मुस्ताङको दुर्गम स्वास्थ्य क्षेत्रमा ३५ वर्ष बिताएका स्वास्थ्यकर्मी बस्नेत



जोमसोम—सरकारी जागिरे जिवन आखिर कहाँ सोचे जस्तो हुन्थ्यो । कर्मले कहाँ हुत्याउछ त्यही हुत्तिनु पर्ने मानिसको कर्म । यही समय र कर्मले हुत्याउँदै मुस्ताङ पसेका जनस्वास्थ्य अधिकृत हुन् एकराज बस्नेत ।

 कुरो २०४६ को हो । त्यससमय पञ्चायती व्यवस्था हटेर प्रजातन्त्र स्थापनाको भर्खरै जग बस्दै थियो । त्यही समयको पेरीफेरीमा  पञ्चिमाञ्चल क्षेत्रीय निर्देशानालयबाट लिईएको अहेब परीक्षामा उर्तिण भई स्वास्थ्यसेवाको स्थायी नियुक्ती पाएर सरकारी जागिरमा छिरे बस्नेत । उनी पहिलो अहेबको नियुक्ती लिएर मुस्ताङ आईपुगेका थिए । सरकारी जागिरलाई आफ्नो कर्म र सेवा सम्झिने बस्नेत एक बफादार स्वास्थ्यकर्मी हुन् । उनले मुस्ताङ बसाईको क्रममा यहाँको स्वास्थ्य क्षेत्रमा निकै राम्रो आशालाग्दा कार्यहरु गर्न भ्याए ।

 बस्नेतको पूख्यौली घर सोलुखुम्बुको कागेल हो । उनी त्यही जन्मिए । २०३४ सालमा उनी र उनको परिवार त्यहाँबाट बसाईसराई गरी उदयपुरको त्रियुगा नगरपालिकामा स¥यो । उनले त्यही पढे  हुर्के ।

 अहेबको स्थायी नियुक्त पाएसंगै उनले मुस्ताङमा सेवा गर्न पहिलो पाईला टेके । उनी २०४६ माघ १० गते हिउँदको चिसो मौसममा थासाङको लेते हेल्थपोष्टमा हाजिर भए । अहिले उक्त हेल्थपोष्ट लेते प्राथमिक स्वास्थ्य चौकीमा स्तर वृद्धि भएको छ । उनले त्यहा अहेबको रुपमा ४ वर्ष सेवा गरे । त्यसपछि उनी २०५० सालमा कोवाङ हेल्थ पोस्टमा सरुवा भए । त्यस क्रममा उनले २०५१ सालमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रोत्साहन पुरस्कार रुवरुप मासिक २ ग्रेड पाए । त्यसको ६ वर्षपछि २०५७ सालमा उनको पाँचौ तहमा स्तर वृद्धि भयो । २०५९ सालमा उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रोत्साहन पुरस्कार स्वरुप मासिक २ ग्रेड मिल्यो ।

 २०६३ सालमा  कोवाङ हेल्थ पोष्टबाट स्तर वृद्धि भई हे.अ.÷ सि.अ.हे.ब.(पाँचौ) तहमा बढुवा भए । पाँचौमा बढुवापछि बस्नेतको सरुवा वारागुङ—३ छुसाङ हेल्थ पोष्टमा भयो । छुसाङको एक वर्षको सेवा अवधिमै बस्नेत फेरी जनस्वास्थ्य अधिकृत (छैटौ) तहमा उक्लिए ।

 छुसाङमा ५ वर्ष स्वास्थ्य सेवामा बिताएका जनस्वास्थ्य अधिकृत बस्नेत २०६८ सालमा त्यहाँबाट घरपझोङ—२ मार्फा स्वास्थ्य चौकीमा हाजिर भए । बस्नेतले त्यहाँको ३ वर्षको सेवा दौरानमा मुस्ताङ जिल्लाबाट नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्ष पदमा निर्वाचित भए । उनले २०७३ सालमा डा. तरुण पौडेल चिकित्सा कोष बाग्लुङबाट  नगद पुरस्कारसहित सम्मानित भए ।

 बस्नेत २०७५ मा जनस्वास्थ्य निरीक्षक (छैटो) तहबाट सातौ तहमा बढुवा भए । निरीक्षक सातौको बढुवापछि २०७७ सालदेखि उनी मुस्ताङ अस्पतालमा कार्यरत छन् । मुस्ताङको सेवा अवधिमा झन्डै आधा दर्जन स्वास्थ्य ईकाई चाहारेका बस्नेतको मुस्ताङ अस्पतालमा ५ वर्ष बिताईसकेका छन् ।

 मुस्ताङ बसाईको अविछिन्न ३५ वर्ष बसाईमा बस्नेतले केही गतिला राम्रा कार्यहरु गर्न सके । उनले कोवाङ हेल्थ पोस्टको नाममा जग्गा खरिद गरी हेल्थ पोष्टको निर्माणकार्य पुरा गरे । मार्फा स्वास्थ्य चौकीको भवन निर्माणका लागि आपूर्ति तथा व्यवस्थापन विभागबाट भवन स्वीकृत गरी २ करोड ३ लाख लागतमा भवन डिभिजन कार्यालय बाग्लुङको अनुगमनमा भवन निर्माण पुरा गरे ।

 जनस्वास्थ्य अधिकृत सातौ तहको रुपमा उनले मुस्ताङ अस्पतालमा निमित्त कार्यालय प्रमुखदेखि सूचना अधिकारीको भूमिका निभाए । बस्नेत मुस्ताङको स्वास्थ्यक्षेत्रमा ३५ वर्ष बिताउँदै निवृत्त हुदैछन् । मुस्ताङ बसाईको क्रममा जिवनको दुई तिहाई समय व्यतित गरेका बस्नेत उमेर हद २ वर्ष बाँकी रहदै सेवाबाट अवकाश लिने तयारीमा छन् । 

 बस्नेत मुस्ताङ आउँदा यहाँको अवस्था निकै दयनिय र कष्ठकर थियो । यहाँ नत सडक,बिजुली र नत सञ्चार सुविधानै उपलब्ध थियो । निकै संर्घषपूर्ण जिवन बिताएका स्वास्थ्यकर्मी बस्नेतले मुस्ताङलाई कहिल्यै बिर्सन नसक्ने बताए । मुस्ताङ आफ्नो आधा घर यतै भएको र यहाँका नागरिकले दिएको साथ सपोर्टलाई कहिल्यै नभुल्ने उनको भनाई छ ।



प्रतिक्रिया