लोमान्थाङको खेजुङ गुम्बाबाट मूर्ति गायब,खोज अनुसन्धान हुँदै

मुस्ताङ,१२, असार ।

उपल्लो मुस्ताङको लोमान्थाङ—५ स्थित खेजुङ गुम्बाबाट एक थान मूर्ति गायब भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले ऐतिहाँसिक तथा धार्मिक महत्वको खेजुङ गुम्बामा रहेको विभिन्न थरीका मूर्ति मध्ये एक थान मूर्ति हराएको उल्लेख गरेको छ ।

 लोमान्थाङ बजारबाट झन्डै ८ घण्टाको पैदल दुरीमा पर्ने मानवविहीन निर्जन पहाडसंगै जोडिएको निलो जस्ता रंगले छाईएको अन्दाजी १३ औं शताब्दीमा निर्मित खेजुङ गुम्बा भित्र दर्जनौ मूर्तिहरु थिए । जसमध्ये एक थान बुद्धिस धर्मगुरुको ‘मेलारिपा’ मूर्ति गुम्बाबाट हराएको निवदेन जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो । प्रहरी निरीक्षक बस्यालका अनुसार लोमान्थाङ स्थित छेजुङ गुम्बाबाट मूर्ति हराएको सूचनासहित छेजुङ गुम्बा व्यवस्थापन समितिले असार ६ गते जिल्ला प्रहरी कार्यालयलाई निवेदन पेश गरेका थिए ।

 उपल्लो मुस्ताङको लोमान्थाङ बजारबाट ओरालो झरेर करिव ८ घण्टा बढी समय लाग्ने उक्त गुम्बा बर्सेनि बैशाख महिनामा मात्रै एक पटक धार्मिक पुजा हुने गथ्र्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रारम्भिक अनुसन्धानमा पछिल्लो पटक विस २०८२ साल बैशाख महिनामा त्यहाँको छेजुङ गुम्बामा धार्मिक पुजा संम्पन्न भएको थियो । त्यसबेला गुम्बामा रहेका सबै मूर्तिहरु यथास्थानमा रहेको थियो । बर्सेनि छेजुङ गुम्बामा गरिने पुजा दुई महिना ढिलो गरी असार ३ गते धार्मिक पुजा गरिएको थियो । मानवबिहीन कठिन भूगोलमा अवस्थित छेजुङ गुम्बामा धार्मिक पुजा गर्ने क्रममा गुम्बा रहेको मेलारिपा मूर्ति फेला नपरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले उल्लेख गर्नुभयो ।

 लोमान्थाङको खेजुङ गुम्बा भित्र रहेको मूर्ति गायव भएको सूचनापछि ईलाका प्रहरी लोमान्थाङबाट दुई जना प्रहरी सुरक्षाकर्मीसहित एक जना स्थानीय बाटो देखाउने पथप्रर्दशक गरी ३ जनाको टोली असार ७ गते उक्त गुम्बामा प्रारम्भिक अनुसन्धानका लागि पुगेका थिए । प्रहरीको प्रहरी अनुसन्धानमा गुम्बाको भौतिक संरचना तोडफोड नगरी त्यहाँ रहेको मूर्ति हराएको पाईएको हो ।

 एक वर्षअघि चलेको धार्मिक पुजामा गुम्बामा रहेको सबै मूर्ति यथास्थानमा रहेको भएपनि पछिल्लो पटक असार ३ गते पुजा गर्न जाँदा मूर्ति हराएको गुम्बा व्यवस्थापन समितिले निवेदनमा उल्लेख गरेका छन् ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङले खेजुङ गुम्बामा हराएको मूर्तिको खोजअनुस्धान भईरहेको जनाएको छ । भौगोलिक रुपले अन्त्यन्तै विकट स्थानमा रहेको छेजुङ गुम्बा बर्षको एक पटक मात्रै पुजा हुने गरेको अन्य समय बन्द हुने गथ्र्यो । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक मध्ये एकाध पर्यटकहरु मात्रै उक्त गुम्बा अवलोकन गर्न जाने गथ्र्ये ।

 गुम्बाबाट हराएको मूर्तिको खोज अनुसन्धानका लागि स्थानीयबासीसंग बयानले लिने कामहरु भईरहेको भएपनि भाषागत समस्या परेको प्रहरी निरीक्षक बस्यालले बताउँनु । स्थानीय जनप्रतिनिधिहरुको भाषागत सहजीकरण गरी मूर्तिको बिषयमा बयान लिने काम अघि बढाईएको प्रहरी निरीक्षक बस्यालको भनाई छ । 

उक्त गुम्बा एकान्तमय स्थानमा रहेको प्रहरीले जनाएको छ । मुस्ताङका अधिकांश धार्मिक गुम्बाहरु मानव वस्ती वरिपरी अवस्थित रहेका छन् ।  यहाँका अधिकाँश गुम्बाहरुमा समय सापेक्ष धार्मिक पुजाहरु चलिरहन्छ । मुुस्ताङको लोमान्थाङमा खेजुङ गुम्बाको मुर्ति हराएसंगै अन्य गुम्बाहरुमा समेत सुरक्षा चुनौति थपिएको विश्लेषण गरिएको छ ।


प्रतिक्रिया