मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति मुस्ताङको पहलमा जिल्लामा छिटो र ढिलो फल्ने स्याउको पहिचान गर्दै यसवर्ष फरक प्रकारको कार्यतालिका सार्वजनिक गरिएको हो ।

जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको अध्यक्षतामा जिल्ला स्थित ५ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,सम्वन्धित कार्यालयका प्रमुख एवंं प्रतिनिधि र मुस्ताङ जिल्लाका अगुवा स्याउ किसानहरुको संयुक्त   बैठकले मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातका गाला र किङ रोट रेड डेलिसियस प्रजातीको स्याउबाहेक अन्य प्रजातीका स्याउ असोज अघि टिप्न नपाईने कार्यतालिका बनाईएको हो ।

जिल्ला समन्वय समितिको अगुवाईमा भएको बैठकले मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) गाला प्रजातीको स्याउ भदौ असोज १० गतेदेखि किङ रोट रेडडेलिसियस प्रजातीको स्याउ भदौ १५ गतेदेखि मात्रै टिप्न पाईने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई मुस्ताङका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार हाईब्रिट गाला र किङरोट बाहेक रोयल डेलिसियस,रेड डेलिसियस,गोल्डेन डेलिसियस र फुजी लगायतका स्याउहरु गुलियोपना तथा गुणस्तरलाई ध्यानमा राखेर असोज लागेपछि मात्रै फल टिप्न पाईने निर्णय भएको हो ।

 मुस्ताङमा केही वर्षयता स्याउको स्वाद तथा गुणस्तर कायम गर्नका लागि स्याउ टिप्नका लागि मिति तय गर्ने गरिन्छ । असोज अगावै स्याउ टिपेर बजार पू¥याउँदा मुस्ताङको स्याउको पहिचान गुम्ने भएकाले उपभोक्ताको माग अनुसार असोज सुरु भएपछि मात्रै स्याउ टिप्न प्रावधान तोकिने गरिएको परियोजना कार्यान्वयन ईकाइ मुस्ताङका प्रमुख भट्टले उल्लेख गरे । मुस्ताङमा स्थानीय जातका स्याउ र हाईब्रिट स्याउ मध्ये गाला र किङरोट बाहेक अन्य स्याउमा गुणस्तर कायम हुन र स्याउ फलमा रस भरिने समय लाग्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले उल्लेख गरे । मुस्ताङको स्याउको अन्य भन्दा फरक पहिचान र आफ्नै ब्राण्ड भएकाले यस ब्राण्डलाई सदिंयौसम्म जोगाउन यसप्रकारको निर्णय समयसान्दर्भिक भएको केन्द्र प्रमुख बस्ताकोटीको भनाई छ ।

मुस्ताङका बगैचामा फलेका स्याउ खरिद गर्न जिल्ला भित्र र बाहिरका स्याउ व्यापारीहरु मुस्ताङ आउने क्रम सुरु हुन थालेको छ । जिल्लाका स्याउ कृषकहरुले उत्पादन गरेका स्याउ बगैचा अवलोकन गरेर व्यापारीले ठेक्का हान्ने गर्छन । यसरी स्याउ बगैचा ठेक्का हुँदा कृषक र व्यापारीहरुको सहमतीले बगैचामा फलेका स्याउको मुल्य तोकुवा गरिन्छ । व्यापारीले कृषकलाई पेश्की (बैनापट्टा) गरेपछि व्यापारीले स्याउ टिपेर बजार पू¥याउने गर्छन ।

केही वर्षअघि मुस्ताङको स्याउ बगैचामा पूर्ण रुपमा विकशित नहुँदै बजार पू¥याउने गर्दा त्यससमय मुस्ताङको स्याउमा उपभोक्ताले गुनासो  र प्रश्न गर्ने गरेका थिए । स्याउ उपभोक्ताको हितलाई ध्यानमा राख्दै मुस्ताङको रसिलो र स्वादिलो स्याउको स्वाद उपभोक्ता माँझ पू¥याउन असोज अगावै स्याउ टिप्न नहुँने सहमती .गरिएको हो । मुस्ताङको स्याउको पोखरा र काठमान्डौंमा उक्तिकै डिमाण्ड हुने गर्छ ।

 हरितालिका तिज पर्व भदौ महिनामा पर्ने र त्यसअघि फलफूलको माग बढी हुने भएकाले कतिपय व्यापारीहरुले लुकीछिपी मुस्ताङको स्याउ रस नभरिदै बजार पू¥याउने गरिएको थियो । असोज अगावै स्याउ टिप्न नपाईने निर्णयलाई सुक्ष्म रुपमा अध्ययन गरेर यसलाई प्रभावकारी कार्यान्वयनतर्फ जोड दिईने जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले उल्लेख गरिन् ।‘हामीले स्याउ कृषक  र उपभोक्ताको हितमा यस्तो निर्णय गरेका हौं, जिसस प्रमुख गुरुङले भनीन्,‘ यसले मुस्ताङको स्याउमा उपभोक्ताको छुट्टै क्रेज बढ्छ र स्याउ उत्पादन तथा बिक्री वितरणलाई समेत सघाउँ पू¥याउँछ ।’

 यतिखेर मुस्ताङका स्याउ बगैचामा लटरम्म स्याउ फलेका छन् । बगैचाका राताम्मे स्याउले मुस्ताङका स्याउ बगैचाको सौन्दर्यताले पर्यटकलाई समेत मोहित तुल्याएको छ । यसवर्ष अनुकुल मौसम भएकाले जिल्लामा स्याउ उत्पादन राम्रो हुने प्रक्षेपण गरिएको छ । गतवर्ष जलवायु परिवर्तनका कारण स्याउमा पोलिनेसन कम हुँदा स्याउ उत्पादनमा ह्रास आएको थियो । यसवर्ष स्याउ उत्पादन साविककै लयमा फर्किन अपेक्षा गरिएको छ । बगैचामा स्याउ उत्पादन राम्रो देखिएपछि स्थानीय स्याउ किसान निकै उत्साहित भएका छन् । टुकुचेका स्याउ किसान निरज तुलाचनले यसवर्ष स्याउ उत्पादन राम्रो भएको जानकारी दिए ।

शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङको स्याउ जिल्लाको महत्वपूर्ण नगदेबाली हो । पछिल्लो समय स्याउ खेतीतर्फ मुस्ताङका किसानको आर्कषण बढ्दो छ । निजी जग्गा र सार्वजनिक खाली जग्गा र कालिगण्डकी तटिय खेर गएका बाझो जग्गामा स्याउ खेती विस्तार हुने क्रम बढेको हो ।

 मुस्ताङमा परार साल ६ हजार ५९६ मेट्रिक टन स्याउ फलेको थियो । तर,गतवर्ष स्याउमा रोगकिराको संक्रमण तथा स्याउमा पोलिनेसन नहुँदा ४ हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन हुँदा २४ दशमलव ५८ प्रतिशत स्याउ उत्पादन घटेको थियो ।



प्रतिक्रिया