जोमसोम— हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथधाममा बृहत सरसफाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाईमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बिहिबार मुक्तिनाथधामको बृहत सरसफाई गरेको हो ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको सरसफाईकार्यमा ४५ जना कर्मचारी तथा सुरक्षाकर्मी खटिएको थियो ।बडा दसै अघिको स्रोह्र श्राद्ध तिथी देखि छठपर्व सकिएको पछिल्लो समयमा भक्तजनहरुबाट भएको फोहोरलाई संकलन गरी नष्ट गरिएको मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । सरसफाईमा जिल्ला प्रशासन कार्यालयबाट ५ जना कर्मचारी,जोमसोम स्थित नारायण दल गणबाट ३० जना,ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट ५ जना र सशस्त्र प्रहरी बल ३३ नं. गुल्मबाट ५ जना सुरक्षाकर्मी खटिएका थिए ।
मुक्तिनाथ मन्दिरलाई स्वच्छ ,सफा र वातावरणमैत्री तुल्याउनका लागि प्रशासनको पहलमा ३ वटै सुरक्षा निकायले मिलेर मुक्तिनाथ मन्दिरको फोहोर नष्ट गर्ने कार्य भएको डिएसपी बोगटीले बताए ।
मुक्तिनाथ मन्दिर परिसरको सरसफाई तथा मंन्दिरको भित्री परिसरमा रंगरोगन, मुक्तिनाथ क्षेत्रमा रहेको २ वटा हेलिप्याडको मर्मत तथा सरसफाईका साथै हेलिप्याड देखि मन्दिर परिसरसम्मको सिंढी बाटोमा बृहत सरसफाई गरिएको डिएसपी बोगटीले उल्लेख गरे ।
बर्सेनि लाखौंको संख्यामा मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थीको भीडभाडले मन्दिर परिसर क्षेत्रमा बग्रेल्ती फोहोर जम्मा हुने गर्छ । मुक्तिनाथ मन्दिरमा समुचित फोहोरको व्यवस्थापन हुन नसक्नु र भक्तजनहरुले जथाभावी फोहोर मिल्काउने परिपाटीका कारण पनि मुक्तिनाथक्षेत्रमा फोहोर बढी जम्मा हुने गर्छ ।
फोहोरकै कारण मन्दिरमा पुग्ने दर्शनार्थीलाई मन्दिरको पुजाआजा दर्शन गर्नमा समस्या हुने गर्छ । मुक्तिनाथमा महत्वपूर्ण चाडपर्वपछि गरिएको सरसफाई अभियानमा करिव १० ड्रम फोहोर खाल्डो खनी नष्ट गरिएको छ ।