानगर प्रमुख महर्जनले भने,‘ हिमालको कनेक्टिभिटीलाई हामीले पछ्याउने छौ ,हाम्रो राम्रा पक्षहरुको असल अभ्यासलाई घरपझोङका सर्कुलर गरेर अभिभावकीय भूमिका निर्वाह गर्नेछौं ।’ महानगरप्रमुख महर्जनले मुस्ताङ जिल्लामा अथाह सम्भावना भएको र यस सम्भावनालाई घरपझोङले अद्भुत रुपमा उपयोग गरी जनविकासमा लाग्न सुझाए ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ललितपुर महानगरपालिका र घरपझोङको भगिनी सम्वन्ध विस्तार आकाश र पाताललेको एकै ठाउँमा मिलन भएको अनुभती सुनाए । आज अरबौ वार्षिक बजेट खेल्ने महानगर र करोडमा चल्ने गाउँपालिकाबीच सम्वन्धले को ठुलो को सानो भन्ने भाष्यलाई अन्त्य गरेको अध्यक्ष लालचनको कथन छ । ‘हाम्रो पुर्वजले भन्ने,‘ सम्वन्ध जोड्दा धनी र गरिवको सन्तुलन मिलाउनुपर्छ रे, धनीसंग सम्वन्ध जोड्दा सबै थोकको सहयोग प्राप्त हुन्छ,गरिवसंग सम्वन्ध जोड्दा भौतिक सहयोग प्राप्त हुन्छ, हामी बजेट विनियोजनका हिसाबले गरिवमा पछौ ।’ उनले गाउँपालिकाको पर्यटन विकास ,फोहोर मैला व्यवथापन र प्लास्ष्टिकजन्य सामाग्रीलाई निरुत्साहित गरी प्रदुषण न्यूनिकरण गर्नमा योगदान गर्दैआईरहेको बताए ।
ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ललितपुर र घरपझोङको भगिनी सम्वन्ध विस्तारले स्थानीय तहमा कार्यसम्पादन हुने असर अभ्यास , सिकाई अनुभव र भोगाईको अनुसर गर्ने लगायतको मार्गप्रसस्त भएको दावी गरिन् । मुस्ताङ त्यसमाथि घरपझोङको प्राकृतिक सौन्दर्यतले आफु लगायत महानगरको टोली मोहित भएको उल्लेख गर्दै महानगर प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले मुस्ताङ जिल्लामा पर्यटन,कृषि,जैविक विविधता ,पशुपालन र प्राकृतिक श्रोत साधनलेअथाह संम्भावना भएको रुपमा आफुले लिएको जनाईन् । सम्मुखको हसिलो हिमाल ,नांगा पहाड र कालिगण्डकीको तटीय भु—भाग,थकाली सस्कृतिक र यहाँको समग्र जिवनशैली नियाल्दा विकासको झल्को यहाँ देखेको बताईन् । उनले हिमाल र बेसीको असल अभ्यास र सिकाई अभ्यासको अन्तर स्थानीय तहको कनेक्टिभिटीलाई आगामी दिनमा घनिभुत रुपमा लैजान आवश्यक रहेको औल्याईन् ।
ललितपुर महानगरपालिका र घरपझोङबीच आपसी हितमा सहयोग आदान÷प्रदान गर्ने घोषणा सभामा सामुहिक प्रतिवद्धता गरिएको छ । घोषणा सभामा घरपझोङकी उपाध्क्ष जमुना थकाली,वडा—२ का अध्यक्ष मानबहादुर हिराचन र ललितपुर महानगरपालिका वडा—९ का अध्यक्ष राजु महर्जनले अन्तर स्थानीयबीच भएको भगिनी सम्वन्धलाई आगामी दिनमा प्रगाढ बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।
भगिनी सभा घोषणा कार्यक्रममा दुबै पक्षबाट मायाको चिनो र आफ्नो क्षेत्रको उत्पादन तथा हस्तकला सामाग्री उपहार स्वरुप आदान—प्रदान गरिएको थियो । मुस्ताङ आएको ललितपुर महानगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारी टोलीलाई घरपझोङ गाउँपालिकाको समन्वयमा मुस्ताङको ढुम्बाताल,थकाली होमस्टे, जोमसोम,स्याङ मार्फा लगायत प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रको दर्शन गराएको थियो ।