लोमान्थाङको ‘तिजी’ पर्वमा झुम्मिए विदेशी पर्यटक

जोमसोम—  उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबार (आज)देखि परम्परागत तिजी पर्व सुरु भएकोे छ । सदिंयौ वर्षदेखि चल्दैआईरहेको ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रुपमा सुरु भएको हो । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा लिने गरिएको छ । उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र बिष्ट समुदायका मानिसहरु एकै थलोमा भेला तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन रहेको छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङ स्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङ स्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसरमा ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ पर्व शुभारम्भ गरिएको हो । तिजी पर्वलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व समेत भन्ने गरिन्छ ।

तिजी पर्वको बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकहरुले आफ्नो आर्थिक हैसियत अनुसार खानपान गर्ने,नयां मौलिक भेषभुषासहितको लुगा र गरगहना  लगाउने गर्छन । तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनहरुमा गएर सामुहिक पुजाआजा गर्ने धार्मिक प्रचलन रहेको छ ।

 उपल्लो मुस्ताङमा तिजी पर्व तीनसम्म मनाईने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।‘ तिजी पर्व एक किसिमको धार्मिक पुजानै हो, तर,यो धार्मिक पुजालाई लोछोदिन समुदायले पर्वको रुपमा विस्तार भएको हो’,अध्यक्ष बिष्टले भन्नुभयो,‘ उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस, सबैको भलो होस भन्ने उद्देश्यले तिजी पुजाको रुपमा यो पर्व चल्दैआईरहेको हो ।’ तिजी पर्वमा उपल्लो मुस्ताङ अन्तर्गत साविकका ७ वटै गाविसका मानिसहरु लोमान्थाङ स्थित तिजी पर्वमा उपस्थित भएर शान्ति पुजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष बिष्टको भनाई छ । 

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहाँसिक पर्व तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरको रुपमा रहेको बताउँनुभयो । यो पर्वले उपल्लो मुस्ताङको समृद्धि,विकास र शान्ति स्थापना गर्न तथा उपल्लो मुस्ताङका नागरिकहरुलाई भावानात्मक रुपमा एकतावद्ध गर्न तिजी पर्वले महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको उल्लेख गर्नुभयो ।

 तिजी पर्व आठौं शताब्दीदेखि धर्म गुरु पद्यसम्भवको पालादेखि सुरु भएको लोमान्थाङ स्थित लोमान्थाङ छोदे गुम्बाका लामा  झ्याम्पा घ्याचो गुरुङले बताउँनुभयो । गुरु पद्यसम्भवको पालादेखि सुरु भएको तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्रौ शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि सुरुवात भएको छोदे गुम्बाका लामा गुरुङको भनाई छ ।

 पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिंदै र सुरु हुँदै आएकोमा सन् १९६३ देखि नियमित रुपमा उपल्लो मुस्ताङमा तिजी पर्व सञ्चालन हुँदैआईरहेको छोदे गुम्बाका लामा गुरुङले जनाउँनुभयो । त्यसो त विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमणको जोखिमका कारण सन् २०२० देखि ३ वर्ष उपल्लो मुस्ताङमा तिजी पर्व रोकिएको लामा गुरुङले उल्लेख गर्नुभयो ।

 लोमान्थाङमा ऐतिहाँसिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीनदिनसम्म नियमित रुपमा सञ्चालन हुने गर्छ । त्यस अवधिमा तिनदिनसम्म बिहान ६ बजेदेखि १२ बजेसम्मसम्म त्यहाँको गुम्बामा लामाहरुद्वारा बज्रकिलया देवता र महाकाल देवताको पुजापाठ गर्ने गरिन्छ । यसरी पुजापाठ गर्दा उपल्लो मुस्ताङलाई कसैले पनि कुदृष्टि नलगाओस, विश्व भातृत्व र शान्ति कायम होस्,रोगब्याधि र अनष्टि नहोस, अन्नबाली सप्रियो, प्राकृतिक विपद्को सामाना गर्न नपरोस् , सबै लोछोदिन समुदायमा सुख,शान्ति समृद्धि छाओस भन्ने कामना गर्दै छोदे गुम्बाका लामाहरुले सामुहिक पुजा गर्ने प्रचलन रहेको छोदे गुम्बाका लामा झ्यम्पा घ्याचो गुरुङले जानकारी दिनुभयो । 

यसैगरी तिजी पर्वको तीनदिनसम्म बिहानको धार्मिक पुजापाठपछि लोमान्थाङ स्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडी छोदे गुम्बाका लामाहरुबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ । यो प्रक्रिया तिनदिनसम्म नियमित चल्ने लामा गुरुङले सुनाउँनुभयो ।तिजी पर्वको अवसरमा लोमान्थाङको ऐतिहाँसिक दरबार अगाडी छोदे गुम्बाका लामाहरुले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन रहेको उहाँको भनाई छ । यसरी बज्रकिलया र महाकाल देवताको दुरुस्तै हुनेगरी मुकुट पहि।रिएर नृत्य अभ्यास प्रर्दशन गर्ने गरिएको लामा गुरुङले बताउँनुभयो ।

लोमान्थाङमा आयोजित लोछोदिन समुदायको ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक पर्व तिजीको अन्तिमदिन तीनदिनसम्म पुजामा रािखएको तोर्म गाउँबाहिर लगेर बिर्सजन गरेपछि तिजी पर्व समापन भएको संकेत गरिन्छ । यसरीमा पुजामा राखिएको तोर्म बिर्सजन गर्नुअघि कुन दिशमा लगेर बिर्सजन गर्ने हो त्यसको लामाहरुले पुजा गरेपछि निक्र्योल गरिन्छ । तार्म बिर्सजन गर्दा मुस्ताङी राजपरिवार ,गाउँका भद्रभलाद्मी,लामाहरु र स्थानीय गाउँले मिलेर गाउँ बाहिर लगेर फ्याकिन्छ ।

यसअघि तिजी पर्व सुरुहुँदा लोमान्थाङ स्थित मुस्ताङी सांस्कृतिक राजाको दरबारमा राखिएको  दुई तला ठुलो करिव ३० फुट लामो गुरु पद्यम सम्भवको लुङ्ता बाहिर निकालेर लामाहरुले नृत्य अभ्यास गर्ने स्थान नजिकै झुन्ड्याउने गरिन्छ । गुरु पद्यम सम्भवको ठुलो आकारको लुुङ्ता वर्षको एक पटकमात्रै तिजी पर्वको बेला सार्वजनिक गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छिमी बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दरबारबाट निकालिएको पद्यसम्भवको लुङ्ता तिजी पर्व सकेपछि पून ः दरबारमै लगेर राख्ने गरिएको छ ।


 विदेशी पर्यटकलाई ‘तिजी’ क्रेजः 

 दुरुस्तै तिब्बतीय कलासंस्कृतिको झल्कोदिने उपल्लो मुस्ताङमा आयोजना हुने यसप्रकारको तिजी पर्वलाई विदेशी पर्यटकहरुले निकै अभिरुची र चाँसोका साथ अवलोकन गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । तिजी पर्वको अवलोकन गर्ने र त्यहाँको धार्मिक तथा सांस्कृतिक सभ्यता र मौलिकतालाई विदेशी पर्यटकले फोटो र भिडियोमा कैंद गर्ने एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाई छ ।

 तिजी पर्वको अवलोकनका लागि उपल्लो मुस्ताङ आएका विदेशी पर्यटकको उपस्थितीले लोमान्थाङमा पर्यटकीय रौनकता बढाएको एक्याप लोमान्थाङ प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।‘ तिजी पर्व आजबाट सुरु भएको छ, यो अवलोकन गर्न सार्क तथा अन्य देशका विदेशी पर्यटकको उपस्थिती निकै बाक्लो छ’, एक्याप प्रमुख पौडेलले भन्नुभयो,‘ लोमान्थाङमा होटलहरुमा बाँस बस्ने ठाउँ नभएर कतिपय विदेशी पर्यटकहरु ट्रेन टाँगेर बसेका छन् , तिजी पर्व अवलोकन गर्ने पर्यटकले लोमान्थाङ दरबार परिसर पुरै खचाखच भरिएको छ ।’


लोमान्थाङमा तिजी पर्वको छेको पारेर यसै हप्तामात्रै पाँच सय २ जना विदेशी पर्यटक उपल्लो मुस्ताङमा भित्रिएको एक्याप लोमान्थाङले जनाएको छ । कार्यालय अनुसार सन् २०२५ को मे १ देखि मे २३ तारिखसम्ममा सात सय ५५ जना विदेशी उपल्लो मुस्ताङ भित्रिएका हुन् । सन् २०२५ को जनवरीदेखि मे २३ सम्ममा एक हजार ६४७ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको कार्यालय प्रमुख उमेश पौडेलको भनाई छ ।

  अमेरिकी राजदुतावासको सांस्कृतिक सहायता कोष (एएफसीपी)बाट जिर्णोद्वारा गरिएका भौतिक संरचनाहरुको स्थलगत अवलोकन गर्न मुस्ताङ आईपुग्नु भएका नेपालका लागि अमेरिकी राजदुत डिन आर. थम्पसन समेत तिजी पर्व अवलोकन गर्न तथा उपल्लो मुस्ताङको ऐतिहाँसिक तथा धार्मिक एवं सांस्कृतिक पर्वलाई सद्भाव र सम्मान अर्पण गर्न लोमान्थाङ पुग्नु भएको अमेरिकी दुतावासले जनाएको छ ।


प्रतिक्रिया