महायज्ञ चलेपछि तीनदिनको फेरोमा १३ हजार दर्शनार्थी पुगे मुक्तिनाथ


जोमसोम— चैते दसै पर्व अन्तर्गत रामनवमीदेखि ६ महिनाका लागि मुक्तिनाथमा आईतबारदेखि सुरु भएको धार्मिक महायज्ञसंग मुक्तिनाथमा भक्तजनको उपस्थिती बाक्लिन थालेको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाईमा मुक्तिनाथ क्षेत्रको प्रचार÷प्रसार एवं विश्व शान्तिको कामना गर्दै नेपालको समुन्नत भविष्यको स्तुती गर्दै मुक्तिनाथमा विधिवत रुपमा बृहत्त महायज्ञ सुरु भएको हो ।

मुक्तिक्षेत्रमा चलेको महायज्ञ तथा चैते दसैं पर्वको अवसर पारेर मुक्तिनाथधाम दर्शनार्थीहरु ओईरिन थालेका छन् ।पछिल्लो तिनदिनको अन्तरालमा १३ हजार बढी श्रद्धालु भक्तजन दर्शनार्थीहरुले मुक्तिनाथ मन्दिरको दर्शन एवं महायज्ञमा सहभागि हुँदै पुजाआरधना गरेको पाईएको छ । चैते दसैको अघिल्लोदिन शुक्रबारदेखि आईतबार साँझसम्ममा  उक्त संख्यामा भारतीय र नेपाली दर्शनार्थी भक्तजनले मुक्तिनाथ मन्दिरको दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार शुक्रबारदेखि आईतबार तीन दिनको अवधिमा आन्तरिक तथा बाह्य पर्यटक दर्शनार्थी गरेर कुल १३ हजार २१२ जना श्रद्धालु भक्तजनले मुक्तिनाथको दर्शन गरेको जानकारी दिनुभयो । जसमध्ये ११ हजार ७१२ जना नेपाली आन्तरिक भक्तजन छन् भने एक हजार ६८८ जना भारतीय पर्यटक दर्शनार्थी रहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो । यसका अलावा पोखरा—जोमसोम हवाईमार्ग हुँदै मुस्ताङ आउने भारतीय पर्यटक दर्शनार्थीको तथ्यांकमा उल्लेख नभएको जनाउँनुभयो ।

मुस्ताङ र म्याग्दीको सीमाना थासाङ गाउँपालिका—४ घाँसा स्थित प्रहरी चौकीको अभिलेख अनुसार चैते दसैं पर्वको अवसरमा नेपाली आन्तरिक पर्यटक दर्शनार्थी पुरुष ५ हजार ६२६ जना र महिला ६ हजार ८३ जनाले मुक्तिनाथको दर्शन गरेको प्रहरीको तथ्यांकले देखाउँछ । 

यस्तै, विदेशी भारतीय पर्यटकतर्फ पुरुष ७ सय २५ जना र महिला ७ सय १५ जनाले मुक्तिनाथको दर्शन गरेका हुन् ।  मुस्ताङमा तीनदिनको फेरोमा  एक हजार ६८८ वटा सवारी साधन भित्रिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । यसका अलावा हवाईमार्गबाट तीनको फेरोमा करिव दुई सय बढी भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रहरीको अनुुमान छ ।

 यसअघि चैते दसैंको औसी तिथिमा करिव २० भन्दा बढी नेपाली तथा भारतीय पर्यटकहरुले मुक्तिनाथको दर्शन गरेका थिए । यसवर्षको चैते दसै औसी र चैते दसै पर्वको अवधिभर हजारौं दर्शनार्थी मुक्तिनाथ आउँदा कसैलाई पनि लेंक लागेर ज्यान गुमाउन नपरेको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । पर्याप्त दर्शनार्थीहरुको स्वास्थ्य सहजीकरण तथा सुरक्षा प्रवन्धको व्यवस्थापन मिलाईएकाले कसैलाई पनि लेंक लाग्ने समस्यालाई समाधान गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।

 चैते दसैं पर्वको अष्ठमी र रामनवमीको दिनमा मुक्तिनाथ विकास समितिले पर्याप्त दर्शनार्थीको सहजीकरण गरेको मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद शर्मा अर्यालले जानकारी दिनुभयो । उनका अनुसार समितिका पदाधिकारी तथा सदस्यहरु,सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुले दर्शनार्थीहरुको मुक्तिनाथ दर्शनमा निकै ठुलो सहजीकरण गरेको सदस्य सचिव अर्यालले उल्लेख गर्नुभयो । 

चैते दसैं पर्वको अवसरमा मुक्तिनाथधाममा बृहत्त महायज्ञ एवं मन्दिरमा विशेष पुजाअर्चना भईरहेको छ ।


प्रतिक्रिया